घनश्यामको काँधमा बन्दुक राखेर कसलाई तर्साउन खोज्दैछन् ओली ?

काठमाडौं । पार्टीहित विपरीत काम गरेको आरोपमा एमालेको अनुशासन आयोगले स्थायी कमिटी सदस्य घनश्याम भुसालमाथि कारबाही सिफारिस गरेपछि यतिबेला एमाले वृत्तमा तरङ्ग उत्पन्न भएको छ । पार्टी विभाजनको खाटो नबस्दै स्थापित नेतामाथि अध्यक्ष ओलीले अनुशासन उल्लङ्घनको डण्डा किन चलाउन खोजे भन्नेमा पार्टीभित्र र बाहिर विभिन्न आशंका जन्मिएको छ ।
भर्खर सकिएको स्थानीय तह निर्वाचन परिणामले महानगर उपमहानगरसहित राजनीतिक र आर्थिक दृष्टिले महत्वपूर्ण मानिएको पालिकामा अनपेक्षित परिणामले एमाले थप कमजोर देखिएको छ । आगामी कात्तिक र मंसिरमा सरकारले प्रदेश र संघको निर्वाचन गर्ने तयारी थालेको छ । यस्तो अवस्थामा पार्टीलाई थप बलियो र एकतावद्ध बनाएर लैजानुपर्नेमा भुसालको काँधमा बन्दुक राखेर कसलाई तर्साउन खोजिरहेका छन् ? भुसालकै कारण पार्टीले क्षति व्यहोरेको हो त ? उनीमाथि अनुशासको डण्डा चलाउँदा आगामी निर्वाचनमा एमालेको बलियो उपस्थिति हुन्छ ? यहि प्रश्नको उत्तर खोजिरहेका छन् एमालेका नेता तथा कार्यकर्ताहरू ।
टेलिभिजन अन्तर्वार्तामा भुसालले अध्यक्ष केपी ओलीको गलत नीतिका कारण पार्टीले स्थानीय तहको निर्वाचनमा पराजय भोगेको आरोप लगाउँदै नैतिकताको आधारमा अध्यक्षले राजीनामा दिनुपर्ने प्रतिक्रिया दिएका थिए ।
उक्त अभिव्यक्तिलाई लिएर जेठ १८ मा बसेको आयोगको बैठकले भुसालमाथि कारबाही गर्न सिफारिस गरेको थियो । उनीमाथि पार्टीभित्र छलफल गरेर करबाही प्रक्रिया अगाडि बढाउने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सार्वजनिक अभिव्यक्ति दिइसकेका छन् ।
‘कसलाई कारवाही गर्ने वा नगर्ने त्यो पार्टीको आन्तरिक विषय हो । यो सार्वजनिक खपतको विषय होइन’, मंगलबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग पोखरेलले भने, ‘भुसालमाथि पार्टीभित्र छलफल गरेर कारवाही प्रक्रिया अगाडि बढाउँछौं ।’
महासचिव शंकर पोखरेलले नेतृत्वको आलोचनाको नाममा आग्रहपूर्ण विचार प्रवाह त्याग्नुपर्ने प्रतिक्रिया दिएका छन् । बुधबार समाजिक सञ्जाल फेसबुकमार्फत मुख्य नेतृत्वलाई लक्षित गरेर आग्रहपूर्ण विचार प्रवाह नगरे पार्टीको भविष्यको चिन्ता गर्नुनपर्ने उनको भनाइ छ ।
‘मूख्य नेतृत्वलाई लक्षित गरेर आग्रहपूर्ण विचार प्रवाह नगरी पार्टी एकतामा इमान्दारिता देखाए पार्टीको भविष्यबारे चिन्ता गर्नुपर्ने अवस्था छैन’, उनले उल्लेख गरेका छन् ।
तर नेतृत्वको आलोचनकै आधारमा अनुशासनको कारवाही गर्न नहुने भन्दै एमाले नेताहरूले नै विरोध जनाएका छन् ।
