NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

काठमाडौंका १० सिटमध्ये एमालेलाई एक सिट जित्न पनि कठिन, यस्तो छ मतान्तर

काठमाडौं । संघीय राजधानीसमेत रहेको काठमाडौंमा मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणामबारे जोडघटाउ सुरू भएको छ ।

सचेत मतदाता रहेको भनिएको काठमाडौंमा १० निर्वाचन क्षेत्र रहेको छ । अघिल्लोपटक एमालेसँग मिलेर एक सिट पनि जित्न नसकेको माओवादी योपटक कांग्रेसको बलमा चुनाव जित्ने दाउमा छ । अघिल्लोपटक एमालेले ६ र कांग्रेसले चार सिट जितेका थिए ।

यद्यपि गठबन्धन दलहरूबीच भागबण्डाको मापदण्डबारे सहमति भइसकेको छैन । गठबन्धन घटकमध्ये कांग्रेस, माओवादी र एकीकृत समाजवादीबीच काठमाडौंमा सिट बाँडफाँट हुने देखिन्छ ।

एमालेले चुनावी रणनीति तथा उम्मेदवार छनोटको मापदण्ड तय गर्नका लागि भदौ पहिलो साता पार्टीको तीनवटा महत्वपूर्ण बैठक बोलाएको छ । अघिल्लोपटक काठमाडौं ७ बाट निर्वाचित सांसद जीवनराम श्रेष्ठले एमाले परित्याग गरी एकीकृत समाजवादी रोजेका छन् । आगामी निर्वाचनमा पुरानै अनुहार दोहोर्याउने वा नयाँलाई प्राथमिकता दिने भन्नेमा एमालेले केन्द्रीय समिति बैठकबाट निर्णय लिनेछ ।

अघिल्लो निर्वाचनमा १० मध्ये कांग्रेसले १, ४, ६ र १० निर्वाचन क्षेत्र जितेको थियो । एमालेले २, ३, ५, ७, ८ र ९ जितेको थियो । त्यतिबेला वामपन्थी गठबन्धन र कांग्रेसबीच भएको चुनावी प्रतिस्पर्धामा माओवादीले एक सिट पनि जित्न सकेन । एमालेले ४ मा एक सिट गुमाएको थियो ।

एमाले र माओवादीबीच भागबण्डा हुँदा माओवादीको भागमा १, ६ र १० नम्बर क्षेत्र परेको थियो । यी तीनवटैमा माओवादी उम्मेदवार कांग्रेससँग पराजित भएका थिए । गठबन्धन दलमध्ये एक घटक रहेको माओवादी काठमाडौंमा निकै कमजोर रहेको देखिएको छ ।
योपटक स्वतन्त्रबाट उम्मेदवारी दिनेको लहरै चलेकाले काठमाडौंको चुनावी माहोल थप रोचक हुने देखिन्छ । २०७० मा जस्तै योपटक राप्रपाले समानुपातिक भोट राम्रै ल्याउने देखिन्छ ।

निर्वाचन आयोगको तथ्याङक अनुसार स्थानीय तहमा वडाअध्यक्षले पाएको मतको आधारमा गठबन्धन दल बलियो देखिएको छ । गठबन्धनलाई एमालेले पछ्याएको छ । यस हिसाबले आगामी निर्वाचनमा काठमाडौंमा कसले बाजी मार्ला भन्नेमा आ–आफ्ना व्याख्या विश्लेषण हुन थालेको छ ।

अघिल्लो निर्वाचन र स्थानीय तह निर्वाचनमा कसको कति मत छन् ?

