NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २८ गते

मन्त्रीदेखि पालिका अध्यक्षसम्मले गरिबको परिचयपत्र पाए, गरिब भने छुटे

सरकारले पहिचान गरेका गरिबमा ठूलो संख्याका गरिब छुटेका छन् । तर, धनीले भने परिचयपत्र पाएका छन् । पहिचानमा भएको यो त्रुटिका कारण अधिकांश स्थानीय तहले त परिचयपत्र नै बाँडेनन् । सरकारले पहिचान गरेको गरिबमा गाउँपालिका अध्यक्षदेखि पूर्वमन्त्रीसम्म थिए ।

केही उदाहरण यस्ता छन्– ०५८ मा भूमिसुधार सहायकमन्त्री बनेका बाजुराका जनकराज गिरी र गोरखा चुमनुब्री गाउँपालिकाका पूर्वअध्यक्ष धनबहादुर गुरुङ गरिबको सूचीमा थिए ।

अछाम जयगढ गाउँपालिका– ५ का वडाध्यक्ष लाला कामीको नाम पनि गरिबको सूचीमा थियो । सुविधा र सहुलियतको लोभमा धनीलाई पनि गरिबमा सूचीकृत गरिएपछि विवाद नै भएको थियो । जसका कारण परिचयपत्र वितरण नै स्थगित भएको थियो । सहरमा घर भएका, सरकारी कर्मचारीसमेतको परिचयपत्र बनेको थियो । यस्ता त्रुटिका कारण तथ्यांक विश्वसनीय नभएको भन्दै स्थानीय तहहरूले कार्ड वितरण नै गरेनन् । केन्द्रको काम विवादित भएपछि मन्त्रालयले गरिब पहिचानदेखि परिचयपत्र वितरणसम्मको जिम्मेवारी स्थानीय तहलाई सुम्पिदिएको छ । ‘यसअघि सूचीकृत भएर परिचयपत्रको म्याद सकिएका, आम्दानीको फरकले आर्थिक अवस्थामा आएको बदलावलगायतलाई हेरेर गरिब पहिचान गर्ने र परिचयपत्र वितरण गर्ने जिम्मा स्थानीय तहलाई नै दिएका छौँ,’ उपसचिव झवीन्द्रप्रसाद पाण्डेले भने । यसका लागि एउटा प्रणाली नै बनाएर तथ्यांक सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गर्ने तयारी मन्त्रालयको छ ।