फेरिए लाहुरे

पोखरा । ‘मेरो गोलीजस्तो बोली रटटटटटट…,’ आठ वर्षअघि रअ बार्जमा युनिक पोइटसँगको र्याप ब्याटलमा ‘लाउरे’ को लाइन चर्चित बन्यो । त्यसपछि पोखराका आशिष रानाले पछाडि फर्किएर हेर्नुपरेन । ‘मेरो सोल्टा’ होस् वा ‘केस नम्बर ४२०’, ‘हाउडे’, ‘तीतो सत्य’, ‘चुप लाग’, ‘साथी हो’ जस्ता चर्चित र्याप उनले ल्याए । सिनेमा खेल्ने मौका पाए । रियालिटी सोको निर्णायक बने ।
गत वर्षको पुस १४ मा उनी लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेपछि भने उनको ‘करिअर’ मा धक्का लाग्यो । पोखराको न्युरोडबाट अरू तीन साथीसहित उनी समातिएका थिए । लागूऔषध दुर्व्यसनको अभियोगमा उनी ५६ दिन जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा बसे । फागुन ११ मा तारेखमा छुटे । उनै लाउरे अहिले लागूऔषधविरुद्धको अभियन्ता छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीले ‘लागूऔषधविरुद्धको सप्ताहव्यापी सचेतना कार्यक्रम’ मा उनलाई दूतका रूपमा प्रस्तुत गरेको छ । असार ६ देखि १२ सम्म सञ्चालन हुने अभियानमा उनी सहभागी हुनेछन् । असार ६ मा पोखरा सभागृह हलमा लागूऔषधसम्बन्धी सचेतना कार्यक्रममा उनले प्रस्तुति दिनेछन् । आफ्नो अनुभवसमेत सुनाउनेछन् ।
स्नातक तह पढ्दै गर्दा लागूऔषधको स्वाद लिने जिज्ञासा भयो । जिज्ञासु स्वभावले गलत बाटो लियो । झन्डै १० वर्षको बीचमा उनले लागूऔषध छोड्न चाहे तर सकेनन् । ‘मैले हरेकपल्ट ड्रग युज गर्दा अब छोड्छु भन्ने लाग्थ्यो,’ शुक्रबार पोखरामा उनले भने, ‘तर ड्रग खान उक्साउने संगतमा हुँदा छोड्न सकिँदैन रहेछ । खराब संगत छोड्नुपर्छ ।’
उनी गीत लेख्न जाग्राम बस्थे । दुर्व्यसनले सिर्जनशील बनिने भ्रम थियो । प्रहरीले पक्रिएर हिरासतमा राखेको सुरुआती दिन उनलाई निकै गाह्रो भयो । अन्य थुनुवा देखे । ‘ठूलो–ठूलो अपराधमा आएका छन् । ५–१० वर्ष कारागारमा जानेवालामा छन् । तर उनीहरू निष्फिक्री छन्,’ उनले सुनाए, ‘मेरो केस सानो हो भन्ने लाग्यो । त्यसले पनि मलाई कुलतबाट बाहिर निस्कन मद्दत गर्यो ।’ भित्रै उनले दुर्व्यसनबाट उम्केर गर्ने कामको सूची बनाए । तीमध्ये ८० प्रतिशत योजना पूरा गरिसकेको उनले बताए । कान्तिपुर दैनिकमा खबर छ ।
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया