खेर गयो कोरोनाविरुद्धको डेढ लाख मात्रा खोप

काठमाडौं । कोरोना संक्रमण केही दिनयता उकालो लाग्ने क्रममा छ तर खोप कार्यक्रम सुस्त बन्दा करिब डेढ लाख मात्रा खोप खेर गएको छ । खोप अभियानमा आफैं सुस्ताएको सरकारले संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नगर्दा कोभिसिल्ड खोपको म्याद शनिबार सकिएको हो ।
स्वास्थ्य सेवा विभागको तथ्यांकअनुसार वाग्मती प्रदेशमा मात्र गत बुधबारसम्म एक लाख ४१ हजार एक सय २० मात्रा कोभिसिल्ड खोप थियो, बिहीबार र शुक्रबार ५६ हजार खोप लगाइएको विभागले जनाएको छ । बाँकी ८५ हजार एक सय २० मात्रा कोभिसिल्ड खोपको म्याद शनिबार सकिएको छ । बुधबारसम्मको तथ्यांकअनुसार प्रदेश १ मा ११ हजार, हेटौंडा कोल्ड चेन स्टोरमा ३६ हजार, टेकुको कोल्ड चेन स्टोरमा १९ हजार ४ सय ८० र गण्डकी प्रदेशमा २ हजार ५ सय ७० कोभिसिल्ड खोप मौज्दात रहेकामा सबैको म्याद शनिबारै सकिएको छ । बुधबारदेखि शुक्रबारसम्म तीमध्ये कति खोप लगाइयो भन्ने तथ्यांक विभागसँग छैन ।
नेपालले हालसम्म १ करोड ८३ लाख ८७ हजार ६ सय मात्रा खोप खरिद गरेको छ भने कोभ्याक्स र अनुदानबाट ४ करोड ५ लाख ४ हजार ३ सय ७० मात्रा प्राप्त गरेको छ । यसरी कुल ५ करोड ८८ लाख ९१ हजार ९ सय ७० मात्रा नेपाल आएकामा ४ करोड ८७ लाख १९ हजार १ सय ३७ मात्रा प्रयोग भइसकेको मन्त्रालयको तथ्यांक छ । कोभिसिल्डबाहेकका अन्य खोपको म्याद भने बाँकी नै छ । विभागले सबै प्रदेशको खोप मौज्दातको विवरण प्रदान गर्न सकेन ।
जिल्लाबाट विवरण नै आइनपुगेको विभागको भनाइ छ । विभागले उपलब्ध गराएको साउन ७ को तथ्यांकअनुसार सुदूरपश्चिमको बाजुरामा २ हजार ७ सय, कैलालीमा २ हजार २ सय ९०, कञ्चनपुरमा १ हजार ४ सय खोप मौज्दात छ ।
सुदूरपश्चिम प्रदेशमा कुल ८ हजार २ सय २० मात्रा खोप मौज्दात छ । कर्णालीको डोल्पामा १ हजार ९ सय ७०, सुर्खेतमा ९ हजार ७ सय ९०, कालीकोटमा १ हजार ५ सय ४०, जाजरकोटमा १ हजार २ सय, सल्यानमा ८ हजार ६ सय ७० खोप मौज्दात छ ।
स्वास्थ्य सेवा विभाग आपूर्ति शाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले करिब एक लाख खोप खेर गएको हुन सक्ने बताए । आपूर्ति शाखासँग कति खोप बाँकी छ र कति खोप लगाइयो भन्ने यकिन जानकारी नै छैन । प्रदेश स्वास्थ्य निर्देशनालयसँग पनि खोप कतिले लगाए भन्ने दैनिक विवरण छैन । अधिकृत थापाले खोप खपत कम भएका जिल्लाबाट अर्को जिल्लामा पठाउन आग्रह गरिने बताए । उनले भने, ‘हेटौंडामा खोप खपत भएको थिएन, अरू जिल्लामा पठाउनु भनेका थियौं तर अहिलेसम्म के गरे जानकारी आएको छैन ।’
पछिल्ला दिन कोभिड संक्रमणको जोखिम भने बढिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार दैनिक संक्रमण दर ११.८४ प्रतिशत देखिएको छ । गएको २४ घण्टामा १ हजार ८८ पीसीआर परीक्षणमा २ सय १६ जना र १ हजार ९ सय ८ एन्टिजेन परीक्षणमा १ सय १९ संक्रमित पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ । योसँगै हाल मुलुकभर सक्रिय संक्रमितको संख्या २ हजार ९ सय ७१ पुगेको छ । अघिल्लो साता संक्रमणका कारण दुई जनाको मृत्यु भएको थियो ।
२०७७ माघ १४ गतेबाट नेपालमा कोभिडको पहिलो मात्रा खोप लगाउन थालिएको थियो । हालसम्म कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० मध्ये ७२.२ प्रतिशतले पहिलो मात्रा र ७०.३ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् । १२ वर्षमाथिका २ करोड ३३ लाख २७ हजार ६ सय १९ मध्ये ९०.३ प्रतिशतले पहिलो मात्रा र ८८ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् । २०७९ जेठ २६ देखि १२–१७ वर्षकालाई खोप लगाउन थालिएको थियो । त्यसैगरी ५ देखि ११ वर्षसम्मका बालबालिकालाई २०७९ असार ९ देखि खोप दिन सुरु गरिएको थियो, जुन अहिले पनि सञ्चालनमा छ । सरकारले २०७८ माघ २ बाट अतिरिक्त मात्रा लगाउने निर्णय गरेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अतिरिक्त मात्रा लगाउने ७ लाख ४६ हजार ८ सय ८१ जना मात्रै छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया