NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ७ गते

प्रवासी नेपालीलाई मताधिकारका लागि मस्यौदा बनाउँदै आयोग

काठमाडौं । निर्वाचन आयोगले विदेशमा रहेका नेपालीलाई मताधिकार व्यवस्था गर्न ऐनको मस्यौदामाथि काम थालेको छ । कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले यस विषयमा आयोगलाई ध्यानाकर्षण गराउने क्रममा आयोगले यस्तो जानकारी दिएको हो ।

मंगलबार महामन्त्रीद्वय शर्मा र थापाले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई भेटेर यसबारे ध्यानाकर्षण गराएका थिए । जवाफमा प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोग यसप्रति सकारात्मक रहेको र ऐनको मस्यौदामा काम भइरहेको जानकारी गराएका थिए ।

महामन्त्री शर्माले प्रवासी नेपालीको मताधिकार सुनिश्चित गर्ने विषयमा आयोगबाट सकारात्मक जवाफ आएको बताए । उनले कांग्रेसले विगतमा उठाउँदै आएको मुद्दालाई निर्णयमा पुग्ने गरी छलफल थालेको बताए । उनले यसबारे प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि जानकारी गराएको र यसमा सकारात्मक रहेको जवाफ आएको सुनाए ।

‘विगतमा उठाउँदै आएको मुद्दा अलि गम्भीर रूपमा निर्णयमा पु¥याउने गरी छलफलमा जुटेका छौँ । प्रधानमन्त्रीले पनि यसलाई सकारात्मक रूपमा लिनुभएको छ,’ शर्माले भने, ‘प्रमुख निर्वाचन आयुक्तबाट पनि सकारात्मक जवाफ पाएका छौँ । आयोगले आन्तरिक रूपमा तयार भइरहेको कानुनलाई अघि बढाउन लागिएको जानकारी पायौँ ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगले सर्वोच्च अदालतको आदेशअनुसार ऐनको मस्यौदा तयार गरिरहेको भन्दै संसद्मा पेस गर्न र पास गर्ने वातावरण मिलाउन कांग्रेस नेतालाई आग्रह गरेका थिए । ‘प्रवासी नेपालीलाई मताधिकार व्यवस्थाका लागि कानुनी व्यवस्थामा सुधार गर्नुपर्छ । अब बन्ने कानुनमा आयोगले यी विषय समेटेर प्रस्ताव गर्छ,’ उनले भने, ‘सर्वोच्च अदालतले आयोग, सरकार र संसद्लाई आदेश गरेको हो । ऐन पारित गर्न दलहरूको राजनीतिक समझदारी आवश्यक पर्छ । संसद्मा राजनीतिक दलहरूसँग समझदारी गरी पेस गर्न र पास गर्ने वातावरण मिलाउनुपर्छ ।’

 

ताजा अपडेट

नेपालवाच विशेष