NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

कलेजो फेर्नुपर्ने बिरामी वर्षमै एक हजार, ६ वर्षमा २२ जनाको मात्रै प्रत्यारोपण

काठमाडाैं । कलेजो प्रत्यारोपण सहज नहुँदा उपचार अभावमा बर्सेनि कैयौँले ज्यान गुमाउनुपरेको छ । नेपालमा बर्सेनि कम्तीमा हजारजनाको कलेजो फेल हुने गरेको अनुमानित तथ्यांक छ । तर, अहिले वर्षमा औसत तीनजनाको मात्रै प्रत्यारोपण हुने गरेको छ ।

नेपालमा कलेजो प्रत्यारोपण सुरु भएको सात वर्ष पूरा भएको छ । ०७३ देखि अहिलेसम्म २२ जनाको कलेजो प्रत्यारोपण गरिएको छ । मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुर, शिक्षण अस्पताल महाराजगन्ज र चितवन मेडिकल कलेज सिएमसीले प्रत्यारोपणका लागि अनुमति पाएका छन् । अहिलेसम्म भक्तपुरमा आठ, शिक्षण अस्पतालमा आठ र सिएससीमा ६ गरी जम्मा २२ जनाको मात्रै कलेजो प्रत्यारोपण भएको छ ।

कलेजो फेल भएका बिरामी उपचारका लागि लामो पर्खाइमा रहनुपर्दा प्रत्यारोपण महँगोसमेत हुने गरेको छ । यस्ता बिरामीको तत्काल प्रत्यारोपणबाहेक उपचारको विकल्प नभए पनि कलेजो प्रत्यारोपण सहज पनि छैन । चिकित्सकका अनुसार कलेजो पूर्ण रूपमा फेल हुनुभन्दा अगाडि देखिने लक्षणका आधारमा प्रत्यारोपण गर्नुपर्ने अवस्था पत्ता लगाउन सकिन्छ तर, उपचारको पुहँच अति न्यून छ ।

मिर्गौला जस्तो फेल भइसकेपछि डायलाइसिस गरेर प्रत्यारोपणका लागि समय लिने अवस्था नभएकाले शल्यक्रिया सहज हुँदैन, जसका कारण उपचारमा समस्या भइरहेको मानव अंग प्रत्यारोपणका प्रमुख डा. पुकार श्रेष्ठ बताउँछन् । ‘मानव अंग प्रत्यारोपणमा मात्रै हाल १६ जना कलेजो प्रत्यारोपण गर्नुपर्ने बिरामी छन् । कोभिडले प्रत्यारोपण ठप्प हुँदा शल्यक्रिया गर्न पाएका थिएनौँ, असारको दोस्रो सातादेखि प्रत्यारोपणको तयारी गरेका छौँ,’ उनले भने ।

मस्तिष्क मृत्यु भएका व्यक्तिबाट अंग प्रत्यारोपण न्यून

अंग प्रत्यारोपणका लागि मस्तिष्क मृत्यु भएकाबाट लिन सकिने सम्भावना भए पनि हालसम्म प्रत्यारोपण सहज छैन । मस्तिष्क मृत्यु भएकाबाट कलेजो प्रत्यारोपण झन न्यून छ । हालसम्म भएका २२ कलेजो प्रत्यारोपणमध्ये जम्मा एकवटा मात्रै मस्तिष्क मृत्यु भएका व्यक्तिबाट लिइएको छ । मानव अंग प्रत्यारोपण केन्द्रमा मात्रै आफन्तबाट कलेजो लिन नमिल्ने १० जना मस्तिष्क मृत्युको अंगदान कुरेर बसेका छन् । ‘कलेजो फेल भएमा तुरुन्तै प्रत्यारोपण गर्नुपर्ने हुन्छ । प्रत्यारोपणका लागि अंग म्याच नभएका बिरामीले अंग नपाए ज्यान गुमाउनुपर्ने अवस्था उच्च हुन्छ,’ डा. श्रेष्ठले भने, ‘तर, मस्तिष्क मृत्युबाट दानमा अंग आउँदैनन् । अंग पाउने आशामा कुरेर बसेकाका लागि उपचारको अन्य विकल्प छैन ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।