NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

२०७९ को नतिजा आउनुपूर्व हेर्नुहोस् ६ महानगरपालिकाको २०७४ को उतारचढावपूर्ण नतिजा

काठमाडौं । देशभर स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । केही स्थानमा छिटपुट घटनासहित मतदान शान्तिपूर्ण भएको निर्वाचन आयोगले जनाएको छ । अहिले केही बेरमा मतगणना सुरू हुँदैछ । मतगणता सकिएपश्चात् काठमाडौंसहित ६ महानगरपालिकाको नतिजालाई निकै चासोसाथ हेरिएको छ । गत निर्वाचनमा काठमाडौं, ललितपुर र पोखरा एमालेले जितेको थियो । भरतपुर माओवादी केन्द्र, वीरगञ्ज जसपा र विराटनगर नेपाली कांग्रेसले जितेको थियो ।

योपटक एमालेले ६ वटै महानगरपालिका आफूले जित्ने दाबी गरेको छ । सत्तागठबन्धनले भागबण्डा गरेर चुनाव लडेको हो । भागबण्डा अनुसार काठमाडौं, ललितपुर, विराटनगर कांग्रेसले लिएको छ । त्यस्तै भरतपुर माओवादी, पोखरा एकीकृत समाजवादी र वीरगञ्ज जसपाले लिएको छ ।

यस्तो छ विगतको नतिजा :

विराटनगर महानगरपालिका

०७४ को स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरपालिकामा प्रमुख र उप्रमुख दुवै कांग्रेसले जितेको थियो । कांग्रेस उम्मेदवार भीम पराजुलीले २३ हजार ३१ मत ल्याइ विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवारले १७ हजार ३२१ ल्याएका थिए । संघीय समाजवादीले १४ हजार ९२८ मत ल्याएका थिए । राप्रपाले पाएको मत ५ हजार ५२४ मत पाएका थिए ।

त्यस्तै उपप्रमुखमा कांग्रेसकै इन्दिरा कार्की २० हजार १४६ मत ल्याएर विजयी भएकी थिइन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका उम्मेदवारले ११ हजार ५२४ मत ल्याएका थिए । फोरम लोकतान्किका उम्मेदवारले १० हजार ५३६ मत पाएका थिए । राप्रपाले ४ हजार १०२ मत ल्याएका थिए ।

ललितपुर महानगरपालिका

गत निर्वाचनमा ललितपुर महानगरपालिकाको प्रमुख (मेयर)मा नेपाली कांग्रेसका चिरीबाबु महर्जन तीन सय २६ मतको झिनो मतान्तरले विजयी भए । महर्जनले २४ हजार ६ सय ४२ मत ल्याए भने राप्रपासँगको तालमेलमा उम्मेदवार बनेका नेकपा (एमाले)का हरिकृष्ण व्यञ्जनकारले २४ हजार तीन सय १६ मत पाए । स्वतन्त्र उम्मेदवारी दिएका साझा पार्टीका रमेश महर्जनले नेकपा (माओवादी केन्द्र)का उम्मेदवारलाई पछि पारे । गरगहनाको व्यवसाय गर्ने रमेशले १३ हजार चार सय ५८ मत ल्याउँदा माओवादीका उम्मेदवार दिनेश महर्जनले १० हजार ६ सय ६१ मत पाए ।

महानगरको उपप्रमुख (उपमेयर)मा पनि कांग्रेसकै गीता सत्याल १९ हजार आठ सय १९ मत प्राप्त गरी विजयी भइन् । उपमेयरमा साझा पार्टीकी शोभा शाक्य १४ हजार दुई सय ४० मत ल्याएर निकटतम प्रतिद्वन्द्वी बनिन् । उपमेयर एमालेले राप्रपालाई दिएको थियो । तर, राप्रपाका उम्मेदवार बाबुकाजी प्रधान १० हजार पाँच सय ४० मत ल्याएर चौथो स्थानमा आए । उनीभन्दा अगाडि माओवादीका उम्मेदवार हसिना शाक्यले १२ हजार नौ सय ७९ मत ल्याइन् । तत्कालीन नयाँ शक्तिका सजनी महर्जनले पनि एक हजार तीन सय ८० मत पाइन् ।

