NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ७ गते

दूध दिउन्जेल स्याहार, नदिए अत्याचार

बैतडी । बैतडीको पाटनमा यही असार दोस्रो हप्ता भिरालो जङ्गलमा रुखको जरामा बाँधेर राखिएको गाईको स्थानीय युवाले उद्धार गरे । जिल्ला समन्वय समितिका सदस्य करन कडायतले भीरमा गाई बाँधेको देखेपछि उद्धारको पहल भएको थियो ।उद्धारकर्ता लवदेव जोशीले उक्त दृश्यको वर्णन गर्दै भने, “बूढो गाई हत्केलाजस्तो भीरमा उभिएको थियो । गाईको आँखामा आँसु र कचेरा भरिएका थिए । खुट्टा कापिरहेका थिए । त्यो गाईको उद्धार गर्दा हाम्रा पनि आँखा रसाए ।”

भीरमा बूढो गाई लगेर राति कसैले बाँधेको हुनसक्ने जिल्ला समन्वय समिति बैतडीका सदस्य कडायतले बताए ।

दुहुनो हुन्जेल स्याहार गर्ने तर बूढो भएपछि यसरी अत्याचार गर्दै भीरमा बाँधेर छाडेको घटना सेलाउन नपाउँदै पाटन नगरपालिका क्षेत्रका सडकमा बुधबार फेरि अर्को घटना भएको छ । गाई र बाच्छीको घाँटीमा कार्टोनमा ब्यानर बनाएर “हाम्रो गोबर व्यवस्थापन गर, पाटन नगरपालिका मुर्दावाद” लेखेर छाडिएको छ । यसरी स्वार्थपूर्तिका लागि पशुलाई पशुवत् पनि व्यवहार नगर्ने प्रवृत्ति बैतडीमा बढ्दो छ । केही बजारीले नगरपालिकाको विरोध गर्दै कागजमा विरोधका नारा लेखेर गाईको घाँटीमा झुन्ड्याएको पाइएको पाटन नगरपालिकाका नगरप्रमुख गौरीसिंह रावलले बताए । नारा लेखेर गाईको घाँटीमा झुन्ड्याउनेको खोजी भइरहेको उनले बताए ।

पशुको पनि अधिकार भएकाले यस्ता दृश्यले मन पोलेको स्थानीय युवा लवदेव जोशी बताउँछन् । “गाई हाम्रो राष्ट्रिय जनावर मात्रै होइन, दूध दिने बेलासम्म आमाजस्तै राम्रोसँग हेरचाह गर्छौं तर बूढो भएपछि गाईमाथि यस्तो अत्याचार भइरहेको छ,” जोशीले भने । बूढो भएका गाई भीरमा मात्र होइन बजारमा पनि छाडिन्छन् । तिनका साथै बाच्छाबाच्छी पनि हुन्छन् । यसका अतिरिक्त केही पुरोहितले दानमा पाएका बाच्छी गाउँबाट ल्याएर बजारमा छोड्ने गरेको स्थानीय केशव खत्रीले बताए ।

“कन्यादान, वार्षिक पुण्यतिथि र श्राद्ध गर्दा बाच्छी दान दिने चलन छ,” खत्रीले भने, “पुरोहितले त्यस्ता बाच्छी पनि बजारमा ल्याएर छोड्ने गरेका छन् ।”

यो समस्या अहिलेको मात्र होइन । डेढ वर्षअघि पाटन नगरपालिकाले नै नगरमा छाडा छोडिएका ८० वटा बूढा गाई बैतडीबाट बझाङको सीमा कटाउन लगाएको थियो । नगरपालिकाले प्रतिगाई दुई हजार रुपियाँका दरले पैसा नै दिएर मजदुर खटाएर सीमा कटाउन लगाएको थियो तर मजदुरले ती गाई पुरचौडी नगरपालिकाको जङ्गलमा लगेर छोड्दा ११ गाई मरेको अवस्थामा भेटिएका थिए । स्थानीयले त ती गाई भीरबाट खसालिएका थिए ।

पुरचौडी नगरपालिका–६, भूमिराजको कुवाकोट–सुुइलेक सडक खण्डको सिगास सामुदायिक वनमा रहेको पानीको मुहानमा मरेका गाई फालिएको अवस्थामा भेटिएपछि स्थानीयले विरोध गरेका थिए । प्रहरीले एक जना मजदुरलाई पक्राउ गरेर मुद्दा पनि चलायो । जनप्रतिनिधिलाई प्रहरीले छलफलमा बोलाएर सचेत गराएको थियो ।

उक्त घटनापछि पाटन नगरपालिकाले नगरभित्र छाडा पशुचौपाया छाड्नेलाई जरिवाना गर्ने नियम बनायो तर बूढो गाई लगेर जङ्गलमा बाँध्नेदेखि गाईको घाँटीमा विरोधका नारा लेखेर पशुमाथि झन् अत्याचार बढेको छ । बैतडीको पाटनमै जिल्लास्तरीय भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको कार्यालय रहे पनि छाडा पशुचौपाया हेर्ने अधिकार नभएको कार्यालयका पशु विज्ञ गुमानीदत्त पन्त बताउँछन् । आजको गोरखापत्र दैनिकमा खबर छ ।

ताजा अपडेट

नेपालवाच विशेष