NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

को हुन् बेलायती प्रधानमन्त्रीको दौडमा अगाडि रहेका ऋषि सुनक ?

काठमाडौं । बोरिस जोन्सनले पदबाट राजीनामा दिएपछि बेलायतमा नयाँ प्रधानमन्त्रीको खोजी सुरु भएको छ । यो दौडमा कन्जरभेटिम दलबाट ८ जना मैदानमा उत्रिएका थिए । त्यसमध्ये अहिले प्रतिस्पर्धामा ५ जना छन् जसमा भारतीय मूलका ऋषि सुनक सबैभन्दा अगाडि छन् ।

सुनक बोरिस जोन्सनको क्याबिनेटमा अर्थमन्त्री थिए। उनले प्रधानमन्त्री बनेपछि मुलुकको अर्थतन्त्रलाई मजबुत बनाउने वाचा गरेका छन् ।

सुनक सन् २०१५ देखि योर्कशायरको रिचमण्डबाट कन्जरभेटिभ सांसद निर्वाचित भएका थिए। उनी नर्थरटन शहर बाहिर कार्बी सिग्स्टनमा बस्छन् ।

उनी चिकित्सक बाबु र फर्मासिस्ट आमाका पुत्र हुन् । भारतीय मूलका उनका परिवारका सदस्य पूर्वी अफ्रिकाबाट बेलायत गएका थिए।

सुनकको जन्म ह्याम्पशायरको साउथह्यामटनमा सन् १९८० मा भएको थियो । उनले विशेष निजी विद्यालय विन्चेस्टर कलेजमा अध्ययन गरे। यसपछि उनी अक्सफोर्ड गए, जहाँ उनले दर्शन, राजनीति र अर्थशास्त्रको अध्ययन गरे।

उनले स्ट्यानफोर्ड विश्वविद्यालयमा एमबीए पनि पढेका छन्। राजनीतिमा प्रवेश गर्नुअघि उनले लगानी बैंक गोल्डम्यान साक्समा काम गरे र लगानी फर्म पनि स्थापना गरे।

सुनक भारतका प्रसिद्ध उद्योगपति र इन्फोसिस कम्पनीका संस्थापक एनआर नारायण मूर्तिका ज्वाइँ हुन्। उनले सन् २००९ मा अक्षता मूर्तिसँग विवाह गरेका थिए । ऋषि र अक्षताका दुई छोरी छन् ।

ऋषि सुनकले एसियाली पहिचान आफ्ना लागि महत्त्वपूर्ण रहेको बताएका छन् । उनले भनेका छन्, ‘म पहिलो पुस्ताको आप्रवासी हुँ, मेरो आफन्त यहाँ आएका थिए, त्यही पुस्ताका मानिसहरू यहाँ जन्मेका थिए, उनीहरूका आफन्त यहाँ जन्मिएका होइनन्, यही देशमा बस्न आएका थिए।’

सुनक बेलाबेला श्रीमतीका कारणले भने विवादमा पर्ने गरेका छन् । केही अघि उनकी श्रीमती कर मामिलामा मुछिएकी थिइन् । लकडाउन नियम उल्लङ्घनका कारण उनी जरिवाना तिर्न बाध्य भइन् । यसले सुनकको प्रतिष्ठामा चोट पुर्यायो।

सुनक बोरिस जोनसोनको क्याबिनेट छाड्ने पहिलो क्याबिनेट मन्त्री पनि हुन् ।

ताजा अपडेट

नेपालवाच विशेष