NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

एमाले, माओवादी र नेकपा एस मिल्ने सम्भावना कति ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले चाहे गठबन्धन सरकार सात दिनमा ढाल्न सक्ने चेतावनी दिएका थिए । स्थानीय तह निर्वाचनको पूर्वासन्ध्यामा २७ वैशाखमा काठमाडौंमा भएको चुनावी सभामा गठबन्धन सरकारको भविष्यबाणी गर्दै ओलीले असार १७ सम्म गठबन्धन सरकार ढल्ने दाबी गरेका थिए । तर चुनावी परिणामबाट एमालेको महत्वपूर्ण आधार भूमिमै पार्टीले शर्मनाक हार व्यहोरेपछि ओली अहिले गठबन्धन भत्काउने योजना बुनिरहेका छन् ।

स्थानीय तह निर्वाचनमा ६०–६५ प्रतिशत स्थानमा विजयी हुने एमालेको आन्तरिक हिसाबकिताब थियो । चुनावी परिणामलाई लिएर गठबन्धनभित्र तीव्र असन्तुष्टि बढ्दै जाने र अन्ततः त्यसको प्रत्यक्ष फाइदा आगामी संघीय निर्वाचनमा एमालेलाई हुने ओलीको आकलन थियो । आफ्नो अपेक्षा विपरीत चुनावी परिणाम आएपछि ओलीले गठबन्धन घटक एकीकृत समाजवादी र जसपाका नेतहरूसँग छलफल गर्न उपाध्यक्षद्वय सुवासचन्द्र नेम्वाङ र विष्णु पौडेललाई खटाएका छन् ।

गठबन्धन भत्काउन नेम्बाङ र पौडेलको दौडधूप

मतगणना चल्दै गर्दा नेम्वाङ र पौडेलले एकीकृत समाजवादी नेता झलनाथ खनाललाई भेट गरेका छन् । स्रोतका अनुसार खनालसँगको भेटमा उनीहरूले अहिलेसम्म भए गरेका कामकारवाहीबारे समीक्षा गरी सहकार्य गर्न ओली तयार रहेको जानकारी गराएका थिए । जवाफमा खनालले अहिलेकै अवस्थामा एमालेसँग सहकार्य सम्भव नभएको बताएका थिए । ओलीबाट अहिलेसम्म भएका गल्तीबारे गम्भीर समीक्षासहित लिखित प्रतिबद्धता नआएसम्म सहकार्य र एकताका लागि विश्वास गर्न नसकिने जवाफ खनालले फर्काएको उनीनिकट एक नेताले बताए ।

‘आजको मितिसम्म गठबन्धन कायमै रहने देख्छु, एमालेले जुन ढंगले रियलाइजेसन गर्नुपथ्र्यो त्यो गरेको देखिएन । ओलीको कार्यशैलीले अझै एउटा धक्का आवश्यक रहेको खनाल लगायत नेता तथा कार्यकर्ताको बुझाइ छ । रियलाइजेसन गरेर जाने हो भने त्यो भन्दा अगाडि नै एक ढंगले जाने तयारी छ’, खनाल निकट एक नेताले भने, ‘त्यसमा ओली तयार नभए आगामी संघीय चुनावमा पनि कांग्रेससँगै मिलेर धक्का दिने हो । त्यो धक्काले कम्युनष्टि आन्दोलनलाई नै समाप्त पार्छ कि भन्ने चिन्ता छ । सबै कांग्रेसलाई बुझाए फेरि उसँग खोस्न गाह्रो छ ।’

खनाल त्यही नेता हुन् जसले कांग्रेसबाट धोका भए एमालेसँग सहकार्य हुने सार्वजनिक अभिव्यक्ति दिएका थिए । स्थानीय तह निर्वाचनमा गठबन्धन गर्दा त्यसको फाइदा कांग्रेस र माओवादीलाई भएको भन्दै एकीकृत समाजवादी र जसपाका नेताहरू प्रधानमन्त्री देउवा र प्रचण्डसँग असन्तुष्ट छन् । विराटनगरमा आफ्ना छोरा पराजय भएसँगै जसपाका अध्यक्ष उपेन्द्र यादवले ओलीसँग भेट गरिसकेका छन् । यादवलाई ओली आफैंले फोन गरी बोलाएका हुन् । शनिबार भएको भेटवार्तामा ओलीले सरकार फेरबदलका लागि यादवसँग सहयोग मागेका थिए । जवाफमा यादवले समग्र मधेसमा एमालेको दृष्टिकोण स्पष्ट नभएसम्म आफूले केही गर्न नसकिने जवाफ दिएको यादव निकट एक नेताले बताए ।