पोखरा महानगरपालिका

३३ वडा रहेको पोखरामा२०७४ सालको निर्वाचनमा एमालेले मेयर र उपमेयर सहित २२ वटा वडाध्यक्ष जितेको थियो। कांग्रेसले १३ वटा वडामा जितेको थियो।

एमालेबाट मेयरमा विजयी भएका मानबहादुर जिसी ६० हजार ११८ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी रामजी कुँवरले ४६ हजार ४१६ ल्याएका थिए । संघीय समाजवादीका हुमबहादुर गुरुङ ३ हजार १७० मत प्राप्त गरेका थिए । त्यस्तै राप्रपाको गीता गुरुङले ३ हजार १७० मत ल्याएका थिए भने अन्यले एक हजार ६६ मत पाएका थिए ।

त्यस्तै उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङले ५६ हजार ४४८ मत ल्याइ विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वीसरस्वती गुरुङ ४४ हजार ३३८ मत ल्याएका थिए ।माओवादी गोमा ढकालले ८ हजार ७९६ मत पाएका थिए । राप्रपाका रमेशबहादुर खत्रीले २ हजार ८४० ल्याएका थिए । अन्यले ४ हजार ४७५ पाएका थिए । यसमा आधा भोट गठबन्धन दल जसपा र राममोसमेत जोडिएको छ ।

काठमाडौं महानगरपालिका

देशकै राजधानी रहेको काठमाडौं महानगरपालिका पाँच वर्ष अघि भएको चुनावमा मेयरमा एमालेले बाजी मारेको थियो । विद्यासुन्दर शाक्यले कांग्रेसका उम्मेदवार राजुराज जोशीलाई १९ हजार ६ सय ४४ मतले पराजित गरेका थिए । विजयी शाक्यले ६४ हजार ९ सय १३ र पराजित राजुराजले ४५ हजार २ सय ६९ मत ल्याएका थिए ।

काठमाडौंमा एमालेले राप्रपासँग तालमेल गरी उपमेयर छोडेको थियो । तर कांग्रेसकी हरिप्रभा खड्का विजयी हुँदा एमालेले तालमेल गरेको राप्रपाका राजाराम श्रेष्ठले ३४ हजार ८ सय ५४ मत मात्रै ल्याएका थिए ।

मेयरमा विवेकशील नेपाली दलकी उम्मेदवार रञ्जु दर्शनाले अस्वभाविक मत ल्याएकी थिइन् । नयाँ शक्तिको रुपमा हेरिएको पार्टीबाट दर्शनाले २३ हजार चार सय ३९ मत ल्याएकी थिइन् ।

साझा पार्टीबाट उम्मेदवार बनेका पूर्वप्रशासक किशोर थापाले १८ हजार चार सय ९६ मत ल्याएका थिए ।

काठमाडौँ महानगरमा माओवादी केन्द्र भने कमजोर देखिन पुग्यो । उसका उम्मेदवार सर्वोत्तमदास डंगोलले सात हजार नौ सय ६ मत मात्रै ल्याए । जब कि तत्कालीन नयाँ शक्तिकी पवित्र बज्राचार्यले पनि ६ हजार ५० मत मत ल्याएका थिए ।

उपमेयरमा भने कांग्रेसकी हरिप्रभा खड्गीले ५८ हजार नौ सय ५२ मत ल्याएर जित निकालिन् । राप्रपाका राजाराम श्रेष्ठले ३४ हजार आठ सय ५४ मत मात्रै ल्याए । साझा पार्टीका निरुपमा यादवले तेस्रो बढी अर्थात् ११ हजार पाँच सय ३३ मत ल्याइन् । माओवादी केन्द्रका सुशीलाकुमारी पौडेलले १० हजार चार सय ४८ मत पाइन् । नयाँ शक्तिकी सविना अर्याल दवाडीले तीन हजार चार सय ९३ मत ल्याएकी थिइन् ।

