NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २० गते

४० वर्षभन्दा कम उमेरमै नीतिगत तहमा पुगेका छन् ३२ युवा

काठमाडौं । राज्यका हरेक अंगमा युवाको हस्तक्षेपकारी भूमिकाको आवश्यकतामाथि बहस जारी छ । क्षमता, योग्यता, ऊर्जा सबै हिसाबले तयार भए पनि युवाले उपयुक्त भूमिका पाउन नसकेको आमगुनासो छ । तर, देशको स्थायी सरकार निजामती सेवामा भने केही फरक हुँदै छ, ४० वर्षमुनिका मात्रै झन्डै तीन दर्जन युवा प्रशासन हाँक्ने सहसचिव तहमा पुगेका छन् । स्वाभाविक रूपमा उनीहरू भावी सचिवका दाबेदार हुन् ।

निजामती किताबखानाबाट प्राप्त विवरणअनुसार अहिले ४० वर्षभन्दा कम उमेरका ३२ युवा निजामती सेवाको राजपत्रांकित प्रथम श्रेणीमा कार्यरत छन् । निजामतीमा यो तह नीति निर्माणमा प्रत्यक्ष संलग्न हुनुका साथै प्रभाव पार्न सक्छ । सुस्त बढुवा प्रणालीबाहिर भिडेर थोरै संख्यामा भए पनि युवा नीतिगत तहमा पुगेका हुन् । राजनीतिक हस्तक्षेपलाई बेवास्ता गर्दै समग्र प्रशासनलाई नागरिकमैत्री र विश्वसनीय बनाउन मात्रै युवा प्रशासकले पहल गर्न सके सेवा–प्रवाह चुस्त बन्न सक्छ ।

निजामती सेवामा एक लाख ३० हजारको दरबन्दी छ, तर अहिले कार्यरत संख्या भने एक लाख १० हजार मात्रै छ । त्यसमध्ये सहसचिवको संख्या ६ सय ७० छ । बाग्लुङका गणेश पौडेलले गत जेठमा खुला प्रतिस्पर्धाबाट सहसचिवमा नाम निकाले । ३२ वर्षकै उमेरमा राजपत्रांकित प्रथम श्रेणीमा उक्लिन सफल उनी सम्भवतः सबैभन्दा कान्छो उमेरको सहसचिव हुन् । ०६९ मा रेन्जर (नासुसरह)बाट निजामती सेवा प्रवेश गरेका पौडेल १० वर्षमै सहसचिवमा छलाङ मार्न सफल भए । उनी ०७० मा शाखा अधिकृत र ०७७ मा उपसचिवमा बढुवा भएका थिए । बढुवा भएको अर्को वर्ष खुला प्रतिस्पर्धाबाट उनले सहसचिवमा नाम निकाले ।

३२ वर्षमै सहसचिव बन्न सफल अर्का युवा हुन्, पर्वतका प्रदीप परियार । उनले गत चैतमा सहसचिवमा नाम निकालेका हुन् । ०६९ मा नासुबाट निजामती सेवामा प्रवेश गरेका उनले ०७० मा शाखा अधिकृत पास गरेका थिए । त्यसको नौ वर्षपछि खुला प्रतिस्पर्धाबाट सहसचिव बने ।

आफूले लिएको लक्ष्य प्राप्तिका लागि निरन्तर लाग्ने र विषयवस्तुको गहिराइमा डुब्ने बानीका कारण सफलता मिलेको पौडेल सुनाउँछन् । परियार भने खुला प्रतिस्पर्धामा लड्न पाउने व्यवस्था, निरन्तरता, धैर्य र समर्पण नै आफ्नो सफलताको राज भएको बताउँछन् ।

लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीले युवा नेतृत्वपंक्तिमा पुग्नु देशका लागि पनि सकारात्मक भएको बताए । ‘युवामा भरपूर ऊर्जा र नयाँ सोच हुने भएकाले विद्यमान अवस्थामा सुधार ल्याउन सक्ने अपेक्षा गर्न सकिन्छ,’ उनले भने । तर, यसलाई सामान्यीकरण गरेर युवा मात्र राम्रो र उनीहरूले मात्र गर्न सक्छन्, पुराना पुस्ता खराब हुन् भन्ने कुराचाहिँ गलत भएको उनको भनाइ छ ।

खुला प्रतिस्पर्धासम्बन्धी व्यवस्था

खुला प्रतिस्पर्धात्मक व्यवस्थाले निजामती सेवामा छिटो वृत्ति विकासको अवसर दिएको छ । ऐनले विभिन्न श्रेणीमा खुला र आन्तरिक प्रतिस्पर्धामा लड्न पाउने व्यवस्था गरेको छ । त्यस्तै, निश्चित योग्यता र कार्यानुभव तोकेर आन्तरिक प्रतिस्पर्धामा भाग लिन पाउने व्यवस्था छ ।

निजामती सेवा ऐनको दफा ७ मा निजामती सेवाको पदपूर्तिसम्बन्धी व्यवस्था छ । त्यसमा निजामती सेवाका विभिन्न पदमा खुला प्रतिस्पर्धा र बढुवाबाट गर्ने पदपूर्तिको हिस्सासम्बन्धी व्यवस्था छ । जसअनुसार खरिदारमा ७० प्रतिशत, नासुमा ४० प्रतिशत, शाखा अधिकृतमा ७० प्रतिशत तथा उपसचिव र सहसचिवमा १०–१० प्रतिशत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने व्यवस्था छ । नयाँ पत्रिका दैनिकमा सुवास भट्टले खबर लेखेका छन् ।