NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

कांग्रेसका १३ पदाधिकारी सबैलाई टिकट पाउनै मुस्किल, को–को छन् ‘ग्रीन’ र ‘रेड जोन’मा ?

काठमाडौं । ‘फेरि प्रस्ट्याउँ–वाग्मतीको किनारलाई श्रद्धापुर्वक ढोग्ने हो । तर मान्छे म मेची र निन्दा किनारकै हो ! काठमाडौ ५ मा चुनाव प्रचारमा पुग्ने छुनै । तर उम्मेदवार बन्न चाहँदा गठबन्धनका अर्का मित्रलाई सम्मानसाथ साथमा लिएर, झापामै उम्मेदवार बन्नेछु । प्रेम उता घरजम यता कुरै हुन्न ।’

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको बुधबार बिहानको यो ट्वीटमा प्रभावशाली भएर पनि टिकट पाउन कति गाह्रो छ भन्ने संकेत छ । हुन पनि शर्मा महामन्त्री जितेका प्रभावशाली नेता हुन् । तर सत्ता गठबन्धनले मिलेर चुनाव लड्ने तयारी गरेपछि कांग्रेसका प्रभावशालीलाई नै यसपटक प्रतिनिधिसभामा टिकट पाउन मुस्किल देखिएको छ । सत्ता गठबन्धनबीच अघिल्लोपटक जुन दलले जितेको हो सोही दलले पुरानो ठाउँ लिने सैद्धान्तिक सहमतिले कांग्रेसमा पदाधिकारी र प्रभावशाली नै परम्परागत ठाउँबाट टिकट पाउन मुस्किल देखिएको हो । कति आन्तरिक प्रतिस्पर्धाकै कारण टिकट पाउनबाट विमुख हुन सक्ने जाेखिममा छन् ।

पदाधिकारीमा सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, सहमहामन्त्रीहरू उमाकान्त चौधरी, भीष्मराज आङदेम्बे, महेन्द्र यादव र किशोरसिंह राठोरलाई टिकट पाउन मुस्किल हुने देखिएको छैन । तर उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री महालक्ष्मी उपाध्यक्ष डिना, फरमुल्लाह मन्सुर, बद्रि पाण्डे र जीवन परियारलाई भने टिकट पाउन मुस्किल देखिएको छ ।

किनकी गठबन्धन दलको पनि यी नेताको क्षेत्रमा दाबी रहने र आन्तरिक प्रतिस्पर्धा पनि भएकोले प्रभावशालीलाई नै टिकट पाउन सकस पर्ने देखिएको हो ।

कसलाई सहज ? कसलाई अप्ठ्यारो ?

शेरबहादुर देउवा

पदाधिकारीमा सभापति शेरबहादुर देउवा फेरि पनि डडेल्धुराबाट उठ्दैछन् । २०४८ यताका सबै चुनाव जित्दै आएका उनलाई टक्कर दिने कोही पनि छैनन् । अर्थात् उनको टिकट सुरक्षित छ । धावा बोल्ने कोही पनि छैन ।  उनका अघिल्लाेपटकका माओवादी प्रतिस्पर्धी खगराज भट्टले नै देउवा निर्विकल्प भएकाे बताइसकेका छन् । पाँचपटक प्रधानमन्त्री बनिसकेका देउवा सत्ता गठबन्धनको बलमा चुनाव जितेर फेरि प्रधानमन्त्री बन्ने दाउमा छन् ।

पूर्णबहादुर खड्का

उपसभापति पूर्णबहादुर खड्का सुर्खेतबाट चुनाव लड्दै आएका छन् । २०७४ सालमा भने उनी सुर्खेत १ एमाले उम्मेवार ध्रुवकुमार शाहीसँग ३३८२ मतान्तरले पराजित भए । यसपटक एमालेसँगै सत्ता गठबन्धनको प्रतिस्पर्धा हुने भएपछि खड्काको टिकट सोही क्षेत्रबाट सुरक्षित हुने देखिन्छ ।

धनराज गुरुङ

उपसभापति धनराज गुरुङलाई भने फेरि पनि टिकट पाउन गाह्रो देखिएको छ । यो क्षेत्रबाट गोपालमान श्रेष्ठ अघिल्लोपटक उठेर एमालेकी पद्या अर्यालसँग ३७०७ मतले पराजित भएका थिए । राजनीतिक उत्तरार्धतिर रहेका श्रेष्ठ यसपटक आफैं उठ्ने दाउमा छन् । यसैले स्याङजाबाट टिकट पाउन गुरुङलाई गाह्रो पर्ने देखिएको छ । यद्यपी उपसभापतिमा जितेका गुरुङलाई टिकट नदिएर श्रेष्ठलाई दिन पनि सहज छैन ।

गुरुङ २०६४ र २०७० सालमा लगातार समानुपातिक सांसद बनेका थिए । तर सधैं समानुपातिकमा बसेर सांसद बनेको दाग लगाउन उनी यसपटक चाँहदैनन् । यसैले उनले चुनाव लड्ने इच्छा देखाएका छन् । तर गोपालमानलाई रोकेमात्रै उनले सोही क्षेत्रबाट टिकट पाउने देखिएको छ । श्रेष्ठ समानुपातिकमा बस्न तयार भए गुरुङलाई टिकट पाउन सहज देखिन्छ ।