भरतपुर महानगरपालिका

भरतपुर महानगरपालिकामा ०७४ मा कांग्रेस–माओवादी केन्द्रका साझा उम्मेदवार रेनु दाहालले २०३ को झिनो मतान्तरले एमालेका उम्मेदवार देवी ज्ञवालीलाई पराजित गरेकी थिइन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको पुत्रीसमेत रहेकी दाहाल ४३ हजार १२७ मत ल्याइ विजयी भएकी थिइन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका देवीप्रसाद ज्ञवालीले ४२ हजार ९२४ मत ल्यएका थिए । यी बाहेक राप्रपाका उम्मेदवार बद्रीनाथ तिमिल्सिनाले ६ हजार ८४२ मत पाएका थिए । अन्य दलले जम्मा १ हजार १८९ मत पाएका थिए ।

त्यस्तै उपमेयरमा कांग्रेसका पार्वती शाह ठकुरीले ४७ हजार १९७ मत ल्याइ विजयी भएका थिइन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका दिव्य शर्माले ३९ हजार ५२५ मत ल्याएकी थिइन् । राप्रपाका उम्मेदवार रिना गुरुङले ७ हजार २५२ मत ल्याएकी थिइन् । अन्य भोट जम्मा ७७५ रहेको थियो । खसेको मत मध्ये कुल सदर मत ९४ हजार ७४९ मत उपमेयरमा खसेको थियो । आफ्नो पकड क्षेत्रमा माओवादी केन्द्रलाई छोड्नु परेकोमा रूष्ट रहेको चितवन कांग्रेस मतदाताले दाहाललाई अपेक्षकृत भोट हालेको तथ्याङकले देखाउँदैन । माओवादीका मेयर दाहालले पाएको भोट भन्दा कांग्रेसका उपमेयर ठकुरीले पाएको मतान्तर ४ हजार ७० रहेको छ । उपमेयरले जति भोट मेयरमा नपरेपछि माओवादी रुष्ट बनेको थियो ।

वीरगञ्ज महानगरपालिका

०७४ मा भएको स्थानीय निर्वाचनमा वीरगञ्ज महानगरपालिकाको मेयरमा तत्कालीन संघीय समाजवादी फोरमका विजयकुमार सरावगी निर्वाचित भए । उनले कांग्रेसका अजयकुमार द्विवेदीलाई दुई हजार एक सय ९६ मतले पराजित गरेका थिए । सरावगीले १९ हजार तीन सय ९३ र द्विवेदीले १७ हजार एक सय ९७ मत ल्याएका थिए ।

राष्ट्रिय जनता पार्टीका राजेशमान सिंहले १२ हजार एक सय ६५ तथा नेपाल लोकतान्त्रिक फोरमका विमलप्रसाद श्रीवास्तवले आठ हजार सात सय एक मत ल्याएका थिए । त्यहाँ एमाले र माओवादी केन्द्र पाँचौँ र छैटौँ स्थानमा रहे । एमाले उम्मेदवार बसरुद्दिन अन्सारीले आठ हजार ६ सय ८८ र माओवादी केन्द्रका रहवर अन्सारीले आठ हजार तीन सय पाँच मत प्राप्त गरे । महानगरको मेयरमा १४ जना स्वतन्त्रसहित २४ जना उम्मेदवार प्रतिस्पर्धामा थिए । जसमध्ये सातजनाले आफ्नो मात्र मत पाए । १२ जना उम्मेदवारले दोहोरो अंकको मत पाउन सकेनन् ।

उपमेयरमा भने कांग्रेसले बाजी मा¥यो । नौजना उम्मेदवारलाई पछि पार्दै कांग्रेसकी शान्ति कार्की १९ हजार ६ सय सात मत पाएर विजयी भइन् । निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमकी पिंकीदेवी यादवले १८ हजार पाँच सय ३० मत ल्याइन् । राजपाकी रम्भा मिश्राले १० हजार ६ सय ६३, एमालेकी सोफिया आचार्यले १० हजार तीन सय ४१, नेपाल लोकतान्त्रिक फोरमकी रिंकु यादवले सात हजार पाँच सय ८६ तथा माओवादी केन्द्रकी दुर्गा क्षेत्रीले पाँच हजार २८ मत प्राप्त गरिन् । मेयर र उपमेयर दुवैमा तत्कालीन राजपा तेस्रो बन्यो । लोकतान्त्रिक फोरम मेयरमा चौथो र उपमेयरमा पाँचौँ, एमाले मेयरमा पाँचौँ र उपमेयरमा चौथो, माओवादी मेयर र उपमेयर दुवैमा छैटौँ बन्यो ।