NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

युक्रेनी राष्ट्रपतिले राष्ट्रसङ्घीय महासचिव र टर्कीका राष्ट्रपतिलाई भेट्ने

किभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलिन्स्किीले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेस र टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानसँग भेटवार्ता गर्ने भएका छन् ।

उनले यसै हप्ता उनीहरूसँग भेटवार्ता गर्न लाग्नुभएको कुरा महासचिव गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकलाई उद्धृत गर्दै युक्रेनी समाचार समितिले जानकारी दिएको हो ।

सो भेटवार्ता युक्रेनमा नै हुने भएको छ । समाचारमा जनाइएअनुसार सो भेट युक्रेनको पश्चिमी शहर एलभिवमा हुन लागेको हो । बिहीबार हुन लागेको सो भेटवार्ताको एजेण्डाका बारेमा भने केही जानकारी दिइएको छैन । त्यसपछि शुक्रबार राष्ट्रसङ्घीय महासचिव गुटर्रेसले युक्रेनको दक्षिणी ओडेसा शहरको बन्दरगाह भ्रमण गर्नुहुने पनि बताइएको छ ।

यही जुलाई २२ मा संयुक्त राष्ट्रसङ्घको समेत उपस्थितिमा सो बन्दरगाहबाट युक्रेनका र अन्य देशबाट आएका खाद्यान्न निकासी गर्न दिने बारेमा युक्रेनले हस्ताक्षर गरेको थियो ।

सो सम्झौता अगष्ट १ देखि कार्यान्वयनमा आएको छ र त्यसयता उक्त बन्दरगाहबाट मात्र पाँच लाख ६३ हजार मेट्रिक टन खाद्यान्न निर्यात पनि भएको छ ।

युक्रेनमा रुसी हमलापछि यहाँको आर्थिक तथा अन्य अवस्था कमजोर बन्दै गएको छ । अहिले पनि विभिन्न स्थानमा रुसको हमला जारी छ । रुस र युक्रेनबीच जारी तनावको स्थानीय समाधान निकाल्न सकिएको छैन ।