शिन्जो आबेको निधनमा भारतमा राष्ट्रिय शोक मनाउने

नयाँ दिल्ली । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार एक दिन राष्ट्रिय शोकको घोषणा गरेका छन् ।
आबेलाई सम्झिँदै मोदीले ट्वीटमा ‘मेरा एक प्रिय मित्र शिन्जो आबेको दुखद निधनले म स्तब्ध र दुःखी छु । उहाँ एक महान वैश्विक राजनीतिज्ञ, प्रतिभाशाली नेता र एक उल्लेखनीय प्रशासक हुनुहुन्थ्यो । उहाँले जापानलाई विश्वमा एक उत्कृष्ट राष्ट्र बनाउन आफ्नो जीवन समर्पित गर्नुभयो ।’
मोदीले आबेसँगको आफ्नो सम्बन्ध पुरानो भएको पनि बताएका छन् । उनले आफू गुजरातको मुख्यमन्त्री हुँदा देखि नै आबेसँग मित्रता भएको र विश्वव्यापी मामिलामा उनको बुझाइले आफूलाई गहिरो छाप छोडेको पनि बताएका छन् ।
आबेमाथि शुक्रबार देशको पश्चिमी भाग नारामा सडक भाषण दिइरहेका बेला बिहान ११ बजेतिर गोली प्रहार भएको थियो । उनको लिबरल डेमोक्रेटिक पार्टीले आबेलाई पछाडिबाट गोली हानिएको बताएको छ ।
गोली लागेपछि आबेलाई हृदयघात भएको बताइएको छ । जापान टाइम्सका अनुसार आबेको घाँटीमा गोली लागेको थियो र उनको छातीमा आन्तरिक रगत बगेको थियो ।
प्रहरीले ४१ वर्षीय संदिग्ध आक्रमणकारीलाई पक्राउ गरेको छ । शंकास्पद आक्रमणकारीलाई नाराको निशी प्रहरी चौकीमा लगिएको छ । जापानी मिडियाका अनुसार आक्रमणकारी सामुद्रिक सेल्फ डिफेन्स फोर्सका सदस्य हुन् ।
शिन्जो आबे जापानका पूर्व विदेशमन्त्री शिन्तारो आबेका छोरा हुन् । उनलाई जापानको राजनीतिमा राजकुमार भनिन्थ्यो । उनका हजुरबुवा नोबुसुके किशी जापानका प्रधानमन्त्री थिए । उनी जापानमा सबैभन्दा लामाे समय प्रधानमन्त्री हुने नेता हुन् ।
यसरी गोली प्रहार भएको थियो जापानका पूर्वप्रधानमन्त्री आबेमाथि [भिडियोसहित]
प्रतिक्रिया