NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २८ गते
एनएसी आर्थिक हिनामिना प्रकरण

छानबिन समिति अध्यक्षलाई झलनाथको फोन, युवराजको प्रलोभन

काठमाडौं । नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले आर्थिक हिनामिनालगायतका आरोपमा आफूविरुद्ध जाँचबुझ गर्न गठित समितिका अध्यक्षलाई नै आर्थिक प्रलोभन दिएका छन् ।

अधिकारीविरुद्ध ५२ वटा आरोपबारे छानबिन गर्न मन्त्रिपरिषद्ले पर्यटन सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा समिति गठन गरेको थियो ।

समितिका अध्यक्ष न्यौपानेले आफूलाई अधिकारीले आर्थिक प्रलोभन दिनुका साथै पूर्वप्रधानमन्त्री झलनाथ खनालमार्फत छानबिन प्रतिवेदन रोक्न दबाबसमेत दिएको खुलासा कान्तिपुरसँग गरेका छन् । न्यौपानेको अध्यक्षतामा असार ६ मा जाँचबुझ तथा छानबिन समिति गठन गरेको थियो । ‘युवराजजीले जाँचबुझ प्रतिवेदन मन्त्रीसमक्ष पेस नगर्न मलाई आर्थिक अफर गर्नु भाथ्यो,’ न्यौपानेले भने, ‘पैसाको अफर मात्रै होइन, प्रतिवेदन रोक्न झलनाथ खनालबाट फोन गर्न लगाउनुभयो, अरू–अरू दबाब पनि दिनुभयो ।’

उनले कार्यकारी अध्यक्ष अधिकारीलाई जोगाउन पूर्वप्रधानमन्त्री खनालले फोन गरेर दबाब दिएको बताए । ‘तपाईं अब सचिवबाट रिटायर्ड हुने बेलामा पर्यटनमन्त्रीले भनेको किन मान्नुपर्‍यो भन्नुभयो,’ न्यौपानेले खनालको भनाइ उद्धृत गर्दै भने, ‘तपाईं जाने बेलामा युवराजमाथि गरिरहनुभएको अध्ययन प्रतिवेदन रोकिदिनुहोस् ।’ सचिव न्यौपानेका अनुसार बयान दिँदा रोएर गएका अधिकारीले नेता झलनाथबाहेक अरू थुप्रै स्रोतबाट पनि फोन गरेर दबाब दिएका थिए । इलामका अधिकारीलाई पर्यटनमन्त्री प्रेमबहादुर आलेले आठ महिनाअघि अर्को व्यक्ति महाप्रबन्धक भएकै बेला झलनाथ खनालको दबाबमा निगमको कार्यकारी अध्यक्ष नियुक्त गरेका थिए ।

कान्तिपुरलाई प्राप्त गोप्य प्रतिवेदनले चारवटा जहाज किन्दा ५० अर्ब ऋणमा डुबेको निगमको नेतृत्व गर्न अधिकारी असफल रहेको विवरण पेस गर्दै आर्थिक र नैतिक रूपमा पनि पतित व्यक्ति रहेको निष्कर्ष निकालेको छ । प्रतिवेदनले ‘नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षजस्तो सार्वजनिक पद धारण गरेको पदाधिकारीमा हुनुपर्ने उच्च व्यावसायिक चरित्र र पदअनुकूल आचरण नरहेको’ उल्लेख गरेको छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष