NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

बाढीपहिरोबाट यस वर्ष २० लाख मानिस प्रभावित हुने

काठमाडाैं । सरकारले बर्खा लागेपछि बल्ल मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना स्वीकृत गरेको छ । गृहमन्त्री बालकृष्ण खाणको नेतृत्वमा रहेको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको सोमबारको १३औँ बैठकले कार्ययोजना स्वीकृत गर्दै प्रभावकारी कार्यान्वयनका लागि कमान्ड टोली पनि गठन गरेको हो ।

सरकारले यो वर्ष बर्खामा बाढीपहिरोबाट झन्डै २० लाख जनसंख्या प्रभावित हुने आकलन गरेको छ । समितिका सदस्यसचिवसमेत रहेका विपत् प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेलले प्रारम्भिक रूपमा १७ लाख जनसंख्या प्रभावित हुने आकलन गरिएकोमा प्रदेश र जिल्लागत अध्ययन गर्दा यो संख्या २० लाख हुने आकलन गरिएको जानकारी दिए । बाढीपहिरोबाट चार लाख २१ हजार घरपरिवार प्रभावित हुने आकलन गरिएको छ । यो वर्ष औसतभन्दा एक साताअघि २२ जेठमै मनसुन भित्रिएको थियो । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायु देशभर फैलने क्रममा छ ।

सबैभन्दा धेरै जोखिम प्रदेश १ मा

जल तथा मौसम विज्ञान विभागले यो वर्ष औसतभन्दा धेरै वर्षा हुने प्रक्षेपण गरिसकेको छ । बाढीपहिरोबाट सबैभन्दा बढी जनसंख्या प्रदेश १ मा प्रभावित हुने अनुमान कार्ययोजनाले गरेको छ । प्रदेश १ मा एक लाख २० हजार परिवार र चार लाख ७० हजार जनसंख्या प्रभावित हुन सक्ने ठानिएको छ । त्यसपछि मधेस प्रदेशमा ९७ हजार परिवार र चार लाख ६५ हजार जनसंख्या बाढीपहिरोबाट प्रभावित हुन सक्नेछन् । सबैभन्दा कम कर्णाली प्रदेशमा ११ हजार परिवार र ५५ हजार जनसंख्या प्रभावित हुन सक्ने आकलन गरिएको छ ।

यो वर्ष मनसुनमा प्रदेश १ का उत्तरी, मधेसका अधिकांश क्षेत्र र बागमतीका दक्षिणी भेगबाहेक अन्य सबै क्षेत्रमा औसतभन्दा धेरै वर्षाको प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले गरिसकेको छ । करिब चार महिनाको मनसुनी अवधिमा मात्र नेपालमा औसत १५ सय मिलिमिटर पानी पर्छ, जुन वार्षिक वर्षाको ८०.५ प्रतिशत हो ।

प्रदेश १ का झापा, मोरङ, सुनसरी र उदयपुर बाढीको जोखिममा छन् भने संखुवासभा, भोजपुर, तेह्रथुम, खोटाङ, ओखलढुंगा, धनकुटा, सोलुखुम्बु, ताप्लेजुङ, पाँचथर र इलामलाई पहिरोको सम्भावित जोखिमको जिल्लामा राखिएको छ । मधेसका आठवटै जिल्ला बाढीको जोखिममा छन् । त्यहाँ बारा, धनुषा, महोत्तरी, पर्सा, रौतहट, सप्तरी, सर्लाही र सिराहा जिल्ला पर्छन् ।

सरकारले यो वर्ष बर्खामा हुन सक्ने विपत्का घटना र पूर्वतयारीबारे संघीय संसद्लाई जानकारी गराउने भएको छ । गृहमन्त्री बालकृष्ण खाणले मनसुनजन्य विपत्का घटनाबाट जनधनको क्षति न्यून गर्न पूर्वतयारी तथा प्रतिकार्यमा सरकार गम्भीर रहेको र यसबारे संसद्लाई जानकारी गराउने तयारी रहेको बताए ।

‘यो वर्ष अघिल्लोपटकभन्दा बढी बाढीपहिरोको जोखिम अनुमान गरिएको छ । विपत्को पूर्वतयारी, उद्धार र पुनस्र्थापनामा बजेट र तयारीबारे संसद्लाई जानकारी गराइनेछ,’ कार्यकारी समितिको बैठकमा खाणले सचिव र विभागीय प्रमुखहरूलाई निर्देशन दिँदै भने, ‘निकायगत बजेट र पूर्वतयारीबारे लिखित विवरण गृहमा पेस गर्नुहोला ।’ उनले नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनालाई विपत्को पूर्वतयारी एकीकृत रूपमा बनाउन पनि निर्देशन दिए । बर्खायाममा राज्यका सबै निकायले डटेर सामना गर्नुपर्ने उनको भनाइ छ ।

स्वास्थ्यमन्त्री विरोध खतिवडाले प्रतिकार्यमा जिम्मेवार निकायको आपत्कालीन सम्पर्क नम्बर सर्वसाधारणसम्म पुग्ने गरी सञ्चार गर्न सुझाव दिए । पहाडी क्षेत्रमा अनियन्त्रित डोजरे विकासका कारण पहिरोका घटना बढिरहेको उनको भनाइ छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष