NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

चार तलाबाट खसेर गम्भीर घाइते भएकी पौडेलकी छोरीको कस्तो छ स्वास्थ्य अवस्था ?

काठमाडौं । आफ्नै घरको चार तलाबाट खसेर गम्भीर घाइते भएकी कांग्रेस नेता रामचन्द्र पौडेलकी छोरीको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । सोमबार बिहान सबा सात बजे पौडेलकी छोरी संज्ञा पोखरेल चौथो तलाबाट खसेर घाइते भएकी थिइन् ।

बनस्थलीस्थित घरबाट खसेर घाइते भएपछि तत्काल मनमोहन अस्पताल पुर्याइएकी उनको लगत्तै ट्रमा सेन्टर लगेर उपचार थालिएको हो ।

‘चार तलामाथिबाट खसे पनि उहाँको टाउको, मेरुदण्ड र छातीमा गम्भीर चोट छैन’ नेता पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले नेपालवाचसँग भने, ‘तर शरिरका धेरै ठाउँमा फ्याक्चर छ ।’

उनको दायाँ खुट्टा दुई ठाउँमा भाँचिएको छ । दायाँ हात पनि भाँचिएको अस्पतालले जनाएको छ । कम्मरको हड्डी पनि भाँचिएको छ । शरिरका विभिन्न भागमा चोट लाग्नुका साथै अनुहारभरि चोट लागेको अस्पतालको भनाई छ ।

गम्भीर घाइते भएकी पोखरेलको क्रिटीकल केयर गरेर उपचार गर्नुपर्ने अस्पतालले जनाएकाे छ ।

पवन हमालसहितको चिकित्सकको टोली उनको उपचारमा खटिएको छ ।

आइसियुमा राखेर उपचार गरिए पनि उनी होसमै छिन् । ‘धेरै चोटपटक लागेको छ । तर उहाँ होसमा हुनुहुन्छ । कुरा गर्नुहुन्छ ।’ अधिकारीले भने ।

घटना हुँदा पोखरेलका पति घरमा थिएनन् । दुई छोराछोरी मात्रै घरमा रहेको जानकारी अधिकारीले दिए ।

तर के कारणले ५० वर्षीया पोखरेल चार तलाबाट खसिन् भन्ने जानकारी आफूलाई नभएको उनले बताए ।

रामचन्द्र पौडेलकी छोरी चार तलाबाट खसेर घाइते, आइसियुमा उपचार हुँदै