NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

काठमाडौंमा कांग्रेस-एमालेलाई शर्मनाक हार चखाउने को हुन् बालेन ?

सलिना ढुंगेल, काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्रबाट उम्मेदवारी दिएदेखि जित्दासम्म बालेन शाह यतिबेला आम चर्चाको विषय बनेका छन् । स्वतन्त्र उम्मेदवार बालेन आखिर को हुन् ? बालेनको जन्म सन् १९९० अप्रिल २७ मा काठमाडौंको नरदेवीमा भएको हो । उनी नरदेवीमै जन्मेर हुर्केका हुन् । बालेनको पूरा नाम बालेन्द्र शाह हो । उनका बुवा रामनारायण शाह पेशाले आयुर्वेदिक डाक्टर हुन् भने आमा ध्रुवदेवी शाह हुन् । उनका एक दाजु र एक बहिनी छन् । उनले २०७४ सालमा उर्लाबारी, मोरङकी सविना काफ्लेसँग विवाह गरेका हुन् । उनी जनस्वास्थ्य क्षेत्रमा काम गर्छिन् ।

No description available.
बालेनका बुवा, दाजु र आमा ।

बालेन सानैदेखि संगीतप्रेमी थिए । उनी कविता लेख्न पनि अब्बल छन् । उनी ¥यापर, संगीत निर्माता, लेखक, निर्देशकको रुपमा बढी परिचित छन् । उनी सानैदेखि राजनीतिक र सामाजिक विषयमा चासो राख्थे । उनले एलियन्स ऐकेडेमीबाट प्रारम्भिक शिक्षा हासिल गरेका हुन् । प्लस टु भने उनले काठमाडौंको भिएस निकेतन कलेजबाट पास गरे । त्यसपछि उनले हिमालयन ह्वाइट हाउस इन्जिनियरिङ कलेजबाट सिभिल इन्जिनियरिङ पास गरी भारतमा मास्टर पढन गए । उनले भारतको बैंगलोरस्थित कर्नाटक विश्वेश्वरैया राष्ट्रिय प्रौद्योगिक संस्थानबाट स्ट्रक्चरल इन्जिनियरिङ गरेका छन् ।

०७२ असोज ३ मा नयाँ संविधान जारी भएपछि भारतले नेपालमाथि नाकाबन्दी लगायो, सो समयबाट बालेनको रुचि राजनीतिमा बढेको उनीनिकटहरू बताउँछन् ।

बालेनले २०७२ सालको भूकम्पपछि पाँचखाल र नुवाकोटमा एसएसएफ संस्थासँगको आवद्धतामा २५ सय घरको पुनर्निर्माणसमेत गरेका छन् । नार्गाजुन नगरपालिकामा पनि उनले १७५ भुकम्प प्रतिरोधात्मक घरको पुननिर्माण गरेका छन् । उनको राजनीतिक यात्रा धेरै समयको छैन । ६५ जिल्ला पुगेर नेपालको राम्रो अध्ययन गरेको उनले बताउँदै आएका छन् ।

बालेन श्रीमती सविना काफ्लेका साथ ।

असोज ३ गते नयाँ संविधान घोषणापश्चात भारतले नेपालमाथि जुन नाकाबन्दी लगायो सो समयबाट बालेनको रुचि राजनीतिमा बढेको उनीनिकट बताउँछन् ।

यद्यपि, उनी भने ¥याप गायनबाट सामाजिक, क्रान्तिकारी, विसंगतिले भरिएका सचेतना छर्दै आएका छन् । ¥यापमार्फत मात्रै बोल्ने नभइ केही गर्नैपर्छ भन्ने सोचले उनले योपटक चुनावमा मेयरमा उठेको बताउँदै आएका छन् । उनले मेयर भएपछि काठमाडांै बदल्ने विभिन्न कार्यक्रम अघि सारेका छन् । फोहोरमैला व्यवस्थापन, स्वास्थ्य र शिक्षामा सुधार, व्यवस्थित पूर्वाधार निर्माण, व्यवस्थित कर प्रणालीसहितका विषयमा सुधारका कार्यक्रम अघि सारेका छन् ।

पाँच वर्ष अघिनै बालेनले मेयरमा उम्मेदवार दिनेगरी तयारी गरेको बताउँदै आएका छन् । उनको फेसबुक खोल्दा त्यो पुष्टि भएको छ । तर योपटक बालेन रोकिएनन् । उनी प्रस्ट बोल्न र आफ्ना कुरा निर्धक्क राख्न भने डराउँदैन । यही कन्फिडेन्टले उनको क्रेज बढेको टिप्पणी हुने गरेको पाइन्छ ।

No description available.
दाजु–भाउजु, बहिनी र श्रीमतीका साथ बालेन ।

पढेर ज्ञान हासिल लिएर मात्र रानीतिमा लाग्नुपर्ने उनी बताउँछन् । राजनीतिलाई फोहोर खेल मान्दैनन् । राम्रोे नियत भएका मानिस आउँदा राजनीति सफा हुने उनको तर्क रहँदै आएको छ । उनी मेयरको पदलाई पनि प्रमुख कार्यकारी अधिकृत (सिइओ)को पद भएको भन्न रुचाउँछन् । मेयर त झन् राजनीतिक पद नभएको भन्दै विषयविज्ञले व्यवस्थापनको प्रभावकारी काम गर्न सक्ने दाबी गर्दै आएका छन् ।

बालेनले उम्मेदवारी दिए दिनदेखि नै लोकप्रियता बटुल्दै अन्ततः काठमाडौंको मेयरमा भारी मतान्तरले बाजी मारेका छन् ।

कांग्रेस एमालेको परम्परागत गढलाई ढाल्दै स्वतन्त्रबाट लौरो चिन्हबाटै उनले यिनै दललाई फराकिलो मतान्तरले पराजित गरेका हुन् । ‘बा–आमालाई टेकाउन मिल्ने र भ्रष्टाचारीलाई सेकाउन मिल्ने’ भन्दै लौरो चुनाव चिन्हलाई छोटो समयमा परिचित बनाएका थिए । कुनै संगठन दलको झुण्ड र झण्डाविना नै बालेनले मेयरमा जितेर तहल्का नै मच्चाएका हुन् ।

बालेन र स्थापितबीच जम्काभेट
मेयरमा प्रतिस्पर्धी केशव स्थापितसँग बालेन ।

प्रतिस्पर्धी एमालेका उम्मेदवार केशव स्थापितले मधेसको भन्दै बालेनले काठमाडौंको जातीय र सांस्कृतिक पक्षलाई बुझ्न र आत्मसात गर्न नसक्ने भन्दै उनको उम्मेदवारीकै आलोचना गरेका थिए । तर नेवार समुदायकै बाहुल्यता रहेको काठमाडौंले मधेसी मूलका बालेनलाई जिताएका छन् । काठमाडौंमा जन्मेकाले बालेन आफूलाई नेवाः भन्दै आएका छन् । नेवाः कुनै जात नभएर काठमाडौंवासीको साझा पहिचान भएको उनको तकृ छ । उनी नेवारी भाषामा समेत दख्खल राख्छन् । खासमा बालेनका बुवा भने महोत्तरीबाट काठमाडौं बसाइँ सरेका थिए ।