NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

नौ हजार कैदीबन्दी भत्किएका जेलमा

काठमाडौं । कारागारको जीर्ण भौतिक संरचनाका कारण मुलुकका एकतिहाइभन्दा बढी कैदीबन्दी जोखिममा रहेका छन् । कारागार व्यवस्थापन विभागको आफ्नै अध्ययन प्रतिवेदनअनुसार मुलुकभर करिब २५ हजार कैदीबन्दी रहेकामा नौ हजारभन्दा बढी कैन्दीबन्दी जीर्ण संरचनाभित्र छन् ।

कसुर ठहर भएका र मुद्दाको किनारा नलागेसम्म पुर्पक्षमा पठाइएकालाई कैदीबन्दीका रूपमा कारागारमा राख्ने गरिन्छ । विभिन्न जिल्लामा ७४ कारागार रहेकामा आधाभन्दा बढीका भवन जुनसुकै बेला भत्किने अवस्थामा रहेको प्रतिवेदन विभागकै अध्ययनले देखाएको छ ।

गृह मन्त्रालयका अनुसार नेपालका कारागारहरूको क्षमता १६ हजार ५ सय ११ जनालाई मात्रै राख्ने हो तर अधिकांश कारागारमा कोचाकोच कैदीबन्दी राखिएको छ । कतिपय कारागारमा क्षमताको तेब्बर–चौबर संख्यामा कैदीबन्दी छन्, जसका कारण उनीहरूलाई सुत्न, बस्न र शौच गर्नसमेत समस्या छ ।

सप्तरी कारागारका जेलर किशोरकुमार रामले कैदीबन्दी बस्ने भवन जुनसुकै बेला भत्किने अवस्थामा रहेको सुनाए । ‘कारागारको भवन र पर्खाल चिराचिरा परेको छ । भुइँमा प्लास्टर छैन, भुइँ ढलान नहुँदा कैदी सुरुङ खनेर भाग्लान् भन्ने डर पनि छ,’ उनले भने, ‘पानी पर्दा छाना चुहिन्छ । पानी परेका बेला कैदीबन्दी जाग्राम बन्छन् ।’

ठाउँ नपुगेर कैदीबन्दीलाई भुइँमा ओछ्यान लगाएर सुताउनुपर्ने बाध्यता रहेको पनि जेलर रामले बताए । १ सय ६५ जना अटाउने क्षमता रहेको उक्त कारागारमा ३ सय ७० कैदीबन्दी राखिएको छ ।

महोत्तरीको जलेश्वर कारागारको अवस्था पनि उस्तै छ । त्यहाँ पर्याप्त शौचालय नहुँदा शौच गर्न कैदीबन्दीले पालो कुर्नुपर्छ । ‘भवन भत्कने डरले कैदीबन्दी राति ढुक्कले निदाउन पाउँदैनन्,’ निमित्त जेलर रविनचन्द्र ठाकुरले भने, ‘पुरुष बन्दीगृहको तुलनामा महिला ब्लकको अवस्था झनै नाजुक छ । पानी पर्नासाथ छाना चुहिन्छ ।’

२ सय क्षमताको महोत्तरी कारागारमा ६ सय कैदीबन्दी राखिएको छ । विभागले भवन निर्माणका लागि लागत अनुमान मागेपछि विवरण पेस गरेको तर त्यसपछि कुनै प्रतिक्रिया नआएको उनले बताए ।

प्यूठानमा राणाकालीन घोडाको तबेलालाई कारागार बनाइएका कारण कैदी बस्ने ठाउँ अत्यन्तै साँघुरो छ । संरचना जीर्ण हुँदा पनि सरकारले ध्यान नदिएको निमित्त जेलर सूर्यप्रसाद पन्तले गुनासो गरे । ‘यसलाई कुनै पनि हिसाबले कारागार भन्न सकिँदैन,’ उनले भने, ‘त्यसमाथि क्षमताभन्दा दोब्बर कैदीबन्दी राख्नुपर्ने बाध्यता छ ।’

गत वर्ष असारमा अविरल वर्षापछि भत्किएको कालीकोट कारागारको पर्खाल अझै बनाइएको छैन । २०७५ साउनमा अविरल वर्षातका कारण बझाङ कारागार भवनको घेराबारा भत्किएको थियो । त्यसलाई अझै व्यवस्थित गरिएको छैन । कैदीबन्दी गृह पनि जीर्ण छ ।

यता डिल्लीबजार कारागारको पर्खाल दुई वर्षअघि ०७७ असारमा भत्किएको थियो, काँडे तारले बारिएको छ । त्यहाँ सडकबाटै कैदीबन्दी देखिन्छन् ।

कारागारको भित्री संरचना र उनीहरूका गतिविधि बाहिरी मानिसको निगरानीबाट टाढै राख्नुपर्ने भए पनि उक्त संवेदनशीलतालाई सरकारले ध्यान दिएको छैन । आजको कान्तिपुर दैनिकमा खबर छ ।