NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

नेकपा एसका यी उम्मेदवार जसले एमालेबाटै फुटेर एमालेकै किल्ला भत्काए

काठमाडौं । नेकपा (एमाले)सँग विद्रोह गरी गठन भएको ८ महिनामा नै नेकपा एकीकृत समाजवादी (नेकपा एस)को शक्ति परीक्षण भएको छ । गठन भएको १ वर्ष नपुग्दै स्थानीय तह निर्वाचनमा माधवकुमार नेपाल नेतृत्वको नेकपा एसको शक्ति परीक्षण भएको हो ।

गठन भएर संगठन विस्तार नहुँदै चुनावमा जानु नेकपा एसका लागि चुनौतीसँगै ऐतिहासिक अवसर पनि थियो । एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीको पेलान सहन नसकेपछि पूर्वमहासचिव नेपाल र झलनाथ खनाल समूहले विद्रोह गरी गत २ भदौमा नयाँ दल दर्ता गरेको थियो ।

उक्त दललाई निर्वाचन आयोगले ९ भदौमा मान्यता दियो । माधव–झलनाथ समूहले खोलेको नयाँ दलको वैधानिकतामाथि प्रश्न उठाउँदै एमाले अध्यक्ष ओलीले सर्वोच्च अदालतमा मुद्दा दायर गरे । यो मुद्दा अहिले पनि अदालतमा विचाराधीन छ ।

०७४ मा भएको संघीय निर्वाचनबाट वामपन्थी शक्तिले अत्याधिक बहुमत प्राप्त गरेका थिए । त्यसको बलमा ओली शक्तिशाली प्रधानमन्त्री भए । ओलीले शक्ति हातमा लिएपछि बिस्तारै पार्टी र राज्यशक्ति आफ्नो नियन्त्रणमा लिए । ओलीसामु कमजोर देखिएका तत्कालीन नेकपाभित्र प्रचण्ड र माधव समूह एकजुट भए । पार्टीभित्र प्रचण्ड र माधव समीकरण भएपश्चात सशंकित भएका ओलीले दुई–दुई संसद् विघटनको असफल प्रयास गरे । ओलीको गतिविधिबाट आक्रोशित भएका माधव समूहले ओलीविरुद्ध विद्रोह गरे ।

माधव समूहको विद्रोहलाई निस्तेज पार्न ओलीले उक्त दलको वैधानिकतामाथि प्रश्न मात्र उठाएनन्, नेकपा एसले एक सिट पनि नजित्ने भविष्यवाणी गरे । नेकपा एसको देशभर संगठन विस्तारले पूर्णता नपाएको, विभाजनपछि एमालेको शक्ति कमजोर नभएको, गठबन्धन दलभित्रै असहयोग भएको अवस्थामा चुनावको सामना गरेको थियो । तर पछिल्लो मतपरिणाम अनुसार नेकपा एसले एक-एक महानगर र उपमहानगरपालिकासहित २० पालिका प्रमुख जितेको छ । उपप्रमुख-उपाध्यक्षतर्फ २४ स्थानमा विजयी भएको छ ।

विजयी भएका २० पालिकामध्ये डोल्पाको काइके र छार्काताङसोङ गाउँपालिकामा उम्मेदवारी दिएकै दिन निर्विरोध भए । अन्यमा चुनावी प्रतिस्पर्धाबाट जित हासिल गरेको हो । रौतहटको राजदेवी नगरपालिकामा समाजवादी एक्लैले कांग्रेसलाई पराजित गरी प्रमुख र उपप्रमुख दुवै पद जित्यो ।

माधव समूहको विद्रोहलाई निस्तेज पार्न ओलीले उक्त दलको वैधानिकतामाथि प्रश्न मात्र उठाएनन्, नेकपा एसले एक सिट पनि नजित्ने भविष्यवाणी गरे ।

पोखरा महानगरपालिका

गत निर्वाचनमा फराकिलो मतान्तरसहित पोखरा महानगरपालिकामा विजयी भएको एमालेलाई योपटक आफ्नै विद्रोही शक्तिले हराइदिए । माधव समूहलाई ओलीले प्युसोको संज्ञा दिँदै खिसिटिउरी गरेका थिए । विद्रोही उम्मेदवारको जनमत खोस्दिन सक्ने तागत एमालेबाहेक अन्यसँग नभएको भावोत्तेजक भाषणसमेत ओलीले दिएका थिए । तर जहाँजहाँ पुगेर ओलीले खिसिटिउरीयुक्त भाषण गरेका थिए त्यहीं एमालेले पराजय बेहोरेको छ ।

निर्वाचनको पूर्वासन्ध्यामा पोखरा पुगेका ओली वैशाख ३० को चुनावी बाढीले गठबन्धनलाई सेतीमा बगाउनेसमेत धक्की दिए । तर नजरअन्दाज गरेको तीनै उम्मेदवारले पोखरामा एमालेको गढ झत्काउँदा ओलीलाई ठूलो धक्का लाग्यो । विद्रोही शक्तिले महानगरमा विजयी खाता खोल्दा एमाले शून्य भएको छ ।