काठमाडौं १

२०७४ को निर्वाचनमा काठमाडौं एकबाट कांग्रेसका उम्मेदवार प्रकाशमान सिंह १० हजार ९३६ मत ल्याइ विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रले १० हजार ११८ मत पाएका थिए । सिंहको मतान्तर ८१८ रहेको छ ।
सोही चुनावमा समानुपातिकतर्फ कांग्रेसले ९ हजार १२१, एमालेले ६ हजार ५०८, माओवादीले १ हजार ६८० विवेकशीलले ६ हजार ९११ मत पाएका थिए ।

स्थानीय तह योपटकको निर्वाचनमा यो क्षेत्रमा कांग्रेसले ९८९५, एमालेले ९५४१, राप्रपाले १३७६, माओवादीले ११५९ मत पाएका थिए । ११ हजार ५४ मत पाएको गठबन्धन एमालेभन्दा १५१३ मतले अगाडि छ ।

काठमाडौं २

अघिल्लो निर्वाचनमा एमालेका उम्मेदवार माधवकुमार नेपाल २७ हजार ३६६ मतसहित विजयी भएका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका दीपकप्रसाद कुँइकेलले १४ हजार ९०३ मत पाएका थिए । नेपालको मतान्तर १२ हजार ४६३ रहेको छ ।

समानुपातिकतर्फ कांग्रेसले १२ हजार ८३, एमालेले २० हजार ९९६, माओवादीले ४ हजार १४२ विवेकशीलले ८ हजार १९२ मत पाएका थिए ।
स्थानीय तहको यसपटकको निर्वाचनमा काठमाडौं २ बाट एमालेले १७३२८, कांग्रेसले १४१२८, एसले ७९११, राप्रपाले ७२००, माओवादीले ३१३१ मत पाएको थियो । यहाँ गठबन्धनको जम्मा मत २५ हजार १७० रहेको छ । गठबन्धनको मतान्तर ७ हजार ८४२ रहेको छ ।

काठमाडौं ३

काठमाडौं ३ बाट अघिल्लोपटक कृष्णबहादुर राई १९ हजार १६९ मत ल्याइ विजयी भएका थिए । उनका प्रतिद्वन्द्वी कांग्रेसकी अम्बिका बस्नेतले १४ हजार ८८४ पाएकी थिइन् । राईको मतान्तर ४ हजार २८५ रहेको छ ।

समानुपातितर्फ कांग्रेसले १२ हजार ८००, एमालेले १४ हजार ५०१, माओवादीले ३ हजार ११८ विवेकशीलले ४ हजार १८६ मत पाएका थिए ।
काठमाडौं ३ बाट स्थानीय तहको यसपटकको निर्वाचनमा कांग्रेसले १५७९५, एमालेले १४८७६, माओवादीले १७३०, राप्रपाले १३१४, एसले १०५६ पाएका थिए । गठबन्धनले जम्मा मत १८ हजार ५८८ मत पाउँदा एमालेसँग ३७१२ को मतान्तर रहेको छ ।

काठमाडौं ४

कांग्रेसका महामन्त्रीसमेत रहेका गगनकुमार थापा अघिल्लो निर्वाचनमा काठमाडौं ४ बाट २१ हजार ५५८ मत ल्याइ विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका राजन भट्टराईले १८ हजार १४० पाएका थिए । थापाको मतान्तर ३ हजार ४१८ रहेको छ ।

समानुपातिकतर्फ कांग्रेसले १५ हजार २८०, एमालेले १५ हजार ६२२, माओवादीले २ हजार ४०६, विवेकशीलले ६ हजार ८३० पाएका थिए ।
स्थानीय तह निर्वाचनमा यसपटक एमालेले १६५०७, कांग्रेसले १५७६३, एस २४१४, राप्रपाले २२९३, माओवादी ८४४, जसपा ३१७ मत पाएको थियो । गठबन्धन मत १९ हजार ३३८ रहेको छ । यहाँ एमालेसँग मतान्तर २८३१ रहेको छ ।

काठमाडौं ५

अघिल्लो पटक माओवादीको सहयोगमा काठमाडौं–५ बाट निर्वाचित भएका एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले २०७४ को निर्वाचनमा २३ हजार २९ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार डा. प्रकाशशरण महतले १३ हजार १६९ मत पाएका थिए । उनको मतान्तर ९ हजार ८६० रहेको छ ।

समानुपातिकमा कांग्रेस ११ हजार ८६६, एमाले १८ हजार १६१, माओवादीले १ हजार ९९२ विवेकशीलले ८ हजार ८८ गरी जम्मा मत ४४ हजार ३९४ पाएका छन् ।

