NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

आफ्ना बच्चालाई कुटपिट गर्ने आमा बुवालाई यी देशमा हुन्छ कारबाही !

काठमाडौं । हाम्रो देशमा धेरैपटक आमाबुवाले आफ्नो रिस बच्चामाथि पोख्छन् । आमाहरूले रिसाएको बेला चप्पल, झाडु, जे हातमा हुन्छ त्यसैले हान्छन् । धेरै रिसाए भने कुखुरा बनाएर हात खुट्टा बाँधेर वा चर्को घाममा घरबाट बाहिर राख्दिने गर्छन् । यसलाई हाम्रो समाजमा सामान्य जस्तै मानिन्छ तर विश्वका केही देशमा बालबालिकालाई यसरी कुटपिट गर्दा कानुन लाग्छ ।

बालबालिकालाई कुटपिट गर्दा उनीहरुको दिमागमा नकारात्मक असर पर्छ । यसकारण पनि विश्वका केही देशमा भने बालबालिकालाई कुटपिट गर्न कानुनी रुपमा नै प्रतिबन्ध लगाइएको छ ।

जसमध्ये ५२ देशमा बालबालिकामाथि हात उठाउनेलाई कडा कानुनी सजाय हुनेछ । सन् १९७९ मा सबैभन्दा पहिला बालबालिकालाई कुटपिट गर्न स्वीडेनले प्रतिबन्ध लगाएको हो ।

बेलायतमा भने आंशिक प्रतिबन्ध लगाइएको छ । त्यहाँ आमा बुवाले उचित कारण दिएर मात्रै बालबालिकामाथि हात उठाउन सक्छन् । अष्टेलियामा बच्चाको टाउको तथा गर्दनमा हान्न प्रतिबन्ध छ । यदि आमा बुवाले उनीहरुलाई टाउको वरपर हानेमा सजाय हुनेछ ।

क्यानडामा बच्चालाई अनुशासनमा राख्न हात उठाउन सकिन्छ तर यसमा केही प्रतिबन्ध लगाइएको छ । अनुशासनमा राख्न हात उठाउने आमा बुबा कानुनी रुपमा अभिभावक हुनुपर्ने त्यहाँको नियम छ । त्यस्तै आमा बुवाबाहेक अन्य कसैले बच्चालाई कुटपिट गर्न पाउने छैनन् । अर्थात्, विद्यालयका शिक्षक, हजुरआमा, काकी र काकाले कुनै पनि बच्चामाथि हात उठाउन सक्दैनन् । अर्कोतर्फ, आमाबुवाले पनि कारण देखाएर मात्रै बालबालिकालाई सजाय दिन सक्छन् । यसबाहेक बच्चालाई गम्भीर चोट लागेमा अभिभावकलाई कानुनी कारबाही गरिन्छ ।

फ्रान्समा बच्चालाई कुटपिट गर्न पूर्ण रुपमा प्रतिबन्ध छ । सन् २०१९ को नयाँ कानुनअनुसार आमा बुवाले आफ्ना छोराछोरीमाथि हात उठाउन पाउँदैनन् । उनीहरुले यो नियम उल्लंघन गरे भने कानुनी कारबाही हुन्छ ।

विद्यालयको मात्रै कुरा गर्ने हो भने ११७ देशमा शिक्षकले बच्चामाथि हात उठाउन पाउँदैनन् । जिम्बाब्वे र मोरक्कोलगायत २० वटा देशमा शिक्षक तथा अभिभावकमाथि कुनै प्रतिबन्ध लगाइएको छैन ।