NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २८ गते

यी हुन् उपत्यकामा डुबानको जोखिममा रहेका ठाउँ

काठमाडौं । उपत्यकाका ठूला नदी बागमती, विष्णुमती, धोबीखोला, मनोहरा मानिन्छन् । यी खोलामा बाढी आउँदा आसपासका क्षेत्र डुबानमा पर्छन् । पछिल्लो समय सुन्दरीजल वरिपरिका भूभागमा डुबानका जोखिम बढ्दै गएको छ । छोटो समयमा अत्यधिक वर्षा, जथाभावी प्लटिङ र उत्खनन, बढ्दो कंक्रिटका संरचनाका कारण हनुमन्तेलगायत बागमती, विष्णुमती, धोबीखोला र सुन्दरीजलवरिपरिका भूभागमा डुबानको जोखिम बढ्दै गएको छ । यी नदीआसपासका सबैजसो बस्ती डुबानको जोखिममा छन् । सहरी विकाससम्बन्धी जानकार किशोर थापाले कंक्रिट संरचनाको बढ्दो चाप, ढलको व्यवस्थापन पर्याप्त नहुनु र मौसम परिवर्तनका कारण केही वर्षयता वर्षाको प्रकृतिमा आएको परिवर्तनले बाढी र डुबानको जोखिम प्रत्येक वर्ष बढाउँदै लगेको बताए ।

मनोहरामा आएको बाढीका कारण पुरानो सिनामंगलस्थित मदरल्याण्ड अस्पताल क्षेत्र पनि डुबानमा पर्यो । त्यो क्षेत्रमा रहेका अन्य नौ घरभित्र पानी पस्यो । त्यस्तै, पेप्सीकोलापछाडि रहेको टाउनप्लानिङ क्षेत्रका बस्ती पनि बाढीले डुबानमा परेका छन् । बाढीले कागेश्वरी ानोहरा नगरपालिका ९ र काठमाडौं महानगरपालिका ३२ वडामा रहेका बस्तीमा बढी क्षति गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बग्ने खहरे खोला र मनोहरा खोलाले त्यस क्षेत्रमा क्षति पुर्याएको छ । यहाँ करिब एक सय सकुमुबासीका टहरा डुबानमा परेका छन् । काँडाघारीस्थित मनोहरा खोलाको पुलदेखि उत्तरतर्फ रहेको लाइसियम स्कुलअगाडिको खोलाको पर्खाल भत्किएको छ ।

त्यस्तै, मध्यपुर थिमी नगरपालिका क्षेत्रमा रहेको दिव्येश्वरी प्लानिङभित्र पनि बाढी पसेको छ । त्यस क्षेत्रका करिब दुई सय घरभित्र पानी पसेको स्थानीयको भनाइ छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।