स्थानीय तह निर्वाचनमा यसपटक काठमाडौं ५ बाट एमालेले १९७०३, कांग्रेसले १४८५३, राप्रपाले २८२२, एसले १८२७, माओवादीले ११६८, जसपाले ५८ मत पाएका छन् । गठबन्धनको जम्मा मत १७ हजार ९०६ रहेको छ । यो क्षेत्रमा गठबन्धन १७९७ मतले पछाडि छ ।

काठमाडौं ६

अघिल्लो निर्वाचनमा काठमाडौं ६ बाट कांग्रेसका नेता तथा पूर्वमन्त्री भीमसेनदास प्रधान १६ हजार ७८५ मतसहित विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका झक्कुप्रसाद सुवेदीले १५ हजार ४८५ मत पाएका थिए । प्रधानको मतान्तर १ हजार ३०० रहेको थियो ।

समानुपातिकतर्फ कांग्रेसले ११ हजार ४८८, एमालेले १४ हजार ३१, माओवादीले ३ हजार ६४४ विवेकशील ५ हजार ६२ मत पाएका थिए ।
स्थानीय तह निर्वाचनमा यसपटक काठमाडौं ६ बाट कांग्रेसले १७२७७, एमालेले १४३०३, माओवादीले २४६२, एसले १८५९, राप्रपाले १८१६ मत पाएका छन् । गठबन्धनले २१ हजार ५९८ मत पाएको छ । गठबन्धन ७२९५ मतले अगाडि छ ।

काठमाडौं ७

२०७४ मा काठमाडौं ७ बाट एमालेका रामवीर मानन्धर १८ हजार १०२ मत ल्याइ विजयी भएका थिए । उनको प्रतिस्पर्धी राप्रपाका विक्रमबहादुर थापाले १० हजार ७९ पाएका थिए । मानन्धरको मतान्तर ८ हजार २३ रहेको छ ।

समानुपातिक कांग्रेसले ९ हजार ६२२, एमालेले १२ हजार ३९१, माओवादीले २ हजार ९८२, विवेकशीलले ५ हजार ७२४ मत ल्याएका थिए । जम्मा मत ३६ हजार ७६८ मत आएको थियो ।

स्थानीय तह निर्वाचनमा यसपटक काठमाडौं ७ मा वडाध्यक्षतर्फ कांग्रेसले १४१६७, एमालेले १२२०२, एसले ३८३९, राप्रपाले २०२७, माओवादीले ५७६, जसपाले १६२ पाएका थिए । गठबन्धनको जम्मा मत १८ हजार ७४४ रहेको छ । यहाँ गठबन्धनको मतान्तर ६ हजार ५४२ रहेको छ ।

काठमाडौं ८

अघिल्लो पटक जीवनराम श्रेष्ठ एमालेबाट काठमाडौं ८ मा १३ हजार ३९७ मत ल्याइ विजयी भएका थिए । कांग्रेसका उम्मेदवार नवीन्द्रराज जोशीले १२ हजार ९५३ मत पाएका थिए । श्रेष्ठको मतान्तर ४४४ रहेको छ ।

समानुपातिकमा कांग्रेसले ९ हजार २००, एमालेले १० हजार ४२८, माओवादीले १ हजार ७९, विवेकशील साझाले ५ हजार ७२५ मत ल्याएको थियो । जम्मा मत ३१ हजार ६२५ मत पाएको छ ।

स्थानीय तह निर्वाचनमा यसपटक काठमाडौं ८ वडाध्यक्षतर्फ कांग्रेसले १०८७२, एमालेले ९२५३, एसले ५१४२, राप्रपाले ३१६०, माओवादीले १८९ मत पाएको छ । गठबन्धनको जम्मा मत १६ हजार २०३ रहेको छ । गठबन्धन ६ हजार ९५० ले अगाडि छ ।