एमाले अध्यक्ष ओलीको एकलव्य दृष्टिकोण जसरी भएपनि गठबन्धन भत्काउने रहेका देखिन्छ । एमसीसी कार्डलाई हतियार बनाएर सरकार ढाल्ने ओलीको रणनीति असफल भएपछि उनले स्थानीय तह निर्वाचनपछि सरकार ढल्ने अनुमान गरेका थिए । तर स्थानीय तह निर्वाचनको परिणामलाई लिएर तत्काल गठबन्धन नभत्किने माओवादी र एकीकृत समाजवादीका नेताहरूले बताएका छन् ।

‘गठबन्धन टुटाउन षड्यन्त्रकारीले विभिन्न प्रलोभन देखाएका छन् । उनीहरूको प्रलोभन र षड्यन्त्रमा फस्ने छैन’, निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिन बिहीबार सुर्खेत पुगेका एसका अध्यक्ष माधव नेपालले भने, ‘चुनावी परिणामलाई नै लिएर गठबन्धन भत्किदैन । गठबन्धन भत्किन्छ कि भन्ने भ्रममा नपर्नुहोला ।’

नेम्वाङ र पौडेलले खनाललाई भेट गरेपनि नेपालसँग कुनै संवाद नभएको नेपालको सचिवालयले जनाएको छ । सहकार्य र सरकार गठनका लागि नेम्वाङ र पौडेलले माओवादी केन्द्रका नेताहरूसँग छलफल भइरहेको माओवादीका नेता हरिबोल गजुरेलले स्वीकारेका छन् ।
‘विभिन्न तहमा एमालेका नेताहरूसँग छलफल भइरहेको छ । यथास्थितिमा एमालेसँग सहकार्य हुने कुनै सम्भावना छैन’, नेता गजुरेलले भने, ‘ओलीको अहंकारले पुनः वामपन्थी एकता हुने म देख्दिनँ । आगामी चुनावसम्म गठबन्धन कायमै रहन्छ । गठबन्धनको विकल्प अहिल्यै म देख्दिनँ ।’

विभिन्न दलसँग एमालेका नेताहरूको छलफलबारे एमाले उपाध्यक्ष नेम्बाङसँग जिज्ञासा राख्दा छलफल जारी रहेकाले कुनै निष्कर्षमा नपुगेको बताए ।

‘हामी छलफलमै छौं । आगामी दिनमा के कसरी अगाडि बढ्ने भन्नेमा आगामी बैठकमा गम्भीर छलफल हुन्छ’, नेम्वाङले भने, ‘माओवादी र एकीकृत समाजवादीसँग सहकार्यबारे कुनै योजना बनाएका छैनौं ।’

एमाले महासचिव शंकर पोखरलेले सरकार परिवर्तन गर्ने खेलमा एमाले नरहेको स्पष्ट पार्दै उनले विकास र समृद्धिका लागि बलियो राष्ट्रिय शक्ति निर्माणको तयारीमा जुटेको बताएका छन् ।

जसपाले साथ दिएपनि ओलीको योजना सफल नहुने

एमालेका नेताहरूले सरकार ढाल्ने कुनै योजना नभएको दाबी गरेपनि विभिन्न च्यानलमार्फत गठबन्धन भत्काउने प्रयास जारी राखेको छ । आगामी संघीय निर्वाचनमा वर्तमान गठबन्धन कायमै रहेसम्म एमालेलाई थप क्षति हुने बुझेका ओलीले आफ्ना दुतमार्फत माओवादी, एकीकृत समाजवादी, जसपा र लोसपाका नेताहरूसँग सम्पर्क बढाएका छन् । तर ओलीको सरकार ढाल्ने प्रयास तत्काल सफल हुने देखिँदैन ।
२७५ सदस्यीय प्रतिनिधिसभाका अहिले २६८ सांसद छन् । सामान्य बहुमतका लागि १६५ सदस्य आवश्यक रहन्छ । अहिले एमालेसँग ९८ सांसद छन् । त्यसमा जसपा र लोसपाले ओलीलाई साथ दिएपनि नयाँ सरकार बन्ने सम्भावना छैन । तीन पार्टीको सांसद संख्या जोड्दा जम्मा १३० पुग्छ । ओलीको योजनालाई नेमकिपा र स्वतन्त्र सांसदले साथ दिएपनि थप तीन सांसद अपुग रहनेछ । संसदमा एमाले ९८, कांग्रेस ६३, माके ४८, एस २३, जसपा १९, लोसपा १३, नेमकिपा १ र स्वतन्त्र एक सांसद छन् । यस्तो अवस्थामा एमालेले सरकार ढालेपनि चुनावसम्म देउवा नेतृत्वकै सरकार रहनेछ ।

