डेढ महिनामा उपत्यकामा पाँच सय ७९ जनालाई डेंगु

काठमाडौं । उपत्यकामा डेंगु भयावह बनिरहेको छ । काठमाडौं, ललितपुर र भक्तपुरमा डेढ महिनामा पाँच सय ७९ जनामा डेंगु पुष्टि भएको छ । सबैभन्दा धेरै ललितपुरमा तीन सय ३४५, काठमाडौंमा दुई सय २९, र भक्तपुरमा पाँचजनामा डेंगु संक्रमण भएको हो ।
यस वर्ष उपत्यकामा पहिलोपटक ९ असारमा ललितपुरमा डेंगु देखिएको थियो । काठमाडौंमा पहिलो केस २३ असारमा देखिएको थियो भने भक्तपुरमा देखिएका दुवै केस मंगलबार पुष्टि भएको हो ।
पछिल्ला दिन पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, वीर अस्पताल, सिभिल अस्पताल, त्रिवि शिक्षण अस्पतालमा डेंगुसँग मिल्दाजुल्दा लक्षण लिएर आउने बिरामीको संख्या बढिरहेको छ । यीमध्ये पाटन अस्पतालमा दैनिक चार र टेकु अस्पतालमा १० जना डेंगुका बिरामी उपचारका लागि पुग्ने गरेका छन् । तर, अस्पताल नआएका संक्रमित अझ धेरै हुन सक्ने अनुमान चिकित्सकको छ । सबै अस्पतालबाट नियमित रिपोर्टिङ पनि नभएकाले डेंगुका बिरामीको संख्या अझ बढी हुन सक्ने दुवै जिल्ला स्वास्थ्य कार्यालयका अधिकारीहरू बताउँछन् ।
डेंगुको तीव्र संक्रमण काठमाडौंमा भन्दा ललितपुरमा देखिएको छ । तीन सय ३० जनामा डेंगु पुष्टि भएकामा केही नमुना परीक्षणको रिपोर्ट आउन बाँकी रहेकाले संख्या बढ्न सक्ने ललितपुरका प्रमुख जनस्वास्थ्य प्रशासक सतिश विष्टले बताए । संक्रमितमध्ये पाटन मंगलबजार, महालक्ष्मीस्थान, थसीखेल क्षेत्रका धेरै छन् ।
त्यस क्षेत्रमा मात्रै केही स्थानीय तथा लक्षण देखिएर अस्पताल आएका बिरामीको नमुना परीक्षण गर्दा एक सय ३० जनामा डेंगु देखिएको छ । ललितपुर महानगरपालिकाको वडा नं. ४, ९, ११, १३, १२, १५, १७ लगायत क्षेत्रमा पनि डेंगु फैलिएको छ । यी क्षेत्रमा सतर्कता अपनाउन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ । स्वास्थ्य कार्यालय एक्लैले डेंगु नियन्त्रण गर्न नसक्ने अवस्था देखिएपछि स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा निर्देशनालयलाई त्यसबारे जानकारी गराइएको पनि उनले बताए । ‘बिरामीको संख्या दिनहुँ बढेको छ,’ विष्टले भने, ‘तर, सोचेभन्दा धेरै डेंगु फैलिएकाले मन्त्रालय र निर्देशनालयको सहयोग माग गरेका छौँ ।’
पाटन अस्पतालका कार्यकारी निर्देशक रवि शाक्यले साउनमा मात्रै अस्पतालमा डेंगुका सयभन्दा बढी बिरामीको उपचार भएको बताए । उनका अनुसार अहिले पनि चारजना अस्पतालमा उपचाररत छन् । ‘अहिले डेंगुका बिरामी बढेका छन्, हाम्रोमा मात्रै दैनिक चारजना उपचारका लागि आइपुग्छन्,’ उनले भने, ‘यो अवस्था हेर्दा संक्रमण भयावह हुन सक्ने देखिन्छ ।’ लामखुट्टेका लार्भा नष्ट गर्ने विषयमा अस्पतालले नगरपालिकाहरूसँग समन्वय गर्ने तयारी गरेको पनि उनले बताए ।
त्यस्तै, काठमाडौं जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख वसन्त अधिकारीका अनुसार वीर, टेकु, सिभिललगायत अस्पतालको तथ्यांकअनुसार दुई सयभन्दा बढीमा डेंगु पुष्टि भएको छ । काठमाडौंमा अस्पताल पुगेका बिरामीबाहेकका नमुनाको परीक्षण नभएकाले भित्रभित्रै संक्रमण फैलिएको हुन सक्ने उनको अनुमान छ । ‘ललितपुरमा धेरै फैलिएको भेटियो, त्यस हिसाबमा काठमाडौंमा पनि डेंगु संक्रमण बढेको हुन सक्छ,’ अधिकारीले भने, ‘यसबारे हामीले स्थानीय सरकारसँग समन्वय गर्न माग गरेका छौँ ।’
शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले उपचारका लागि आएका बिरामीको अवस्था हेर्दा डेंगु अझ बढ्न सक्ने बताए । ‘अहिले अस्पतालमा आएका बिरामीको लक्षण हेर्दा डेंगु अझ फैलने संकेत देखिन्छ,’ उनले भने, ‘अस्पताल आएकामध्ये धेरैमा डेंगुसँग मिल्दोजुल्दो लक्षण छ ।’
उक्त अस्पतालका सूचना अधिकारी नवराज गौतमले दैनिक डेंगुका १० बिरामी अस्पताल आउने गरेको बताए । पछिल्लो एक सातामा मात्रै एक सय पाँच भन्दा बढी डेंगुका बिरामी टेकु अस्पतालमा आएको उनको भनाइ छ । यो अवधिमा भर्ना भएका २४ मध्ये १५ जना उपचाररत रहेको उनले बताए । नयाँ पत्रिका दैनिकमा खबर छ ।
प्रतिक्रिया