NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

यसकारण गठबन्धनमा जुट्न सकेन सिट बाँडफाँट सहमति, अब के हुन्छ ?

काठमाडौं । सत्तारूढ पाँचदलीय गठबन्धनका शीर्ष नेताहरूले सिट बाँडफाँड मिलाउन नसकेपछि पुनः कार्यदललाई नै जिम्मेवारी दिएका छन् । आइतबार कार्यदलका सदस्यसहित बसेको गठबन्धनको बैठकमा दलहरूले आ–आफ्नो दाबी कायमै राखेपछि बाँडफाँड टुंगिन नसकेको हो । अपराह्न ३ बजेदेखि करिब तीन घन्टा चलेको बैठकले अन्ततः कार्यदललाई नै निर्वाचन क्षेत्रअनुसार सहमति खोज्ने जिम्मेवारी तोकेको छ । सहमति जुटाउने समय दुई दिन दिइएको छ ।

‘अब दुई दिन पर्खिनुस् । बैठक जारी छ, भोलि (सोमबार) १ बजे फेरि कार्यदलको बैठक बस्छ,’ आइतबार साँझ बैठकबाट निस्किएपछि कांग्रेसका तर्फबाट कार्यदल सदस्य रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘कार्यदलले दुई दिन लगातार बैठक बसेर सहमति खोज्छ । त्यो निर्णय शीर्ष तहमा छलफल हुन्छ । त्यसपछि सबै प्रश्नको जवाफ पाउनुहुन्छ । अब न्यायोचित, सम्मानजनक र सबैले जितेको भावमा सहमति हुन्छ ।’

कार्यदलका अर्का सदस्य जसपाका रामसहायप्रसाद यादवका अनुसार सबै दलले बढी सिट दाबी गरेपछि शीर्ष तहका नेताहरूको बैठकमा पनि सहमति जुट्न नसकेको हो । ‘सबै बढी खोज्ने, कोही घट्नै नचाहने,’ उनले भने, ‘त्यसैले जिम्मेवारी कार्यदलमै फर्कियो । अब कसले कहाँ जित्छ, त्यो विश्लेषणसहित निर्वाचन क्षेत्रअनुसार सहमति खोज्न भनिएको छ । भोलि (सोमबार)को कार्यदल बैठक त्यसैमा केन्द्रित हुन्छ ।’

सहमतिमा बाधक को ?

गत शुक्रबार सुर्खेत पुगेर माओवादी अध्यक्ष पुष्कमल दाहाल (प्रचण्ड)ले शनिबारसम्म प्रदेश र प्रतिनिधिसभाको सिट बाँडफाँड प्याकेजमै सक्ने बताएका थिए । तर, आइतबारसम्म पनि सहमति हुन सकेन । आइतबार गठबन्धनको बैठक बस्नुअघि प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डबीच सिट बाँडफाँडबारे छलफल भएको थियो । स्रोतका अनुसार उनीहरूबीच संख्यामा सहमति हुन सकेन । तर, दुवैबीच ‘को नेता, कुन क्षेत्रबाट उठ्दा जित निकाल्न सहज हुन्छ, त्यसैअनुसार बाँडफाँड गर्ने’ भन्ने समझदारी बन्यो । तर, दिउँसो बसेको गठबन्धनका शीर्ष नेतासहितको बैठकमा भने सबै दलले पुरानै दाबी दोहो¥याए । कांग्रेस ८६ सिट तल झर्न नसकिने अडानमै देखियो भने माओवादी केन्द्रले ६० र एकीकृत समाजवादीले ४०, जसपाले ३० सिटकै दाबी दोहो¥याए ।

शनिबार मात्रै पेसागत महासंघको जिल्लास्तरीय भेला सम्बोधन गर्न विराटनगर पुगेका एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कांग्रेसको अहंकारका कारण सहमति हुन नसकेको संकेत गरेका थिए । कांग्रेसभित्रै किचलो हुँदा सिट बाँडफाँडमा कठिनाइ भएको उनको भनाइ थियो । ‘कुन ठाउँमा कुन दललाई दिँदा जित सुनिश्चित हुन्छ, त्यहीअनुसार भागबन्डा गरौँ भन्ने मेरो मान्यता हो,’ उनले भनेका थिए, ‘हामीले छलफल चलाइरहेका छौँ, तर कांग्रेसमा अहंकार देखिएको छ । हामीलाई सय सिट चाहियो, उब्रिएको तिमीहरू बाँड भन्छन् । हामीले उनीहरूलाई जवाफ दिएका छौँ, हैसियतभन्दा बढी माग्ने काम नगर ।’

०७४ को निर्वाचनमा प्रत्यक्षतर्फ २३ सिट ल्याएको कांग्रेसले त्यसको तीन गुणाभन्दा बढी खोज्न नहुने नेपालको भनाइ थियो । ‘२३ को तीन गुणा ६९ सिट, त्यसमा एउटा थपिदिँदा ७० सिट हुन्छ । हामी ७० भन्दै छौँ, उनीहरू सय भन्दै छन् । मिलाउनैे गाह्रो छ । बालुवाटारमा बालुवा पेलेकापेल्यै छौँ, त्यो बालुवाबाट तेल निस्किएको छैन,’ उनको यही आशय आइतबारको बैठकमा पनि प्रस्तुत भएको एक नेताले बताए ।

गत बिहीबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कुल एक सय ६५ मा ५० प्रतिशत सिट कांग्रेसले राखेर बाँकी अरूलाई दिनुपर्ने प्रस्ताव गरेका थिए । सोही बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले भने कांग्रेसले ७० सिट राखेर बाँकी अरूलाई दिनुपर्ने प्रस्ताव गरेको कार्यदलका एक सदस्यले बताए । कांग्रेसका नेताहरू भने न्यूनतम ९० सिटभन्दा तल झर्न नसकिने अडानमा छन् । उनीहरूले यसअघि सय सिटमा दाबी गर्दै आएका थिए । गठबन्धनमा माओवादीले ६० सिट दाबी गर्दै आएको छ भने एकीकृत समाजवादीले २० सिट र जनता समाजवादी पार्टीले १५ सिट दाबी गर्दै आएको छ ।