NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ४ गते

एमालेको निर्णय : मुद्दा मिल्ने पार्टीसँग तालमेल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आफ्नो मुद्दा मिल्ने पार्टीसँग चुनावी तालमेल गर्ने भएको छ । पार्टी मुख्यालय च्यासलमा आज बसेको स्थायी कमिटी बैठकले मुद्दा मिल्ने दलसँग निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको हो । एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले भने, “हामी चुनौती सामाना गरेर एक्लै चुनावी मैदानमा जाने हो, सुशासन, लोकतान्त्रिक गणतन्त्र र राष्ट्रियतालाई बचाउने हो । यस क्रममा जो–जोसँग एजेण्डा मिल्छ सोही पार्टीसँग चुनावी तालमेल गर्ने छौँ ।”

आजको बैठकबाट यही भदौ १० र ११ गते बस्ने केन्द्रीय कमिटी बैठकको कार्यसूची तय गरिएको छ । केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन पेश हुने निर्णय गरेको छ । बैठकमा पार्टी अध्यक्ष ओलीले आफूले पेश गर्ने प्रतिवेदनमा वर्तमान राजनीतिक अवस्था र गठबन्धन सरकारले गरेका गलत क्रियाकलाप र आगामी निर्वाचनबारे राजनीतिक प्रतिवेदन उल्लेख गरिएको छ ।

अध्यक्ष ओलीले आगामी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनमा १३ जना स्थायी कमिटी सदस्यले आ–आफ्नो धारणा राखेका थिए । धनश्याम भुसाल, कर्ण थापा, प्रभु साह, गोरखबहादुर बोगटी, शेरधन राई, रघुजी पन्त, गुरु बराल, शेरबहादुर तामाङ, मणिचन्द्र थापा, खगराज अधिकारी, सुवास नेम्वाङ र हिक्मत कार्कीले अध्यक्ष ओलीको प्रतिवेदनमा आआफ्नो धारणा राखे ।

ओलीको राजनीतिक प्रतिवेदनमा चुनावमा कसरी जाने, चुनावी रणनीति, आगामी राजनीतिक कार्यदिशा के हो भनेर स्पष्ट हुने प्रमुख गुरुङले बताए । बैठकले तेस्रो केन्द्रीय कमिटीले गरेका निर्णयको अनुमोदनसमेत गरेको उनले जानकारी दिए । निर्वाचन घोषणा मस्यौदा कमिटीले तयार पारेको मस्यौदा केन्द्रीय कमिटीमा प्रस्तुत हुने छैन । यस्तै पार्टीको वार्षिक बजेट पनि आजको बैठकले पास गरेको छ । पार्टीका नवप्रवेशीलाई व्यवस्था गर्नका लागि केही समस्या देखिएमा केन्द्रको अनुमतिमा जिल्ला वा अन्य कमिटीमा व्यवस्थापन गर्नेसमेत निर्णय गरेको छ । केन्द्रीय सल्लाहाकार परिषद्मा तीन जनालाई मनोनयन गरिएको छ ।

प्रचार विभाग प्रमुख गुरुङका अनुसार कुलभक्त शाक्य, गेभी नेपाली र नवराज पौडेललाई परिषद्मा मनोनयन गरिएको छ । यस्तै विभिन्न दल परित्याग गरी एमालेमा प्रवेश गरेकालाई समेत केन्द्रीय कमिटीमा मनोनयन गरिएको छ । जीवन गौतम, विजय गुप्ता, धर्मदत्त देवकोटा र अमृतलाल राजवंशीलाई केन्द्रीय कमिटीमा मनोनयन गरिएको हो ।

आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि पार्टीले उम्मेदवार तय गर्नका लागि मापदण्ड केन्द्रीय कमिटी बैठकमा पेश गर्ने उनले बताए । एमालेमा आठ लाख ५५ हजार चार सय ५३ पार्टी सङ्गठित सदस्य रहेकामा ५२ हजार पाँच सय ५० पार्टी सदस्य नम्बर सङ्ख्या दोहोरिएको छ । पार्टी सङ्गठन विभागले दोहोरिएको सदस्यता नम्बरको व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

आजको बैठकमा गण्डकी प्रदेशको इञ्चार्ज बाहेक सबै प्रदेशका इञ्चार्जले प्रदेशमा पार्टीको अवस्था, साङ्गठनिक गतिविधि, कस्तो छ भनेर रिपोर्टिङ गरेको गुरुङले बताए । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको ठोस योजना बनाउनका लागि पार्टीले आजदेखि भदौ १२ गतेसम्म स्थायी, पोलिटब्युरो, केन्द्रीय कमिटी बैठक र केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठकको आयोजना गरेको हो ।

गठबन्धनलाई धुलोपिठो बनाउने गरी निर्वाचनको तयारीमा जुट्न ओलीको निर्देशन