NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ मंसिर २५ गते

पश्चिम रुकुम मुसीकोटमा जनार्दन शर्माको लज्जास्पद हार, माओवादी आन्दोलन अध्ययन गरिरहेका रावल के भन्छन् ?

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माको गृहनगर पश्चिम रुकुम मुसीकोटमै माओवादी केन्द्रलाई पराजित गरी कांग्रेसले गढ भत्कायो । स्थानीय तह निर्वाचनमा माओवादीका उम्मेदवार वसन्तकुमार शर्मालाई पराजित गरी कांग्रेसका उम्मेदवार महेन्द्र केसी विजयी भए । उपप्रमुखमा एकीकृत समाजवादीका उम्मेदवार बिमलकुमार पुनमगर विजयी भए ।

केन्द्रमा पाँचदलीय गठबन्धन भएपनि रुकुमा त्यो सम्बन्ध देखिएन । मुसीकोटमा कांग्रेस एमालेसँग सहकार्य गरी माओवादीविरूद्ध चुनावी मैदानमा उत्रियो । माओवादीले एकीकृत समाजवादीसँग मात्र तालमेल गर्यो । यो समीकरणबाट कांग्रेस र एकीकृत समाजवादीलाई फाइदा पुग्यो तर माओवादीको गढ ढल्यो ।

पश्चिम रुकुममा गत निर्वाचमा प्रमुख र उपप्रमुख दुवै पद जितेको माओवादीले योपटक ठूलो धक्का खायो । माओवादी युद्धको आधारभूमि तथा प्रभावशाली नेताकै पालिकामा पराजय व्यहोरेपछि मन्त्री शर्मामाथि ठूलो नैतिक प्रश्न तेर्सिएको छ । यो पराजयले माओवादीभित्र र बाहिर हस्तक्षेपकारी प्रभाव राख्ने नेता शर्माको लोकप्रियता घट्दै गएको रुकुमेली जनाताको बुझाइ छ । जनयुद्धको समयमा जनताकाबीच रहेका नेताहरू सत्तामा गएपछि राजधानीमुखी र सुविधाभोगी भएको रुकुमेली जनता गुनासाे गर्छन् ।

यस्तो छ पश्चिम रुकुममा चुनावी परिणाम

तीन नगरपालिका र तीन गाउँपालिका गरी ६ पालिका रहेको पश्चिम रुकुममा ७३ वडा छन् । ती मध्ये २० वडामा कांग्रेस, दुई वडामा एमाले र १ स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । यो निर्वाचनमा मुसीकोट नगरपालिका र बाफिकोट गाउँपालिका प्रमुख कांग्रेसको पोल्टामा गयो । मुसीकोटको उपप्रमुखमा एकीकृत समाजवादीले जित्याे ।

६ पालिकामध्ये कांग्रेसले आठबिसकोटका २, चौरजहारीका ३, त्रिवेणीका ४, बाफिकोटका ३, मुसीकोटका ६ र सानीभेरीका २ गरी २० वडामा आफ्नो बर्चश्व जमायो । रुकुममा निकै कमजोर रहेको एमाले आठबिसकोटमा मात्र २ वडामा विजयी भएको छ । त्रिवेणीमा १ जना स्वतन्त्र उम्मेदवार विजयी भए । २२ वडा बाहेक प्रमुख र उप्रमुखसहित ५० वडा माओवादीले जितेको छ ।

निर्वाचन परिणामप्रति माओवादी शहिद परिवारको बुझाइ

पश्चिम रुकुममा माओवादीको आवस्था, निर्वाचन परिणामले दिएको सन्देश र माओवादीको भविष्यबारे त्रिवेणी गाउँपालिकाका शहिद परिवारका एक सदस्य दिनेश रावलको बुझाइ भने अलि फरक छ । त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र र राजनीतिक शास्त्रमा स्नाकोत्तर सकेर भविष्यका योजना बनाइरहेका दिनेश माओवादी आन्दोलनबारे अध्ययन गरिरहेका छन् । उनी अहिले कसरी माओवादी शक्तिलाई पुर्स्थापित गर्ने भन्ने अध्ययनमा लागेका छन् ।

