सेनाका पूर्वजर्नेल दोषी ठहर, सजाय पछि निर्धारण हुने

काठमाडौं । कृषि विकास बैंकको चार करोडभन्दा बढी रकम गैरकानूनी ढंगले दुरुपयोग गरेको मुद्दामा विशेष अदालतले दुई जनालाई दोषी ठहर गरेको छ । मंगलबार विशेषका सदस्यत्रय शालिग्राम कोइराला, बलभद्र बास्तोला र खुसीप्रसाद थारूको इजलासले मुद्दा दर्ता भएको झण्डै तीन वर्षपछि यस्तो फैसला सुनाएको हो ।
विशेषका प्रवक्ता दीपेन्द्रनाथ योगीका अनुसार, बैंकको न्युराेड शाखाकी तत्कालीन टेलर सहायक दीपिका रेग्मी र अवकाशप्राप्त सहायक रथी रमेशराज विष्टलाई दोषी ठहर गरिएको छ ।
‘उहाहरूलाई १५ दिनभित्र सजाय निर्धारण गरिनेछ । रेग्मीले अपचलन गरेको ठहर भएको छ भने विष्टलाई मतियारका रूपमा उक्त अनियमिततामा सहयोग गरेको अभियोग पुष्टि भएको छ,’ योगीले भने । यो मुद्दाका अन्य ६ प्रतिवादीले भने सफाइ पाएका छन् ।
यो मुद्दामा विपक्षी बनाइएका तत्कालीन शाखा प्रबन्धक प्रेमहरि ढुंगेल, ऋण शाखा प्रमुख गोपाल गिरी, तत्कालीन ऋण अधिकृत (हाल अवकाशप्राप्त) सलिल रेग्मी, ऋण शखा प्रमुख महेश्वर मरहठ्ठालाई सफाइ दिने आदेश भएको छ ।
यसैगरी तारानाथ पाण्डेर दुर्गा ज्वेलर्सका सञ्चालक प्रकाश घतानीलाई पनि अदालतले सफाइ दिएको छ, नयाँ पत्रिकामा खबर छ ।
प्रतिक्रिया