NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

६७ जिल्लाको जिसस निर्वाचन सकियो, कसले कति जिते ?

जिल्ला समन्वय समितिका लागि शनिबारसम्म ६७ जिल्लामा नेतृत्व छानिएको छ । प्रदेश १ का उदयपुर, झापा र धनकुटा, मधेसका सिराहा, सप्तरी र रौतहट, गण्डकीका म्याग्दी र तनहुँ, कर्णालीको हुम्ला र सुदूरपश्चिमको बाजुरामा भने निर्वाचन हुन बाँकी छ ।

अहिलेसम्म कांग्रेसले ३१, एमालेले १७, माओवादीले १०, एकीकृत समाजवादीले चार तथा जसपा, लोसपा, जनमोर्चा र स्वतन्त्र उम्मेदवारले एक–एक जिल्लामा प्रमुख जितेका छन् । प्रमुखको तुलनामा कांग्रेस र एमालेले उपप्रमुख कम जितेका छन् भने माओवादी र एकीकृत समाजवादीले दोब्बर जितेका छन् । कांग्रेसले २२, एमालेले १३, माओवादीले २१, एकीकृत समाजवादीले आठ, लोसपाले दुई र एक स्वतन्त्रले उपप्रमुख जितेका छन् ।

सुदूरपश्चिमका नौमध्ये आठ जिल्लाको नेतृत्व चयन हुँदा एमालेले प्रमुख–उपप्रमुखमा खातासमेत खोल्न सकेको छैन । बाजुरामा भने निर्वाचन हुन बाँकी छ । एमाले विभाजन भएर बनेको एकीकृत समाजवादी पनि सुदूरपश्चिम र मधेसमा अहिलेसम्म प्रमुख–उपप्रमुखविहीन छ । त्यस्तै, जसपा प्रदेश १ र मधेस तथा लोसपा लुम्बिनी र मधेसबाहेकका प्रदेशमा निल छ ।

माओवादीले अहिलेसम्म प्रदेश १, मधेस र सुदूरपश्चिममा प्रमुखमा खाता खोल्न सकेको छैन । सुदूरपश्चिममा चार, प्रदेश १ मा तीन र मधेसमा एक जिल्लामा उपप्रमुख भने माओवादीले जितेको छ । एकीकृत समाजवादीले गण्डकी, लुम्बिनी र कर्णालीमा प्रमुख जित्न सकेको छैन । उसले तीनवटै प्रदेशमा उपप्रमुख भने एक–एक जितेको छ ।

कर्णालीमा प्रमुख र उपप्रमुखमा एक–एकजना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । दैलेख जिससको प्रमुखमा नवराज शाही र डोल्पाको उपप्रमुखमा तेजेन्द्र बुढा निर्वाचित भएका छन् । शाही एमालेको समर्थनमा र बुढा सत्तागठबन्धनको सहयोगमा निर्वाचित भएका हुन् । डोल्पामा गठबन्धनका तर्फबाट कांग्रेसका श्यामबहादुर रोकाया प्रमुखमा र दैलेखमा एमालेका केशवबहादुर शाही उपप्रमुख निर्वाचित भएका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष