यस्तो छ गठबन्धनमा सिट बाँडफाँटको प्रस्ताव
सहमति नजुटे निश्चित क्षेत्रमा मात्र तालमेल

औपचारिक रूपमा सिट बाँडफाँडमा प्रवेश नगरे पनि सत्तागठबन्धनका शीर्ष नेताहरूले फरक–फरक प्रस्ताव ल्याएका छन् । अनौपचारिक छलफलमा सिट बाँडफाँडबारे कांग्रेस र गठबन्धनका अन्य शीर्ष नेताका भिन्दाभिन्दै प्रस्ताव आएका हुन् । कांग्रेसले आफ्नो पक्षमा बहुमत आउने गरी सिट बाँडफाँड प्रस्ताव गरेको छ । एक सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये आफूले ९५ सिट राखेर बाँकी ७० सिट गठबन्धनका अन्य दललाई दिने उसको प्रस्ताव छ । माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कांग्रेसबाहेकका चार दलले ८५ सिट पाउनुपर्ने अडान राखेका छन् ।
संघको बाँडफाँड टुंगिए त्यही अनुपातमा प्रदेशको सिट पनि बाँड्न सकिने नेताहरूको बुझाइ छ । शुक्रबार बस्ने गठबन्धनको बैठकमा तालमेलबारे औपचारिक निर्णय हुने र सिट बाँडफाँडबारे प्रारम्भिक छलफल हुन सक्ने नेताहरूले बताएका छन् । ०७४ को नतिजा र ०७९ को स्थानीय तह निर्वाचन परिणाम सिट बाँडफाँडको मुख्य आधार हुन सक्ने नेताहरू बताउँछन् । तालमेलमा सहमति जुट्न नसके गठबन्धनमा रहेका कांग्रेसबाहेकका दलहरूले प्रगतिशील मोर्चाको तयारी पनि गरिरहेका छन् । उनीहरूको ५० प्रतिशत सिट सुनिश्चित हुने गरी कांग्रेससँग छलफल गर्ने तयारी छ ।
सहमति नजुटे निश्चित क्षेत्रमा तालमेल
प्रगतिशील मोर्चामा सहभागी दलका तर्फबाट ५० प्रतिशत सिट सुनिश्चित हुने गरी कांग्रेससँग छलफल गर्ने तयारी गरिएको छ । त्यसमा सहमति नजुटे देशभर प्रगतिशील शक्तिबाट उम्मेदवार उठाउने र निश्चित क्षेत्रमा कांग्रेससँग तालमेल गरेर अगाडि बढ्ने विषयमा समेत छलफल भएको छ ।
‘केही ठाउँमा पाँचदलीय गठबन्धनको साझा उम्मेदवार हुने, कतिपय ठाउँमा कांग्रेसबाहेक गठबन्धनका अन्य दलको साझा उम्मेदवार हुने स्थिति पनि बन्न सक्छ,’ एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले भने । कांग्रेस वा प्रगतिशील मोर्चा बलियो भएको क्षेत्रमा मित्रवत् प्रतिस्पर्धा गर्ने र एमाले बलियो भएको क्षेत्रमा दोस्रो बलियो शक्तिलाई समर्थन गरेर अगाडि बढ्ने मोडालिटीमा पनि तालमेल हुन सक्ने नेताहरू बताउँछन् । त्यस्तो स्थितिमा सिट बाँडफाँडमा पनि सहज हुने र गठबन्धनका उम्मेदवारको जित पनि निश्चित हुने नेताहरूको बुझाइ छ ।
माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गठबन्धन कसरी गर्ने भन्ने विषयमा अब छलफल हुने बताए । ‘पाँच दलबीच गठबन्धनमै निर्वाचनमा जाने कुरा छ,’ उनले भने, ‘गठबन्धन गरेर जाने सहमति भइसकेपछि सिट बाँडफाँड मिलिहाल्छ ।’ नयाँ पत्रिका दैनिकमा खबर छ ।
प्रतिक्रिया