भुसालमाथिको कारवाही सिफारिस ओलीको निरङ्कुश प्रवृत्तिको पराकाष्ट भएको भुसाल निकट नेताहरूको बुझाइ छ । ‘हामी पार्टीको नीति, सिद्धान्त र समग्र वाम एकताको पक्षमा रहेका छौं । नेतृत्वको गलत नीतिले पार्टी र समग्र वाम आन्दोलन समाप्तिको खतरा उत्पन्न भएको छ’, भुसाल निकटका एक नेताले भने, ‘नेतृत्वको आलोचना गरेकै भरमा अनुशासनको कारबाहीको डण्डा चलाए पार्टी थप कमजोर हुनेछ । हिटलर र निरङ्कुश शैलीले कम्युनिष्ट आन्दोलनको संरक्षण हुन सक्दैन । जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्त मानेको पार्टीभित्र नेतृत्वको आलोचना गरेकै भरमा कारबाही गर्न खोज्नु खेदजनक छ ।’
एकता पक्षधर नेताहरू असन्तुष्ट
भुसालमाथिको कारवाही सिफारिसलाई लिएर एमाले एकता पक्षधर नेताहरू भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, गोकर्ण विष्ट, अमृत बोहोरा, योगेश भट्टराईलगायत नेताहरूले असन्तुष्टि जनाएका छन् ।
एकतावद्ध भइ चुनावी तयारीमा जुट्नुपर्ने अवस्थामा नेतृत्वको आलोचना गरेकै भरमा पूर्वाग्रगी भएर कारबाही प्रक्रिया अगाडि बढाउनु उचित नभएको उनीहरूले प्रतिक्रिया दिएका छन् । उपाध्यक्ष युवराज ज्ञवालीले भुसालमाथि अनुुशासनको कारबाही प्रक्रिया अगाडि बढाउनु नेतृत्वको कमजोरी भएको टिप्पणी गरेका छन् ।
‘प्रदेश र संघको निर्वाचनका तयारीमा लाग्ने समयमा नेतृत्वको आलोचना गरेकै भरमा कारबाही गर्न खोज्दा पार्टीमा थप क्षति हुन्छ’, ज्ञवालीले भने, ‘निर्वाचनमा अन्तर्घात भएको छ भने क–कसले घात गरे त्यो छानबिनको क्रममा आइसकेपछि कारबाही गर्न सकिन्छ । तर उहाँले त्यसो गर्नुभएको होइन । यसबारे हामी सचिवालय बैठकमै कुरा उठाउँछौं । पार्टीलाई एकतावद्ध बनाउनु पर्ने समयमा कारबाही प्रक्रिया अगाडि बढाउनु उपयुक्त छैन ।’
त्यस्तै सचिव भट्टराई पनि भुसालमाथिको कारबाही प्रक्रियासम्बन्धमा सन्तुष्ट छैनन् । ‘अप्ठ्यारो बेलामा सबै सम्हालिनुपर्छ । आवेग, उत्तेजना र आग्रहमा गरिने कुनै पनि क्रिया प्रतिक्रियाले सही ठाउँमा पुर्याउँदैन’, सचिव योगेश भट्टराईले प्रतिक्रिया दिएका छन् ।
संसद् विघटन, नेकपा विघटन, एमाले विभाजन, महाधिवेशनमा ओलीको एकलौटी निर्णयको असर स्थानीय तहको निर्वाचन परिणाममा देखिएको भुसालसहितका नेताको दाबी छ । तर ओली यी आरोप स्वीकार्न तयार छैनन् । बरु आफ्नो विरोधमा उभिनेलाई तर्साएर अरु सम्भावित विरोधको स्वर दबाउने नीतिमा ओली लागेका हुन् ।
ओली पक्षकै नेताहरू कारबाहीको विपक्षमा
वरिष्ठ उपाध्यक्ष पोखरेलले भुसालको कारबाही पार्टी बैठको एजेण्डा बन्ने बताइरहँदा ओलीपक्षका नेताहरू नै कारबाहीको विपक्षमा देखिएका छन् । गण्डकीका पूर्वमूख्यमन्त्री तथा उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नेतृत्व आवेग र पूर्वाग्रही हुनुभन्दा पनि संयम हुन आवश्यक रहेको बताएका छन् ।
‘कारबाही समस्या समाधानको उपाय होइन । पार्टीलाई एकतावद्ध बनाएर लैजानु अहिलेको आवश्यकता हो । नेतृत्वको आलोचना हुँदैमा कारबाही गर्दै जाँदा चुनावको मुखमा पार्टीलाई थप क्षति पुग्न सक्छ । यसतर्फ नेतृत्वले ध्यान दिनुपर्छ’, गुरुङले भने ।