पोखरामा समाजवादीका उम्मेदवार धनराज आचार्य निर्वाचित भए ।  आचार्य ५८ हजार ८९३ मत ल्यायी विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार कृष्ण थापाले ५२ हजार ८४८ मत पाए । आचार्यकाे मतान्तर  ६ हजार ४५ रहेकाे छ ।

हेटौंडा उपमहानगरपालिका

तीन दशकदेखिको एमालेको गढ भत्काउँदै हेटौंडा उपमहानगरपालिकामा नेकपा एसकी उम्मेदवार मीनाकुमारी लामा मेयरमा निर्वाचित भइन् । कांग्रेस र माओवादी केन्द्रको सहयोगमा आफूबाट विभाजित दलले नै लालकिल्ला भत्काएपछि एमालेलाई ठूलो धक्का लागेको छ । लामा २३ हजार ८० मतले विजय हुँदा निकटतम प्रतिद्वन्द्वी एमालेका अनन्त पौडेलले २० हजार ९०८ मत प्राप्त गरे । उपमेयरमा एमालेलाई हराउँँदै कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

धुनिबेंसी नगरपालिका

त्यस्तै एमालेको गढ मानिएको धादिङको धुनिबेंसी नगरपालिका नेकपा एसले कब्जा गरेको छ । कांग्रेस, माओवादी र समाजवादीबीच गठबन्धन बनाएर चुनाव लडेको धुनीबेंसीमा प्रमुखसहित २ वडा अध्यक्ष जितेको छ । प्रमुखमा बालकृष्ण आचार्यले २११४ को मतान्तरले एमालेका उम्मेदवार रामराजा पाण्डेलाई पराजित गरे । आचार्यले ८ हजार ७०२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी पाण्डेले ६ हजार ५९२ मत पाए ।

राजदेवी नगरपालिका

रौतहटको राजदेवी नगरपालिकामा नेकपा एसका भिखारी यादवले ७ हजार ५२ मत ल्याइ कांग्रेसका धीरेन्द्र सिंहलाई पराजित गरे । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका सिंहले ३ हजार ७०७ मत प्राप्त गरे । यादवले सिंहलाई ३३४५ को फराकिलो अन्तरले हराए । उनी गत निर्वाचनमा पनि प्रमुखमा जितेका थिए । त्यस्तै उपप्रमुखमा समाजवादीकै राजकुमारीदेवी विजयी भइन् । उनी ५ हजार ८४२ मतसहित विजयी हुँदा निकटतम प्रतिस्पर्धी कांग्रेसका अर्चनाकुमारी यादवले ३ हजार १४९ ल्याइन् ।

सूर्योदय नगरपालिका

इलामको सूर्योदय नगरपालिकाको मेयरमा रनबहादुर राई विजयी भए । उनले १२ हजार ४३१ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी काजीमान कागतेले १० हजार ५७९ मत पाए । सूर्योदय नगरपालिका पूर्वप्रधानमन्त्री झलनाथ खनालको गृहनगर हो ।

वृन्दावन नगरपालिका

नेकपा एसका विनोदप्रसाद कुर्मी ६ हजार ११२ मत ल्याइ विजयी भए । उनका निकटतम प्रतिस्पर्धी रामस्नेही राय यादवले ४ हजार ६७८ मत पाए । उपप्रमुखमा संगीताकुमारी रामले ५ हजार ७७२ मत ल्याइ विजयी भइन् । उनका निकटतम् प्रतिस्पर्धी सैवुन खातुनले ४ हजार ६८८ मत पाए ।

गौर नगरपालिका

रौतहटको गौर नगरपालिकाको मेयरमा शम्भु साह विजयी भएका छन् । साहले ६ हजार ३८१ मत पाए । उनका निकटतम प्रतिस्पर्धी लोसपाका अजयकुमार गुप्ताले ३ हजार ७५५ मत पाए । उमेयरमा शैलकुमारी साह ४ हजार ८०९ मतले विजयी भइन् ।

बैधीमाई गाउँपालिका

रौतहटको बैधीमाई गाउँपालिकामा प्रदीपकुमार यादव ४ हजार ८१० मत ल्याइ विजयी भए । उनका निकटतम प्रतिस्पर्धी जसपाका राजीव रञ्जन यादवले ४ हजार ६२४ मत पाए । उपमेयरमा प्रमिलादेवीले ४ हजार ८९४ मत ल्याइ विजयी भइन् ।

उदयपुरगढी गाउँपालिका

उदयरपुरको उदयपुरगढीमा पनि नेकपा एसले एमालेलाई पराजित गर्यो । समाजवादीका उम्मेदवार मानबहादुर केप्छाकी मगरले ४ हजार ९४२ मत ल्याए एमालेका उम्मेदवार गोपालबहादुर खत्रीलाई पराजित गरे । खत्रीले ४ हजार ११४ मत प्राप्त गरेका छन् ।