उनी तीन वर्षको हुँदा उनका बुवा माओवादीलाई सघाएको आरोपमा ०५५ फागुन २३ मा राज्यपक्षबाट मारिएका थिए । रावलका अनुसार विद्यालयका शिक्षकसमेत रहेका बुवा भीमबहादुर विद्यालयबाट फर्किने क्रममा खारा नजिकै मेल पोखरीमा प्रहरीले चलाएको किलो शेरा–२ अप्रेसनमा मारिएका थिए । २५ वर्षको कलिलो उमेरमै श्रीमान् गुमाएकी उनकी आमाले संघर्ष गरेर आफ्ना सन्तानलाई हुर्काएकी उनी सम्झन्छन् ।

युद्धकालमा बुवा शहिद हुँदा तत्कालीन माओवादीका नेताहरू घरमा आउने, भावनात्मक सहयोग आदान प्रदान गर्ने गर्थे । शान्ति प्रकृयामा आएपछि भावनात्मक सम्बन्ध कायम रहेन । नेताहरूले बेला–बेलामा सञ्चो  बिसञ्चो सोध्नु त परको कुरा रुकुमकै जनप्रतिनिधिसमेत रहेका अर्थमन्त्री जनार्दन शर्माले भेटसम्म नदिएकोमा उनी गुनासो गर्छन् ।

‘काठमाडौंमै बसेका हामी जस्ता व्यक्तिले भेट गर्न खोज्दा त भेट नदिने मन्त्रीले रुकुमका निमुखा जनताहरूले आफ्ना जनप्रतिनिधि र मन्त्रीसँग कसरी सम्बन्ध स्थापित गर्लान् ?,’ मन्त्री शर्मालाई उनले प्रश्न तेर्साए ।

युद्धको समयमा पार्टी जनता, जीवन, समाजसँग थियो । व्यापक जनसमर्थनले माओवादी जनयुद्ध उचाइमा पुग्यो । ‘त्यतिबेला माओवादीले वस्तुवादी ढंगले जनताहरूको अन्तरविरोधलाई हल गरेको देखिन्छ’, माओवादीबारे उनको आफ्नै तर्क छ, ‘क्रान्तिपछि जनतामा चेताना, उर्जा थप्ने कुरा सामान्य थिएन । त्यतिबेला माओवादीका कार्यकर्ताहरू मानवका जीवन, दैनिकीसँग जोडिएका थिए । माओवादी आन्दोलनमा जनताको पुरै साथ थियो ।’

तर शान्ति प्रकृयामा आइसकेपछि माओवादी राजधानीकेन्द्रित र सुविधाभोगी भएको उनको गुनासो छ । सत्तामा पुगेपछि पार्टी आम जनता र समाजको जीवनसँग जोडिनुपर्ने थियो । समाजको अभिन्न अंग भएर नै पार्टी बन्ने हो । विशेष गरी शहिद तथा बेपत्ता परिवार, जनता र समाजको जीवनभन्दा टाढा भइसकेपछि पार्टी रहँदैन । अहिले पार्टी नै छैन भन्दा अस्तित्वमा छ तर जनताको जीवनभन्दा बाहिर गएको छ । त्यतिबेला उठाइएका मुद्दाहरूबाट माओवादी विचलित भइसकेपछि अस्तित्व संकटमा फस्दै गएको हो । अन्य पार्टी र माओवादीबीच अहिले कुनै भिन्नता छैन’, उनी भन्छन् ।

माओवादी धार मध्येको मूख्य धार प्रचण्ड नेतृत्वको माओवादी रहेको उनको भनाइ छ । प्रचण्डले महाधिवेशनमा प्रस्तुत गरेको दस्तावेज, कार्यकर्तामाझ उहाँले गरेको प्रतिबद्धता, देखाएको व्यवहार र कार्यकर्ताको मनोविज्ञान र गठबन्धनको कारण निर्वाचनबाट सकारात्मक परिणाम हासिल भएको दिनेशको तर्क छ ।