काठमाडौं ९

काठमाडौं ९ मा अघिल्लो निर्वाचनमा एमालेका कृष्णगोपाल श्रेष्ठ २२ हजार ८५२ मत ल्याइ विजयी भएका थिए । उनको प्रतिद्वन्द्वी कांग्रेसका ध्यानगोविन्द रञ्जितले १४ हजार ८०२ मत पाएका थिए । श्रेष्ठको मतान्तर ८ हजार ५० रहेको छ ।

समानुपातिकतर्फ कांग्रेसले १२ हजार ४८६, एमालेले १७ हजार ५५१, माओवादीले २ हजार ६२३, विवेकशीलले ६ हजार ७९६ मत पाएका थिए । जम्मा मत ४४ हजार २५० थियो ।

स्थानीय तह निर्वाचनमा यसपटक काठमाडौं ९ का वडाध्यक्षतर्फ कांग्रेसले १९९१६, एमालेले १९२८२, राप्रपाले २४०१, माओवादीले ६९५, एसले ४६५ मत ल्याएका छन् । गठबन्धनको जम्मा मत २१ हजार ७६ रहेको छ । गठबन्धन १७९४ मतले अगाडि रहेको छ ।

काठमाडौं १०

अघिल्लो निर्वाचनमा काठमाडौं १० बाट कांग्रेसका नेता राजेन्द्रकुमार केसी २४ हजार १९० मतसहित विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका हितमान शाक्यले २१ हजार ९०७ मत पाएका थिए । केसीको मतान्तर २ हजार २८३ रहेको थियो । त्यसअघि २०७० मा केसी माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फराकिलो मतान्तरले हराएर चर्चामा आएका थिए ।

समानुपातिकतर्फ कांग्रेसले १८ हजार १४८, एमालेले १७ हजार ६०७, माओवादीले ७ हजार ७६६, विवेकशील ४ हजार २९१ मत ल्याएका थिए । जम्मा सदर मत ५१ हजार ९३६ थियो ।

स्थानीय तह निर्वाचनमा यसपटक काठमाडौं १० बाट कांग्रेसले २४६७५, एमालेले १८८३८, माओवादीले ४९४२, राप्रपाले २४९६, एसले १३४२ मत पाएका थिए । गठबन्धनको जम्मा मत ३० हजार ९५९ आएको छ । यो क्षेत्रमा गठबन्धन १२ हजार १२१ मतले अगाडि रहेको छ ।

आगामी निर्वाचन परिणाम कस्तो आउला ?

आयोगका तथ्याङक अनुसार एमाले काठमाडौं ५ मा मात्र झिनो मतले सुरक्षित देखिएको छ । अन्य ९ क्षेत्रमा गठबन्धन बलियो देखिएको छ । आगामी निर्वाचनमा परम्परागत राजनीतिक दलका उम्मेदवारविरुद्ध स्वतन्त्रले पनि उम्मेदवारी दिने तयारी गरेकाले चुनावी परिणाम फरक पर्न सक्छ । स्थानीय तहको निर्वाचन परिणाम र प्रतिनिधिसभा निर्वाचन फरक पर्ने हुँदा स्थानीय चुनावी परिणाम मापनका आधार भएपनि जितहारको बलियो आधार नहुन सक्छ ।

त्यस्तै दलहरूको चुनावी एजेण्डा, उठाएको उम्मेदवार र थप भएका नयाँ मतदाताको मनोविज्ञानलेसमेत परिणामलाई फरक पार्न सक्छ । अघिल्लो पटक विवेकशील साझाले सबै क्षेत्रमा राम्रो मत पाएको थियो । त्यो मत योपटक स्वतन्त्र उम्मेदवारलाई जान सक्ने देखिन्छ । काठमाडौंका मतदाताहरू पुरानालाई निरन्तरता दिनेभन्दा विकल्पमा रुचि राख्छन् । त्यसको प्रत्यक्ष असर पुराना राजनीतिक दलका उम्मेदवारलाई पर्न सक्छ । यसैले फेरिएको समीकरणमा देशको राजधानी सहर काठमाडौंको चुनावी परिणाम यसपटक रोचक हुन सक्ने देखिएको छ ।