NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

प्रकाशमानले होच्याएपछि रवीन्द्र मिश्रले सोधेका १५ प्रश्नमा के छन् ?

काठमाडौं । पूर्व पत्रकार तथा राजनीतिकर्मी रवीन्द्र मिश्रले आफूलाई व्यंग्य गर्ने नेतालाई सामाजिक सञ्जाल फेसबुकमार्फत १५ वटा प्रश्न गरेका छन् ।

उनले आज फेसबुकमा प्रकाशन तथा प्रसारणका लागि भन्दै प्रश्नको फायर खोलेका हुन् । यद्यपी मिश्रले नेताको नाम भने लिएका छैनन् ।

उनले इंगित गरेका नेता १५ वर्षमा लगातार तीन पटक सांसद भइसकेका छन् । यसअघिको चुनावमा पनि आफ्ना दिंवगत बुबालाई घोचपच गरेको र यसपटक आफूलाई व्यंग्य गरेको बताएका छन् ।

यसअघिको प्रतिनिधिसभा चुनावमा काठमाडौं क्षेत्र नंबर १ बाट मिश्रले प्रकाशमान सिंहसँग हार व्यहोरेका थिए । यसपटक पनि मिश्र याे क्षेत्रबाट उठ्ने तयारीमा छन् ।

शनिबार काठमाडौंमा भएको एक कार्यक्रममा सिंहले मिश्रलाई व्यंग्य कस्दै आफूले नेतृत्व गरेको पार्टीलाई एक/दुई वर्ष पनि टिकाउन नसक्नेले काम गर्न नसक्ने बताएका थिए । मिश्रलाई इंकित गर्दै सिंहले राजनीति दल खोल्न्नु नाङ्लो पसल राख्नु जस्तो हैन भन्दै नयाँ दल खोलेर परिवर्तन गर्छु भन्ने को हालत केछ भनेर प्रश्न गरेका थिए ।

‘नयाँ दलहरु के भन्छन् भने पुरानाले गर्न सकेन । अब हामी आउँछौं, गर्छौ भन्छन् । ती नेता कहाँ छन् तीन नेताको दल कहाँ छ ?’ नेता सिंहले भने, ‘आफ्नो नेतृत्वमा स्थापना गरेको दललाई त एक दुई वर्ष टिकाउन सक्दैन भने काम गरेर देखाउनसक्ला ? क्षमता होला ?’

मिश्रलक्षित अभिव्यक्ति दिएको हुँदा यतिबेला मिश्रको प्रश्न सिंहतिर प्रष्टै केन्द्रित छ ।