‘बाबुरामबाट त कुनै आशै नगरे पनि हुन्छ । वैद्यको इमान्दारिता र आर्दश भएतापनि उहाँले माओवादी आन्दोलनलाई उचाइमा पुर्याउने क्षमता म देख्दिनँ । विप्लवका अहिलेसम्मका गतिविधि, दस्तावेज, तर्क हेर्दासमेत उहाँबाट पनि केही आश गर्न सकिदैन । प्रचण्डमा त्यो क्षमता भएपनि उनी एक्लैले गर्न सक्ने अवस्था छैन । अब शीर्ष नेताहरूलाई धन्यवाद दिएर युवा नेतृत्व अगाडि बढ्नु पर्छ’, उनको तर्क छ ।

माओवादीका चुनौती

दिनेशको विचारमा माओवादीले उठाएका सवालहरू आजको दिनमा पनि स्थापित भएको छैन । माओवादी आन्दोलनमा लागेर सहादत भएकालाई अहिलेसम्म शहिद घोषणा नगरिएको, तत्कालीन जनमुक्ति सेनालाई दुई–चार लाख दिएर घर पठाइकोमा उनी लगायत रुकुमेली जनता असन्तुष्ट छन् ।

‘जसले राज्य व्यवस्था विरुद्ध लड्यो, उनीहरूको व्यवस्थापन गरिएन । तत्कालीन सामाजिक अन्तरविरोधहरू अझै हल हुन सकिएको छैन । धर्म निरपेक्ष, संघीय गणतन्त्र जस्ता कुराहरू आए तर व्यवहारिकरूपमा कार्यान्वायन भएन’, दिनेश भन्छन्, ‘तर यसोभन्दैमा केही उपलब्धी नभएको होइन । भएको उपलब्धी जोगाउँदै जनयुद्ध र माओवादी आन्दोलनलाई पुर्नमूल्याङ्कन गर्नुपर्छ । ठोस उपलब्धी पाप्त गर्न युवा पुस्ता लाग्नु आजको आवश्यकता हो । पहिलाको पुस्ताले गरेको योगदानलाई कदर गर्दै युवा पुस्ताले जनयुद्धको मूल्य स्थापित गर्न सक्छ । प्रचण्ड, वैद्य, विप्लवबाट कुनै आशा गर्न सकिंदैन ।’

पार्टीको आन्तरिक जीवन मजबुत नहुँदा रुकुम लगायत धेरै ठाउँमा पार्टीले धक्का खाएको उनको टिप्पणी छ । माओवादी पार्टीको आन्तरिक जीवन ०६२\०६३ पछि खस्किदै–खस्किदै गएको उनको तर्क छ । उनले पार्टीको आन्तरिक जीवन बहुआयमिक पक्ष, सांस्कृतिक पक्ष, संगाठनात्मक पक्ष, नेतृत्वको पक्ष, कार्यकर्ताको मनोविज्ञानका आधारमा बन्ने भएपनि नेतृत्वको ध्यान नपुगेको उनले बताए ।

‘०७४ मा भएको चुनावमा पूर्वी रुकुम र पश्चिम रुकुमका नगरपालिका र गाउँपालिकाका एक वा दुई वटा वडा बाहेक सबै माओवादीले ‘क्लीन स्वीप’ गरेको थियो । तर त्यो ठाउँमा आफ्नै सरकारले शहिद तथा वेपत्ता परिवारका लागि केही गरेको देखिदैन । बलिदान दिएका ती योद्धाहरूको नाममा कम्तिमा एउटा बाटो, अस्पताल, विद्यालय खोलेको पाइदैन । शहिदको नाममा आर्थिक कोष, रोजगारी कोष, सामाजिक संघसंस्था बनाउन सकिन्थ्यो होला ? यस्ता कामले पार्टीलाई जनताको भावनासँग जोड्न सकिन्थ्यो । त्यो केही भएको छैन । ठेक्का–पट्टाका नाममा टाठा–बाठाहरूको हालिमुहाली गरेका छन्’ रुकुमको उदारण दिँदै उनी भन्छन्, ‘युद्धमा लागेकाहरूलाई पाखा लगाइएको छ । पार्टीमा कुनै योगदान नभएकालाई गाउँपालिका वा नगरपालिकाका वडा अध्यक्ष, सदस्य बनाइएका छन् । यस्ता गतिविधिबाट निराश भएका नेता तथा कार्यकर्ता विस्तारै पार्टीबाट टाढीदै गए, कोही खाडि मुलुक भासिए । जनयुद्धमा लागेका योद्धाहरूको युद्धपछि खाने अन्न थिएन । जग्गाजमिन थिएन । जीवन त चलाउनु पर्ने बाध्यता आइपर्यो । जीवन गुजाराको खोजिमा बाध्यताबस उनीहरू भारतलगायत खाडी मुलुकमा पुगे । त्यसको परिणाम निर्वाचनमा रुकुमलगायत सिंगो कर्णालीमा पर्यो ।’