स्याङजा १ बाट अघिल्लोपटक एमालेका नारायणप्रसाद मरासिनीले कांग्रेसका राजु थापालाई पराजित गरेका थिए । यसैले २ मा श्रेष्ठ उठ्दा मात्रै धनराजलाई सहज छैन । राजु थापाको प्रभावलाई रोकेर उम्मेदवार बन्नुपर्नेछ । साथै प्रतिनिधिसभाका सदस्य मोहन पाण्डे र प्रदेशसभाका सदस्य भागवत मल्ल पनि गुरुङका लागि चुनौती हुन् ।

गगन थापा

गगन थापाले २०७४ सालमा काठमाडौं ४ बाट जितेका थिए । एमालेका राजन भट्टराईलाई थापाले २४१८ मतान्तरले पराजित गरेका थिए । अघिल्लोपटक जितेको र एमाले नै मुख्य प्रतिस्पर्धी भएकोले थापालाई यो क्षेत्रबाट टिकट पाउन कठिन छैन । थापा २०६४ मा समानुपातिक सांसद थिए । तर त्यसयताका तीनवटा चुनाव यही क्षेत्रबाट लगातार जित्दै आएका छन् ।

विश्वप्रकाश शर्मा

अर्का महामन्त्री एवं युवा नेता विश्वप्रकाश शर्मालाई भने टिकटको सबैभन्दा बढी दबाब छ । उनकै ट्वीटले पनि टिकटमा समस्या छ भन्ने देखाउँछ । लोकप्रिय युवा नेता भइकन पनि शर्मा अहिलेसम्म सांसद बन्न सकेका छैनन् । त्यसैले एकपटक चुनाव जितेर यो दाग पखाल्ने दाउमा शर्मा छन् । टिकट पाउदा पनि उनी पराजित भएका छन् । यसैले सत्ता गबन्धन मिलेर चुनाव लड्दै गर्दा शर्मा यसपटक टिकट गुमाउन चाहँदैनन् ।

आफ्नो परम्परागत क्षेत्र झापा १ बाटै चुनाव लड्ने तयारीमा उनी छन् । तर एमालेसँग मिल्दा अघिल्लोपटक यो क्षेत्रबाट माओवादीका राम कार्की निर्वाचित भएका थिए । यसैले यो क्षेत्रमा कार्कीको दाबी स्वभाविक देखिन्छ । सत्ता गठबन्धन दलबीच अघिल्लोपटक जितेका ठाउँमा सोही दलले उम्मेदवार उठाउने र एमाले जितेका ठाउँमा मात्रै भागबण्डा गर्ने भन्ने सैद्धान्तिक सहमति छ । तर यो सहमतिले शर्मालाई टिकट पाउन गाह्रो पर्ने देखिएको छ । उनले ट्वीटमा ‘प्रेम उता घरजम यता हुन सक्दैन’ भन्दै झापालाई प्रतिष्ठाको विषय बनाएका छन् । तर झापा १ नै भनेका छैनन् । झापाको अन्य क्षेत्रबाट पनि लड्न सक्ने आशय उनको देखिन्छ ।

फरमुल्लाह मन्सुर

सहमहान्त्री फरमुल्लाह मन्सुर २०७४ सालमा बारा ३ बाट उम्मेदवार बनेका थिए । तर उनी तेस्रो भएर पराजित हुन पुगे । संघीय समाजवादी फोरमका रामबाबुकुमार यादव २१३३६ मत ल्याएर विजयी भएका थिए । एमालेका अदयानन्द पाण्डे १६३६२ मत ल्याएर दोस्रो भएका थिए । त्यसपछि मात्रै मन्सुरले १६०८६ मत ल्याएका थिए ।

यसैले मन्सुरलाई पनि योपटक टिकट पाउन कठिन छ । फोरम पनि सत्ता गठबन्धनमा भएकोले यसपटक मन्सुरलाई टिकट पाउन कठिन भएको हो ।

उमाकान्त चौधरी

बारा १ बाट २४२० मतान्तरले विजयी हुँदा उमाकान्त चौधरीले एमालेका अच्युतप्रसाद मैनालीलाई पराजित गरेका थिए । यसैले यसपटक यो क्षेत्रबाट टिकट पाउँन उनलाई गाह्रो पर्ने देखिंदैन । कांग्रेसमा कृष्णप्रसाद सिटौलानजिक पनि भएकोले यसपटक उनलाई टिकट पाउन झनै सहज छ । किनकी सिटौला स्वयं टिकट टुंग्याउने कार्यदलको संयोजक छन् ।

महालक्ष्मी उपाध्यक्ष डिना

सत्ता गठबन्धनबीचको सकस र आन्तरिक प्रतिस्पर्धाले सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनालाई पनि सहजै टिकट पाउन यसपटक कठिन छ ।