प्रचण्ड र माधवको धम्की बाग्रेनिङ हतियार

माओवादीका अध्यक्ष प्रचण्डले स्थानीय तह निर्वाचनबाट निर्वाचित आफ्ना जनप्रतिनिधिलाई केन्द्रीय कार्यलयमा प्रशिक्षण दिने क्रममा कांग्रेसले दम्भ देखाए एमालेको हालतमा पु¥याइदिने धम्की दिए । प्रचण्डको धम्कीले गठबन्धनभित्र तरङ्ग नै ल्याएको छ । यद्यपि यसबारे कांग्रेसका नेताहरूले अहलेसम्म मुख खोलेका छैनन् । प्रशिक्षणमा प्रचण्डको संकेत निर्वाचन परिणामले पहिलो दल भएको कांग्रेसमा एमालेको जस्तै दम्भ पलाउने हो कि भन्ने आशंका मिश्रित चेतावनी थियो । उनको चेनावनी स्थानीय तहको निर्वाचनको परिणामले आगामी संघीय निर्वाचनमा नपरोस् भन्नेमा देखिन्छ ।

‘कांग्रेस पनि एमाले जस्तै अहंकार र दम्भ लिएर माओवादी केही पनि होइन, स्थानीय तहमा पनि धेरै जसो ठाउँमा ठेगान लगाइयो अब प्रदेश र संघमा पनि ठेगान लगाइन्छ भन्यो भने हामीले फेरी एमालेलाई ठेगान लगाए जस्तै कांग्रेसलाई ठेगान लगाउने दिन नआओस्’, कांग्रेसलाई प्रचण्डले चेतावनी दिँदै भने ।

प्रचण्डकै शैलीमा एसका अध्यक्ष नेपालले आफूलाई प्रधानमन्त्रीको प्रलोभन देखाइएको तर आफू त्यस्तो षड्यन्त्रमा नफस्ने बताएका छन् । स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट धोखा भएको भन्दै निर्वाचन परिणामप्रति असन्तुष्ट व्यक्त गर्दै आएका छन् । तर स्थानीय तहको परिणामलाई लिएर गठबन्धन भत्काउने पक्षमा आफू नरहेको दाबी गरेका छन् ।

प्रचण्ड र माधव नेपालको अभिव्यक्ति कांग्रेसलाई धम्क्याउने र आगामी निर्वाचनमा सिटको बार्गेनिङ गर्ने राजनीतिक अस्त्रमात्र भएको आरोप एमालेले लगाएको छ ।

‘प्रचण्ड वा माधवलाई प्रधानमन्त्री प्रस्ताव एमालेले गरेको छैन । हामी सरकार परिवर्तनको पक्षमा पनि छैनौं । आ–आफ्नो स्वार्थले भरिएको सरकार आफैं ढल्छ, हामीले ढाल्नै पर्दैन’, संगठन विभाग प्रमुख खगराज अधिकारीले भने, ‘उहाँहरूको धम्की आगामी संघीय निर्वाचनमा कांग्रेससँग बार्गेनिङ गरी आफ्नो सिट सुरक्षित गर्ने राजनीतिक स्टन्टमात्र हो ।’

बाहिर एकले अर्कालाई कटु आलोचना गरेपनि भित्र–भित्र वामगठबन्धनको प्रयासभने विभिन्न संयन्त्रमार्फत भइरहेको तीन वटै पार्टीका नेताहरूले स्वीकार गरेका छन् । सबैले आ–आफ्ना गल्ती महशुस गरी पार्टीगत निर्णय गरे आगामी निर्वाचनसम्म वामपन्थीबीच सहकार्य हुनसक्ने शीर्ष नेताहरूको अभिव्यक्तिबाट बुझिन्छ । तल्लो तहका नेता तथा कार्यकर्ताले वामपन्थी एकताको पक्षमा शीर्ष नेताहरूलाई दबाव दिए पनि ओली, प्रचण्ड र माधव नेपालको इगोका कारण सहमतिमा समस्या उत्पन्न भएको देखिन्छ ।