सत्ताको संरचना र त्यसको वरिपरी आइपुग्ने भनेका तीनै दलाल र ठेक्कापट्टा गर्ने नै रहेको उनी बताउँछन् । ‘पार्टीले कार्यकर्तालाई आन्तरिक जीवनमा व्यवस्थापन गर्न ख्याल गरेन । त्यसैले लामो समय युद्धमा साथ दिएकाहरू पलायन भए । अवसरवादीहरूले राज्यका विभिन्न निकायबाट फाइदा लिए । त्यसैले जनता पार्टीसँग नभइ नेतासँग चिडिएका छन्’, उनी भन्छन् ।

माओवादी आन्दोलन र प्रचण्डको भविष्य

दिनेशका अनुसार स्थानीय तह निर्वाचनको परिणामले माओवादीमा केही रक्तसञ्चार भएको छ । माओवादी आन्दोलन कमजोर भएको नभइ नेतृत्वको कजोरीले सिथिल देखिएको उनी भन्छन् । आन्दोलन निरन्तर जारी रहने दिनेश भन्छन् ।

‘प्रचण्डले नसके कुनै युवाले गर्छ । अन्य कसैले नगरे हामी गर्छौं । जनयुद्धलाई स्वीकार गरिसकेपछि त्यसले स्थापित मूल्य र मान्यताको रक्षाका लागि म लाग्छु’, उनले भने, ‘प्रचण्ड आजको दिनमा पनि एउटा चतुर खेलाडी जस्तो मलाई लाग्छ । माओवादी आन्दोलनमा उहाँको योगदानको अवमूल्यन गर्न मिल्दैन । जसरी उहाँले जनयुद्धको नेतृत्व गर्नुभयो उहाँलाई सम्मान गर्नुपर्छ ।’

जनयुद्धले संघीयता, गणतन्त्र, धर्मनिरपेक्ष, समावेशी लगायत मूल्य स्थापित गरेको उनले जिकिर गरे । माओवादी जनयुद्ध नभएको भए व्यवस्था परिवर्तन असभ्मव रहेको उनको ठम्याइ छ ।

व्यवस्था संकटमा परे युवा सडकमा आउँछन्

‘आज रुकुमका एउटा सामान्य नागरिक, मधेसी वा दलितले राज्यसँग अधिकार माग्नेसम्मको चेतनाको विकास भएको छ । यो ठुलो उपलब्धी हो । यति हुँदा हुँदै क्रान्ति विघटन हुँदा समाजमा फेरि नराम्रो प्रवृत्ति, प्रतिगामी तत्वाहरू आइपुग्दा रहेछन् । क्रान्तिकारीहरू कमजोर भएपछि समाजमा आउने भनेको प्रतिकृयावादी शक्तिहरू नै हो ।

आजको दिनमा जसरी धार्मिक अतिवादी, साँस्कृतिक अतिवादी आएका छन् । तिनीहरूले जनयुद्धबाट स्थापित मूल्य र मान्यताहरू अस्वीकार गरेका छन् । मेरो बुवाले बलिदानी गरेर ल्याएको गणतन्त्र अस्वीकार गर्छन् भने म लगाएतका युवा पुस्ताहरू विद्रोह उत्रिने छन् । जतिबेला गणतन्त्र संकटमा पर्छ, त्यसबेला म जस्ता हजारौं युवाहरू सडकमा आउँछन्’, उनले आक्रोसित हुँदै भने ।