अघिल्लोपटक उनी तत्कालीन एमालेका विरोध खतिवडासँग मकवानपुर २ बाट १२३९१ मतान्तरले पराजित भएकी थिइन् । यसपटक खतिवडा एमाले विभाजन भएपछि माधव नेपाल नेतृत्वकाे नेकपा एकीकृत समाजवादीमा छन् । मकवानपुरको अर्को सिटमा कांग्रेसका इन्द्र बानियाँ र अर्कोमा खतिवडा उठे डिनालाई टिकट पाउन कठिन पर्न सक्ने देखिएको छ । मुख्यमन्त्री पाउने आशामा बानियाँले फेरि पनि प्रदेश रोज्दा भने डिनाले सहजै टिकट पाउने देखिन्छ । तालमेलमा माओवादीले मकवानपुरका दुईमध्ये एक सिट खोजे अर्को समस्या आउनेछ। उनी आफैंले यसपटक मकवानपुर २ बाट चुनाव उठ्ने बताइन् ।

‘१ मा यसपटक विरोध खतिवडा नै उठ्ने भएपछि २ मा म स्वभाविक दाबेदार हुँ’ डिनाले भनिन्, ‘इन्द्र बानियाँजी फेरि प्रदेशमै उठेर मुख्यमन्त्री बन्ने भन्ने छ ।’ बानियाँले पनि मुख्यमन्त्री बन्न पाउने समझदारीमा संघमा दाबेदारी नगर्ने बुझिएको छ ।

डिना र बानियाँ दुवै सभापति शेरबहादुर देउवाका विश्वासिला नेता हुन् । पहुँच र शक्तिशाली भए पनि डिना राजनीतिक रुपमा सिनियर नेता हुन् । देउवाले विश्वास गर्ने नेतामध्येमा डिना पनि पर्छिन् ।

भीष्मराज आङदेम्बे

पाँचथरबाट अघिल्लो चुनावमा एमालेका वसन्तकुमार नेम्वाङसँग आङदेम्बे १०६१६ मतले पराजित भएका थिए । अघिल्लोपटक एमालेसँग पराजित भएका उनलाई यसपटक टिकट पाउन धेरै कठिनाई छैन ।

महेन्द्र यादव

यादव २०७४ मा एमालेका रघुवीर महासेठसँग धनुषा ४ बाट २५४१ मतले पराजित भएका थिए । महासेठ अहिले एमाले सचिव छन् । यसैले देउवा निकटका यादवलाई टिकट पाउन सहज छ ।

किशोरसिंह राठोर

किशोरसिंह राठोर अघिल्लोपटक खस आर्यबाट समानुपातिक सांसद भएका थिए । देउवा निकटका उनी १४ औं महाधिवेशनबाट सहमहामन्त्री पनि जित्न सफल भए । देउवाका विश्वासिला उनले यसपटक बर्दियाँबाट नपाए बाँकेबाट टिकट पाउनेछन् ।

बद्रि पाण्डे

२०७० सालमा बद्रि पाण्डे समानुपातिक सांसद बनेका थिए । २०७४ को चुनावपछि राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका थिए । उनलाई जिल्लाकै अर्का गुटका नेता कविराज पण्डितको चुनौती छ । कविराज अघिल्लोपटक एमाले उम्मेदवारसँग पराजित भएका थिए । तर फेरि पनि उनलाई संस्थापन देउवा निकट हुनुको फाइदा छ । तर अघिल्लोपटक एमाले उम्मेदवार लालबहादुर थापासँग ४८८४ मतले पराजित भएको, पाण्डे महाधिवेशनबाट सहमहामन्त्रीमा जितेकोले पनि सहजै टिकटमा दाबी गर्न पण्डितलाई पक्कै सहज हुनेछैन ।

जीवन परियार

अघिल्लो प्रदेशसभा निर्वाचनमा जीवन परियार पराजित भएका थिए । कास्की १ को कबाट उनी माओवादीका दीपक कोइरालासँग पराजित भएका थिए । तर यसपटक परियारले प्रतिनिधिसभामा जाने तयारी गरेका छन् । प्रतिनिधिसभाको १ क्षेत्रमा अघिल्लोपटक पराजित यज्ञबहादुर थापा चुनौतीका रुपमा छन् । पुराना नेता तारानाथ रानाभाटले समेत यसपटक दाबेदार गरे परियारलाई टिकट पाउन कठिन हुन सक्छ । तर पदाधिकारीमा जितेको र डा. शेखर कोइराला पक्षका विश्वासिला र इमान्दार नेता भएकोले परियारलाई टिकट दिनबाट बञ्चित गर्न यसपटक सहज छैन ।

प्रेम उता घरजम यता हुँदैन भन्दै विश्वप्रकाशले घोषणा गरे निर्वाचनमा उठ्ने क्षेत्र

२३ सिट जित्ने कांग्रेसका अधिकांश उम्मेदवार औसत, हार्नेहरू प्रभावशाली, जित्ने र हार्ने को–को ?

काठमाडौंका १० सिटमध्ये एमालेलाई एक सिट जित्न पनि कठिन, यस्तो छ मतान्तर

ताजा अपडेट

नेपालवाच विशेष