मिश्रले ती नेता भन्दै वर्षाएका १५ प्रश्न यस्ता छन्

१. पन्ध्र वर्ष सांसद हुँदा, संसद चलेका कूल दिनहरूमा तपाईं कति पटक संसदमा उपस्थित हुनुभयो? उपस्थित नभएको दिनको भत्ता खानुभयो कि भएन?
२. संसद भनेको देशको नीति-नियम बनाउने थलो हो। तपाईंले तात्कालिक र दूरगामी राष्ट्रिय महत्वका के, के विषयमा कति पटक बोल्नुभयो? बोल्नका लागि मात्र बोल्नुभयो कि त्यसको कुनै ठोस परिणाम पनि आयो?
३. तपाईं देशको राजधानी काठमाडौँको १५ वर्षदेखिको सांसद। राजधानी शहरलाई व्यवस्थित रूपमा पूर्वाधार विकास गर्न, सफा, सुघ्घर, धुलोधुवाँ नियन्त्रित, ट्र्याफिकजाम न्यून बनाउन, खुला क्षेत्र जगेर्ना गर्न संसदमा कति पटक आवाज उठाउनु भयो? फेरि तपाईं त कुनै बेला वातावरण मन्त्री पनि हुनुहुन्थ्यो!
४. काठमाडौँ सम्पदाको शहर हो। सम्पदा संरक्षणका लागि संसदमा कुनै आवाज उठाउनु भयो कि?
५. बागमती नदी तपाईंको पनि निर्वाचन क्षेत्र भएर बग्छ। तपाईं युवा हुँदा बागमती नदीको पानी पिउन मिल्थ्यो। अहिले छुन पनि हिचकिचाउनु पर्छ। नदिनाला सफाईका लागि केही काम गर्नुभयो?
६. त्यो सांसद विकास कोष भन्ने छ नि? त्यो खासमा बाहालवाला सांसदलाई ‘ठेकदार’ बनाएर अर्को चुनाव जित्न सजिलो होस् भनि राज्यको ढुकुटीबाट अर्बौँ खर्च हुने गरि छुट्याइएको बजेट हो। तपाईंले त्यो लिनु भयो कि भएन? वास्तवमा भन्ने हो भने तपाईंले संसदमा त्यसको घनघोर विरोध गर्नु पर्थ्यो नि, हगी?
७. तपाईं मन्त्रीदेखि उपप्रधानमन्त्रीसम्म हुँदा सुशासन, भ्रष्टाचार नियन्त्रण र सेवा प्रवाहका लागि केही काम गर्नुभयो कि? सुशासनका लागि सरकारी कर्मचारीहरूको ‘दलीय’ युनियन हुनु हुँदैन भन्नुभयो? अनि नि, तपाईंको पार्टीको विद्यार्थी संगठनले विश्वविद्यालयमा ३ वर्षमा ३०० दिन तालावन्दी गर्दा र बेलाबखत तोडफोडमा उत्रिँदा विरोध गर्नुभयो?
८. इमानदार र स्वच्छ छवि भएको नेपालको पहिलो महिला प्रधानन्यायाधिश सुशीला कार्कीलाई राजनीतिक स्वार्थका कारण महाअभियोग लगाउँदा त्यसको विरूद्ध बोल्नुभयो कि?
९. साँच्ची, नेपाली पुरूषसँग विवाह गरे लगत्तै विदेशीलाई नागरिकता दिने तर देशभित्रकै महिला र पुरूषलाई विभेद गर्ने नागरिकता विधेयक तथा एमसीसी, एसपीपीबारे चाहिँ तपाईंको धारणा के रह्यो?
१०. द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिको छानविन गर्ने त्यतिबेला भएका जघन्य अपराधका पीडितलाई न्याय दिलाउने सम्वन्धमा जुन अत्यधिक ढिलासुस्ती भएको छ, त्यसबारे खै तपाईंले कतै केही गर्नु भएन। त्यो त गम्भिर विषय हो नि। अलि चासो दिनु पर्थेन?
११. हुन त, विचरा आफ्नै शुभेच्छुक, सदस्य, नेताको हातखुट्टा गिँड्ने, घाँटी रेट्नेहरूलाई ‘भोट देऊ’ भन्दै हिँड्नु परेको छ। त्यो त अति भएन र भन्या?
१२. तपाईं पार्टीको उपसभापति र महामन्त्री हुँदा पार्टीभित्रको विकृति हटाउन, पार्टीको आर्थिक पारदर्शिता बढाउन केही गर्नुभयो?
१३. अनि गत महाधिवेशनमा तपाईंले आफन्तलाई लाभ हुन्छ भनेर अन्तिम घढीमा बेइमानी गर्दा तपाईंको पार्टीमा नयाँ नेतृत्व आउन नसकेको होइन?
१४. झण्डै एउटा कुरा विर्सिएको। गएको निर्वाचनमा एकजना नैतिकताहीन पत्रकारलाई मेरा विरूद्ध सृंखलावद्धरूपमा लेख लेख्न लगाउने चाहिँ को रे? तपाईंले चिन्नुभएको छ भन्ने सुनेको थिएँ। छ भने बताइदिनोस् न, कृपया।
१५. तपाईंले मलाई दुई वर्ष पनि पार्टी टिकाउन नसक्ने भन्नु भएछ। मैले त बीपी, कृष्ण प्रसाद र गणेशमानहरूको आदर्श नै यो देशको हितमा रहेछ भन्ने बोध भएपछि मार्ग परिवर्तन गरेको हुँ। गत स्थानीय चुनावमा नराम्रो नतिजा आएपछि अध्यक्ष पदबाट राजीनामा दिएको हुँ।
तपाईंले त ती तिनै महान् नेताका आत्मा मारिदिनुभयो। १५ वर्ष सांसद, मन्त्री, उपप्रधानमन्त्री, पार्टीको उपसभापति, महामन्त्री भएर खै केही गर्न सक्नुभएन। मौका पाए कोही नबस्ने देश बनाउनु भयो। राष्ट्रपतिदेखि प्रधानमन्त्री, सर्वोच्च, प्रहरी, प्रशासन, अख्तियार, सबैलाई राजनीतिकृत, भ्रष्ट र असक्षम बनाइदिनुभयो। खै के भनुँ! अहिले बेकारमा मलाई व्यङ्ग गर्नु हुन्छ। मैले त पार्टी अध्यक्षबाट राजीनामा दिएँ, तपाईं चाहिँ राजनीतिबाटै राजीनामा दिने कि?
मनमा खर्रर आएको मात्र लेखेको हुँ। अहिलेलाई यति नै। छुटेका कुरा पछि गर्दै जाउँला। नमरी बाँचे, कालले साँचे भेटौँला कुनै दिन!
तपाईंको व्यङ्ग योग्य नव-राजनीतिकर्मी
रवीन्द्र मिश्र