त्यस्तै उपाध्यक्षद्वय सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल, सचिव पद्या अर्यालगायत नेताहरू कारबाहीको विपक्षमा देखिएका छन् । तर उनीहरूले आफूलाई चित्त नबुझेका कुरा पार्टीको बैठकमा नराखी बाहिर मिडियाबाजी गरेर समस्या समाधान नहुने बताएका छन् । ‘भुुसालमाथि अनुशासनको कारबाही प्रक्रिया अगाडि बढाएको भन्ने कुरा मैले बाहिरबाट सुनेको हो । कारबाहीको सम्बन्धमा पार्टीभित्र कुनै छलफल भएको छैन’, सचिव अर्यालले भनिन्, ‘सचिवालय बैठकमा प्रस्ताव आउला त्यतिबेला कारबाही गर्ने वा नगर्नेबारे निर्णय हुनेछ ।’
अनुशासन कारबाहीले पार्टीलाई थप क्षति
पार्टी विभाजनपछि मंसिरमा चितवनको सौराहामा भएको एमाले १० औं महाधिवेशन समापन गर्दै अध्यक्ष ओलीले पार्टीभित्रका विखण्डनकारी अराजक तत्वहरू बाहिरिएकाले अब पार्टीमा कुनै समस्या नरहेको दाबी गरेका थिए । उनले माधव–झलनाथ समूहलाई पिलोको संज्ञा दिँदै खिल निस्कनेगरी निचोरेपछि ठीक भएको बताएका थिए । स्थानीय तह निर्वाचनमा एमाले ६०–६५ प्रतिशत स्थानमा विजयी हुने दावी गरेका थिए ।
महाधिवेशनलगत्तै ओली देशव्यापी दौडाहामा निस्किए । अन्य दलकका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराए । पार्टीको वडा अधिवेशनदेखि केन्द्रीय महाधिवेशनसम्म एकल निर्णय लादेका ओलीले पार्टीभित्र आफ्नो विरोधी समाप्त भएको ठानेका थिए । तर निर्वाचनमा महानगरपालिकासहित राजनीतिक दृष्टिले महत्वपूर्ण मानिएको पालिकामा एमाले पराजित भयो । जुन परिणामले ओलीलाई नराम्रो झड्का दिएको छ ।
निर्वाचन परिणामपछि बसेको समीक्षात्मक बैठकमा पार्टी पराजयको मूल समस्या अन्तर्घात भएको निष्कर्ष एमालेले निकाल्यो । लगत्तै अन्तर्घातबारे छानबिन गर्न बैठकले स्थानीय कमिटीलाई निर्देशन दिएको छ । त्यसको प्रतिवेदन आउनेक्रम जारी रहेको सचिव अर्यालले जानकारी दिइन् ।
नागरिक अगुवा श्याम श्रेष्ठले भुसालमाथिको कारबाहीले ओलीको निरंकुश चरित्र छर्लङ्ग भएको बताउँछन् ।
‘ओली कसैको आलोचना सहँदैनन् । ओलीमा पार्टी होइन, म भन्ने अहमता छ । भुसालको काँधमा आनुशासन नामको बन्दुक राखेर पार्टीभित्र सयौं भुसाललाई तर्साउन खोजेका छन्’, श्रेष्ठले भने, ‘एमालेमा अराजकता र अन्तर्घातलाई पश्रय दिने ओली हुन् । ओली आफ्नो गल्ति नस्वीकार्ने र आलोचना पनि नहसने प्रवृत्तिका नेता हुन् । उनी कहिल्यै सुध्रदैनन् । फेरि आफ्नो आलोचना नहोस् भन्नका लागि भुसालमाथि कारबाही गर्न खोज्दैछन् । त्यो उनैका लागि जोखिमपूर्ण हुनेछ ।’
श्रेष्ठले ओलीकै कारण एमाले थप कमजोर हुने दाबी गरेका छन् । ओलीको गलत नीतिका कारण कीर्तिपुर, हेटौंडा, पोखरालगायत धेरै पालिकामा एमालेले पराजय भोगेको आरोप श्रेष्ठले लगाए । उनकै कारण तत्काल वाम एकतासमेत सम्भव नभएको उनको टिप्पणी छ ।
प्रतिक्रिया