शम्भुनाथ नगरपालिका

सप्तरीको शम्भुनाथ नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एस विजयी भएको छ । मेयरमा जितेन्द्रप्रसाद गुप्ता कलवार ५ हजार ३९२ ले विजयी भए । उनका प्रतिस्पर्धी दीपेन्द्रकुमार चौधरीले ४ हजार १४३ मत पाए । उपमेयरमा अनिताकुमारी चौधरीले ४ हजार ९९८ मत ल्याइ विजयी भइन् ।

घोडाघोडी नगरपालिका

कैलालीको घोडाघोडी नगरपालिकाको मेयरमा नेकपा एस उम्मेदवार खडकबहादुर रावत १३ हजार १२८ मत ल्याइ विजयी भएका छन् ।
उनले निकटतम प्रतिस्पर्धी एमाले उम्मेदवार ममताप्रसाद चौधरीलाई ४ हजार ८८७ मतान्तरले पराजित गरेका हुन् । पराजित चौधरीले ८ हजार २४१ मत ल्याएका छन् ।

उपप्रमुखमा कांग्रेसकी उम्मेदवार गुलियाकुमारी चौधरी १२ हजार २७० मतसहित विजयी भइन् ।

राप्ती नगपालिका

चिवतनको राप्ती नगरापालिकामा शमशेर लामा १२ हजार ५२४ मत ल्याइ विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका गोविन्दप्रसाद कँडेलले १२ हजार ५१ मत पाएका छन् । राप्तीमा कांग्रेस र माओवादीको तालमेल गरेको थियो । उपमेयरमा कांग्रेस विजयी भएका छन् ।

मन्डनदेउपुर नगरपालिका

पूर्वमन्त्री तथा एमालेका चर्चित नेता गोकुल बाँस्कोटाको गृहनगरसमेत रहेको मन्डनदेउपुरमा एकीकृत समाजवादीका उम्मेदवार टोकबहादुर वाइबा विजयी भएका छन् । वाइबाले ९ हजार ४०६ मत ल्याइ विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी विदुरप्रसाद सापकोटाले ८ हजार ३८१ मत पाएका छन् । उपमेयरमा कांग्रेसका उम्मेदवार कांग्रेसका विष्णुमणि नेपालले ११ हजार ३०५ मत पाएका छन् । २०७४ मा एमालेबाट वाइबाले नै जितेका थिए । एमाले विभाजन भएपछि समाजवादीमा लागेका वाइबा फेरि निर्वाचित भएका हुन् ।

सखुवानान्कारकट्टी गाउँपालिका

सिराहाको सखुवानान्कारकट्टी गाउँपालिका अध्यक्षमा नेकपा एसका उम्मेदवार केदारनाथ यादव विजयी भए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका शत्रुधनप्रसाद साहले ३ हजा ३८१ मत पाए ।

तामाकोशी गाउँपालिका

त्यस्तै दोलखाको तामाकोशीमा नेकपा एसले एमालेलाई पराजित गरेको छ । एसका उम्मेदवार प्रोणप्रताव केसीले ५ हजार ४९० मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार अभिशेक सुवेदीले ३ हजार ४६६ मत पाए । यो पालिकामा केसीको मतान्तर २०२४ रहेको छ ।

कपुरकोट गाउँपालिका

यसैगरी सल्यानको कपुरकोट गाउँपालिकामा नेकपा एसका दुर्गाबहादुर पुन विजयी भए । पुनले ३ हजार १६० मत प्राप्त गर्दा उनको निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार भीमबहादुर सेनले २ हजार ९३६ मत पाए ।
सोरु गाउँपालिका

मुगुको सोरु गाउँपालिकामा एकीकृत समाजवादीका उम्मेदवार धर्मराज शाहीले ४ हजा ४७ मत ल्याइ एकालेका उम्मेदवार डिल्लीप्रसाद भट्टलाई हराए । भट्ट १ हजार ८८९ मत ल्याइ पराजित भएका थिए । उपमेयरमा कांग्रेसका उम्मेदवार केशरबहादुर शाही विजयी भए ।

केदारस्युँ गाउँपालिका

बझाङ त्यो जिल्ला हो, जहाँ एमाले अध्यक्ष ओली चुनावी सभामा नाचेका थिए । चैत २८ गते चुनावी सभालाई सम्बोधन गरेका ओलीले वैशाख ३० पछि हिमाल, पहाड र तराई एमालेमय हुने दाबी गरेका थिए । केदारस्युँ गाउँपालिकामा नेकपा एसका उम्मेदवार गणेशबहादुर बोहोराले एमाले उम्मेदवारलाई दोब्बर मतले हराए । बोहोरा ४ हजार ३२१ मतले विजयी भए । उनका निकटतम प्रतिस्पर्धी एमालेका लोकेशबहादुर भण्डारीले २ हजार ४०८ मत पाए ।