NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

सन्दीप लामिछाने यसरी पुगेका थिए ती किशोरीको सम्पर्कमा

काठमाडौं । छोटो समयमा आफ्नो बलिङ क्षमताको कारण चर्चा कमाएका क्रिकेटर सन्दीप लामिछानेमाथि बलात्कार गरेको गम्भीर आरोप लागेको छ । १७ वर्षीया एक किशोरीले गत भदौ ५ गते सन्दीपले आफूलाई पटकपटक बलात्कार गरेको भन्दै काठमाडौंको गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी हुन् ।

ती किशोरीले प्रहरीमा दिएको जाहेरी अनुसार स्न्याप च्याटमा कुराकानी आधारमा सन्दीपले ५ भदौमा नगरकोट घुम्न जान प्रस्ताव गरेका थिए । नगरकोट घुमेर राति फर्किएपछि काठमाडौंको गौशालास्थित काठमाडौं इनमा मध्यराति दुईपटक बलात्कार गरेको भन्दै प्रहरीमा ती किशोरीले जाहेरी दिएकी हुन् ।

कसरी पुगे सन्दीप किशोरीको सम्पर्कमा ?

विभिन्न मिडिया रिपोर्टअनुसार सन्दीपकै केटी साथीमार्फत ती किशोरीसँगको सम्पर्कमा उनी पुगेका थिए । मेसेज हेरेपछि डिलिट हुने स्न्याप च्याटमा उनीहरूले कुराकानी गर्दै आएका थिए । साथीले चिनाइदिएको एक महिनामा यस्तो घटना भएको बताइएको छ । नुवाकोट घर भएकी किशोरी बानेश्वरमा होस्टलमा बसी बागबजारमा पढ्ने गर्छिन् । उनी सन्दीपको फ्यान भएकोले साथीमार्फत् जोडिएकी हुन् ।

कुराकानीकै क्रममा सन्दीपले ५ भदौमा नगरकोट घुम्न जान प्रस्ताव गरेको उनको जाहेरीमा उल्लेख छ । नगरकोटमा सन्दीपले आफूमाथि जबरजस्ती नगरेको तर साँझ काठमाडौं फर्किएपछि गौशालाको एक होटलको ३०५ नम्बर कोठामा राति पटकपटक बलात्कार गरेको जाहेरीमा उल्लेख गरेकी छिन् । बानेश्वरबाट सन्दीपले कारमा आफूलाई नगरकोट पुर्याएको ती किशोरीको भनाई छ ।

नगरकोटबाट फर्किंदा मध्यरात भएको र राति गौशालाको होटलमा सन्दीपले आफूमाथि पटकपटक बलात्कार भएको दाबी गरेकी छिन् । आफू बस्ने होस्टल ८ बजेपछि बन्द हुने बताए पनि सन्दीपले ढिलो गर्दै अबेर गरी होटल पुर्याएको दाबी किशोरीको छ । आफूले दुईवटा कोठा लिन भने पनि सन्दीपले नमानी एउटै कोठा लिएको र आफूमाथि जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी हुन् ।

प्रहरीले पनि किशोरीको जाहेरीबारे जानकारी गराएको छ ।

‘नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्‍तान सन्दीप लामिछानेले मिति २०७९।०५।०५ गते काठमाडौं र भक्तपुरको विभिन्न स्थानहरुमा लगी काठमाडौं ल्याई रातको अन्दाजी २३ः५५ बजे का.जि.का.म.न.पा. ९ स्थित एक होटलको कोठा नं. ३०५ मा मिति २०७९।०५।०६ गते रातको अन्दाजी ००ः२५ बजे पटक–पटक जबर्जस्ती करणी गरेकोलगायत उल्लेख गरी मिति २०७९।०५।२१ गते प्रहरी वृत्त, गौशालामा जाहेरी दरखास्त दिएको ।’ प्रहरीको विज्ञप्तिमा उल्लेख छ ।

के गर्दैछ प्रहरी ?

