NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

निर्वाचनमा लापरबाही गर्ने कर्मचारीको विवरण माग

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा निर्देशिका विपरीत कार्य गर्ने मतदान अधिकृत तथा अन्य कर्मचारीको विवरण माग गरेको छ ।

आयोगले स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ तथा स्थानीय तह निर्वाचन (मतदान) निर्देशिका, २०७८ का व्यवस्थाको प्रतिकूल हुनेगरी मतपत्रमा दस्तखत नगरी मतदातालाई दिने, अर्धकट्टीसहित मतपत्र दिने, अर्धकट्टीमा दस्तखत नगराउने, स्ट्याम्प प्याडको सट्टामा अर्कै मसी प्रयोग गराउने, मतपत्र र मतदाताको सही विवरण तयार नगर्ने, मतपत्रमा मतसंकेत गर्न रबरको स्वस्तिक छाप दिनुपर्नेमा पित्तलको स्वस्तिक छाप दिने, सही किसिमले मुचुल्का तयार नगर्ने जस्ता काम गर्ने कर्मचारीको विवरण मागेको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज जारी गरेको विज्ञप्तिमा सुरक्षण सिल सही ढंगले नलगाउने, पोलबुकमा स्पष्ट विवरण नराख्ने, मतदाता नामावली विवरणमा स्पष्ट रेजा नलगाउने, मतगणना गर्दा आएको सङ्ख्या र कम्प्युटरमा प्रविष्ट सङ्ख्या फरक पार्ने, मतगणना सम्पन्न भएपछि घोषणा गर्न ढिलाइ गर्ने, स्थानीय तह निर्वाचन (मतगणना) निर्देशिका, २०७८ विपरीत मतपत्र सदर वा बदरको निर्णय गर्ने आदि गम्भीर प्रकृतिका गल्ती गरेको देखिएको उल्लेख छ ।

मतदान कार्यमा खटिएका जिम्मेवार मतदान अधिकृतबाट भएका त्यस प्रकारका गल्तीले निर्वाचनमा विवाद उत्पन्न भई निर्वाचन अवरुद्ध हुने, स्थगित हुने र मतगणनासमेत प्रभावित हुने भइरहेको हुँदा यस प्रकारका गम्भीर त्रुटिगल्ती गर्ने मतदान अधिकृत र संलग्न अन्य कर्मचारीको नाम, थर, पद, कार्यरत कार्यालयको नाम र ठेगाना, कर्मचारी संकेत नं, खटिएको मतदान केन्द्रको नाम र ठेगाना खुलाई आयोगमा पठाउन सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई आयोगले निर्देशन दिएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष