NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

अग्निपथ योजनाको विरोधमा भारत बन्द

काठमाडौं । सेनामा भर्ती गर्ने अग्निपथ योजनाको विरोधमा सोमबार धेरै संगठनहरूले भारत बन्दको घोषणा गरेका छन् । बन्दको घोषणासँगै राज्यमा सुरक्षा व्यवस्था बढाइएको छ ।

रेलवे र अन्य सार्वजनिक प्रतिष्ठानको सुरक्षामा प्रहरी सतर्क छ । समाचार एजेन्सी एएनआईका अनुसार प्रदर्शनका कारण देशभरका ४९१ रेल प्रभावित भएका छन् । २२९ मेल एक्सप्रेस र २५४ यात्रु रेलहरु रद्द गरिएको छ । र आठ मेल एक्सप्रेस आंशिक रूपमा रद्द गरिएको छ ।

हावडा स्टेशन, हावडा ब्रिज, संत्रागाछी जंक्शन, शालिमार रेलवे स्टेशन र पश्चिम बंगालका अन्य ठाउँहरूमा सुरक्षा बढाइएको छ । सिलगढीमा पनि सुरक्षा बलहरू तैनाथ गरिएको छ । बन्द भनिए पनि विद्यालय तथा सार्वजनिक सवारीहरु चलिरहेका छन् ।

बिहारको राजधानी पटनाको डाक बंगला चौराहेमा सुरक्षा बल तैनाथ गरिएको छ । अग्निपथ योजनालाई लिएर यहाँ हिंसात्मक विरोध प्रदर्शन भएको थियो ।

अहिले बिहारका २० जिल्लामा इन्टरनेट सेवा अवरुद्ध भएको छ । भारत बन्दलाई लिएर पञ्जाबमा पनि अलर्ट जारी गरिएको छ । राज्यमा सरकारी कार्यालयहरू, सेना भर्ती केन्द्रहरू, सैन्य प्रतिष्ठानहरू र भाजपा नेताहरूको कार्यालयहरूमा सुरक्षा बढाइएको छ ।

लुधियाना रेलवे स्टेशनमा भएको हिंसापछि सुरक्षा व्यवस्था कडा पारिएको छ । ठाउँ ठाउँमा र्‍यापिड एक्सन फोर्स तैनाथ गरिएको छ । गत सोमबारदेखि विरोध प्रदर्शनमा संलग्न धेरै जना पक्राउ परेका छन् ।

भारतमा जुन १४ मा केन्द्रीय रक्षामन्त्री राजनाथ सिंहले अग्निपथ योजना घोषणा गरेका थिए । योजना घोषणा भएको भोलिपल्ट बुधबारदेखि युवाहरू विरोध प्रदर्शनमा उत्रिएका हुन् ।

योजनाअन्तर्गत साढे १७ वर्षदेखि २१ वर्षसम्मका युवाले छोटो अवधिका लागि सेनामा सेवा गर्ने अवसर पाउनेछन् । सेनामा भर्ना हुने युवाको सेवा अवधि ४ वर्षको हुनेछ । तर, कुल भर्तीको २५ प्रतिशतमात्रै नियमित सेवामा लगिनेछ ।

सेनामा भर्ती हुनका लागि शैक्षिक योग्यता १० वा १२ उत्तीर्ण भएको हुनुपर्ने, पहिलो वर्षको मासिक तलब ३० हजार र चौथो वर्षमा ४० हजार भारु हुने, चार वर्षको सेवा गरेपछि कार्यसम्पादन मूल्यांकन गरी उत्कृष्ट २५ प्रतिशतले मात्रै निरन्तर सेनामा सेवा गर्न पाउने नियम बनाइएको छ । बाँकी ७५ प्रतिशतले अवकासपछि पेन्सन पाउने छैनन् ।

भारतीय सेनाको जल, स्थल र वायु गरी तीन वटै अंगको जवान पदका लागि ल्याएको अग्निपथ योजनाअन्तर्गत करिब ४० हजार युवालाई ९० दिनभित्र छनोट गरी ६ महिनाको तालिम दिइनेछ । ‘अग्निपथ’ योजना अन्तर्गत भर्ना भएकालाई सेनालाई ‘अग्निवीर’ भनिनेछ ।

यस योजनाको विरोध भएपछि सरकारले उमेरको हदम्याद बढाएर २१ बाट २३ पुर्याएको छ । सेनाका तीनवटै मुख्य अधिकारीले भने सरकारी योजनाको स्वागत गरेका छन् ।

नरेन्द्र मोदी नेतृत्वको सरकारले ल्याएको यस योजनाको विपक्षी पार्टीले विरोध गरिरहेको छ ।

कोरोना महामारीका कारण भारतीय सेनामा दुई वर्षदेखि भर्ना प्रक्रिया रोकिएको छ । वर्षेनी ६० हजार जवान भर्ती हुँदै आएको सेनामा यसपटक लाखौं युवा भर्ना हुने समय कुरेर बसेको बेला सरकारले अकस्मात अग्निपथ योजना ल्याएपछि विरोध चर्किएको हो ।