किशोरीको जाहेरी दर्ता पछि एकद्वार संकट व्यवस्थापन केन्द्र उनको स्वास्थ्य परीक्षण गरेको प्रहरीको भनाई छ । जाहेरीपछि प्रहरीले सन्दीप डुलेको क्षेत्र, बसेको होटलको सिसिटिभी फुटेज संकलनको काम गरिरहेको जनाएको छ । जाहेरीमाथि तथ्य प्रमाण पुर्याएर आवश्यक प्रक्रिया अघि बढाउने तयारी प्रहरीको छ ।

साथै क्रिकेट संघ क्यानले पनि सन्दीपमाथि गम्भीर प्रश्न उठेको भन्दै प्रहरीलाई अनुसन्धानमा सघाउने जनाएको छ ।

प्रहरीको काठमाडौं परिसर र गौशाला वृत्तले जाहेरीपछि संयुक्त रुपमा छानविन गर्ने पनि जनाएका छन् ।

कहाँ छन् सन्दीप ?

५ भदौको त्यो घटनाको भोलिपल्टै सन्दीप भदौ ६ गते केन्याविरुद्धको टी २० सिरिज खेल्न नैरोबी प्रस्थान गरेका थिए । नैरोबीमा नेपालले ५ खेलको सिरिज ३–२ ले जितेको थियो । यी खेलको कप्तानी सन्दीपले नै गरेका थिए । तर तीन खेलको एकदिवसीय सिरिजमा नखेली उनी क्यारेबियन लिग खेल्न पुगेका छन् । सन्दीप उता लागेपछि रोहित पौडेलको कप्तानीमा नेपालले केन्याविरुद्धको एकदिवसीय सिरिज ३–० ले जितेको थियो ।

तर नेपालमा उनीविरुद्ध गम्भीर आरोप लागेपछि नेपाल क्रिकेट संघ क्यानले उनीमाथि निलम्बन गर्ने तयारी छ । प्रहरीले पनि प्रारम्भिक अनुसन्धानपछि पक्राउ पुर्जी जारी गर्ने तयारी गरेको छ ।

सन्दीप छोटो समयमा आफ्नो अद्भूत लेग स्पीन क्षमतको कारण विश्वभर परिचित भए । दिल्ली क्यापिटल्सबाट आइपिएल खेल्ने सन्दीप एकमात्र नेपाली खेलाडी हुन् ।

आइपिएल, बिग ब्याससहित विश्वका प्रायः चर्चित फ्रेन्चाइज लिग खेलेर सन्दीपले आफूलाई प्रमाणित गराइसकेका छन् । २२ वर्षीय सन्दीप नेपाली क्रिकेट टिमका कप्तान हुन् ।

उनले ३० अन्तर्राष्ट्रिय एकदिवसीय, ४४ टी २० खेल खेलेका छन् । यस क्रममा एकदिवसीय ६९ र टी २० मा ८५ विकेट लिएका छन् । यी दुवै फरम्याटमा धेरै विकेट लिनेमा सन्दीप अगाडि छन् । भारतको आइपिएलमा ९ खेल खेल्दा १३ विकेट लिएका थिए ।
लिस्ट एका ५४ खेलमा ५३ विकेट र टी २० १३६ खेलमा १३४ विकेट लिएका छन् ।

सन्दीप प्रकरणबारे के गर्दैछ क्यान ?

जबरजस्ती करणी पुष्टि भए क्रिकेटर सन्दीप लामिछानेलाई १२ वर्षसम्म जेल सजाय

बलात्कार प्रकरणमा सन्दीपबारे किशोरीले दिएको बयानमा के छ ?

सन्दीपमाथि लागेको बलात्कार प्रकरणमा के भन्छ प्रहरी ?

ताजा अपडेट

नेपालवाच विशेष