NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

उपमहासचिव पद त्याग्दै प्रचण्डलाई जनार्दन शर्माले नीति र नेतृत्वको पाठ यसरी सिकाए

काठमाडौं । निर्वाचनको मुखमा सत्तारूढ दल माओवादी केन्द्रभित्र विवाद चुलिएको छ ।  महासचिवका आकांक्षी जनार्दन शार्माले बुधबार उपमहासचिव पद त्यागेको घोषणा गरेपछि विवाद सतहमै छताछुल्ल भएको हो ।

राष्ट्रियसभामा अनेरास्ववियु क्रान्तिकारीको चुनाव लक्षित अखिल फोर्स घोषणा कार्यक्रमका प्रमुख अतिथि रहेका प्रचण्डको उपस्थितिमा उनले पद त्यागको घोषणा गरेका थिए ।

कार्यक्रममा प्रचण्ड र शर्माबिच निकै घोचपेच चलेको  थियाे । शर्माले प्रचण्डलाई सहि नीति र नेतृत्वमा हिड्न सल्लाह दिए  । प्रचण्डमाथि शार्माकाे कडा  रूपदेखेपछि हलभित्र निकैबेर हुटिङ भएको थियो ।

प्रचण्डले आफ्नो अन्य कार्यक्रममा जानुपर्ने भन्दै शर्माभन्दा पहिल्यै बोल्न चाहेका थिए । तर शर्माले पहिले आफ्नो भनाइ राख्नेभन्दै जिद्दि गरेपछि उनले प्रचण्डभन्दा पहिल्यै बोले । शर्मा मञ्चमा उपस्थिति हुँदा दर्शकदीर्घबाट शर्मालाई कार्यकर्ता गढगढाहट ताली बजाएका थिए ।

प्रचण्डलाई लक्षित गर्दै शर्माले कडा शब्दमा सहि नीति र नेतृत्व नभएसम्म पार्टी अगाडि बढ्न नसक्ने बताएका थिए । अध्यक्ष प्रचण्डलाई नीति र नेतृत्वको पाठ सिकाउँदै उनले नेतृत्वको आलोचक बन्न कार्यकर्तालाई आग्रह गरे ।

‘म संधै नीति र नेतृत्वको रक्षा गर्दै आएको मान्छे हुँ । सहि नीति र नेतृत्वको रक्षा गर्नु अहिलेपनि मेरो दायित्व हो । तर नीति र नेतृत्व सहि ढंगले बढ्नुपर्छ’, प्रचण्डमाथि कडा ढंगले प्रस्तुत हुँदै शर्माले भने, ‘अध्यक्षको सबैभन्दा कडा आलोचक पनि मै हो । संरक्षक पनि मै हो । तपाईंहरूमाझ आज मैले भने, प्रचण्ड कमरेडको आलोचक हुँ । आलोचना गर्छु । चाकडीले नीति र नेतृत्वको रक्षा हुँदैन । आलोचना भएन भने पार्टी अगाडि बढ्न सक्दैन ।’

उनले आफू उपमहासचिवको हैसियतले कार्यक्रममा उपस्थिति नभएको भन्दै संगठन विभाग प्रमुखको हैसियतले आएको बताए ।
शर्माको जवाफ दिँदै अध्यक्ष प्रचण्डले जनार्दनलाई हुर्काउन र बचाउन मेराे मूख्य भूमिका रहेकाे ख्याल गर्न आग्रह गरे ।

‘भर्खरै जनार्दनजीले नीति र नेतृत्वको कुरा गर्नुभयो । जनार्दनलाई बचाउन र हुर्काउन प्रचण्डको मुख्य भूमिका रहेको नबिर्सन म आग्रह गर्छु’, उनले भने, ‘म जनयुद्धको तयारी र नेतृत्व गरेको मान्छे हुँ । शान्ति, संविधान र गणतन्त्रको पनि नेतृत्व गरें । मलाई सबैथोक पुगेको छ । अब मेराे सपना राम्रो उत्तराधिकारी तयारी गरी पार्टीलाई एकताबद्ध बनाएर लैजाने हो । ती उत्तराधिकारीले सहि र क्रान्तिकारी पार्टी बनाएर लैजाउन् भन्ने मेरो मनसाय हो ।’

पुसमा सकिएको ८ औं महाधिवेशनबाट शर्मा महासचिव बन्नचाहेका थिए । तर महासचिवमा वर्षमान पुनलेसमेत दाबी नछोडेपछि प्रचण्ड अप्ठ्यारोमा परेका थिए । अध्यक्षपछि महत्वपूर्ण पद मानिएको महासचिवमा शर्मा र वर्षमान पुनबीच सहमति नहुँदा महाधिवेशन भएको आठ महिनासम्म पदाधिकारी चयन हुन सकेको थिएन ।

भदौ ४ मा बसेको माओवादीको स्थायी समिति बैठकमा प्रचण्डले महासचिवमा देव गुरुङको नाम प्रस्ताव गरेका थिए । उनले विधान मिचेर २१ सदस्य पदाधिकारी गठन गरेका थिए । प्रस्तावप्रति शर्मा र पुन पक्षीय नेताहरू असन्तुष्ट देखिएका छन् । त्यहि असन्तुष्टि बुधबार शर्माले प्रचण्डकै अगाडि पोखेका हुन् ।

प्रचण्डले गतहप्ता कर्णाली पुगरे पार्टीभित्र गुटै–गुट भएकाले पार्टी आन्दोलन नै शिथिल भएको टिप्पणी गरेका थिए । त्यहाँ उनले आफू नेताको आग्रहमा नभइ कार्यकर्ताको आग्रहमा आएको बताए थिए ।