NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

बचतमा बैंकहरूले १५ प्रतिशतसम्म ब्याज दिने, कुन बैंकको कति ?

काठमाडौं । वाणिज्य बैंकहरूबीच बढी प्रतिशत ब्याजदर दिनेमा होडबाजी चलेको छ । बैंकरहरुको छाता संगठन नेपाल बैंकर्स संघले निक्षेपमा लचिलो प्रावधान ल्याएसँगै बैंकहरुबीच बढी ब्याजदर दिने होडबाजी चलेको हो । निक्षेपमा ११.०३ प्रतिशत भन्दा धेरै ब्याजदर दिने प्रावधानलाई बैंकर संघले खुकुलो बनाइदिएपछि बैंकहरुबीच बढी ब्याजदर दिने प्रतिस्पर्धा देखिएको छ ।

बैंकहरूलाई निक्षेपमा ११.०३ भन्दा धेरै ब्याजदर दिन नपाउने सहमतिलाई बैंकरहरुले पालना नगरेपछि खुला छोडेको बैंकर संघले जनाएको छ । बैंकहरुले ६ महिनापछि असोज महिनाका लागि निक्षेपको ब्याजदर बढाएका हुन् । वाणिज्य बैंकहरुले पछिल्लोपटक गत फागुन महिनामा व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर अधिकतम ११.०३ प्रतिशत कायम गरेका थिए । त्यसपछि बैंकहरुले भदौसम्म सोही ब्याजदरनलाई निरन्तरता दिँदै आएका थिए ।

नेपालीहरूको महान चाड दशैं, तिहारलगायतका चाडपर्व नजिकिँदै गएपनि बैंकहरूमा भने तरलता अभाव कायम नै छ । बैंकिङ प्रणालीमा तरलता अभाव बढ्दै जाँदा बैंकमा निक्षेप तान्नैकै लागि अहिले बैंकहरू बाठो भएर मनलागी ब्याजदर बढाएको प्रष्टै बुझ्न सकिन्छ ।

कुन बैंकले कति बढाए ब्याजदर ?

वाणिज्य बैंकहरूले भोलिदेखि लागू हुने नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । २७ वाणिज्य बैंकहरुमध्ये केही बैंकहरुले भने ब्याजदर सार्वजनिक गर्न बाँकी छ । सार्वजनिक गरिसकेका बैंकहरुले मुद्दती निक्षपमा बढाएको ब्याजदर यस्तो छ :

प्रभु बैंक सार्वजनिक भएका बैंकहरुको ब्याजदरमध्ये प्रभु बैंकले सबैभन्दा बढी १५ प्रतिशतसम्म ब्याज दिने भएका छन् ।
प्रभु बैंकले ३ महिना वा सो भन्दा बढी अवधिको ‘प्रभु उन्नति मुद्दती’ मा १५.१३ प्रतिशत ब्याज दिने भएको छ ।

एनसिसी बैंक एनसिसी बैंकले पनि प्रभु बैंकले जति नै मुद्दती खातमा ब्याज दिने भएको छ । एनसिसीले एनसिसी उत्सव रिकरिङ मुद्दती खाता अन्र्तगतको एनसिसी रेमिट सिल्भर मुद्दतीमा १५ प्रतिशत (मासिक/त्रैमासिक) ब्याज दिने भएको हो ।

प्राइम बैंक

प्राइम बैंकले एलवाइसी मुद्दती निक्षेपमा १४.१३ प्रतिशत ब्याज दिने भएको छ । त्यस्तै सनराइज बैंकले पनि ३ वा सोभन्दा बढी अवधिको सनराइज रेमिट मुद्दतीमा १४.१३ प्रतिशतसम्म नै ब्याज दिने भएको छ ।

राष्ट्रिय वाणिज्य बैंक

राष्ट्रिय वाणिज्य बैंकले मुद्दती निक्षेपमा ग्राहकलाई १३.१३ प्रतिशतसम्म ब्याज दिने भएका छन् । बैंकले राष्ट्रिय वाणिज्य बैंक रेमिट्यान्स मुद्दती निक्षेपमा सो ब्याजदर दिने भएका हुन् ।

त्यस्तै बैंकले ३ महिनादेखि ३ वर्ष अवधिको साधारण मुद्दती निक्षेपमा व्यक्तिगततर्फ १२.१३ र संस्थागततर्फ १०.१३ प्रतिशत ब्याज दिने भएको छ । ३ महिनादेखि ३ वर्ष अवधिकको राष्ट्रिय वाणिज्य बैंक विशेष मुद्दती निक्षेमा पनि बैंकले बैंकले साधारण मुद्दती निक्षेपकै ब्याजदर कायम गरेको छ ।

एभरेष्ट बैंक

एभरेष्ट बैंकले असोज महिनाको नयाँ ब्याजर सार्वजनिक गरेको छ । जसअनुसार बैंकले एभरेष्ट आरोहण मुद्दती योजना १३.१३ प्रतिशतसम्म ब्याज दिने घोषणा गरेको छ । जसमा व्यक्तिगततर्फ १२.१३ प्रतिशत र रेमिट्यान्स ग्राहकलाई १३.१३ प्रतिशत ब्याज दिने भएको हो

एनआईसी एसिया बैंक
एनआईसी एसिया बैंकले मुद्दती निक्षेपमा १२.१३ प्रतिशत ब्याज दिने भएको छ । बैंकले ३ देखि ५ वर्ष अवधिको एलवाइसी मुद्दती निक्षेपमा सो ब्याज दिने भएको हो ।

नेपाल इन्भेष्टमेन्ट बैक

नेपाल इन्भेष्टमेन्ट बैंकले असोज महिनाको लागि सार्वजनिक गरेको ब्याजदर अनुसार रेमिट्यान्स मुद्दती खातामा १३.३ प्रतिशत ब्याज दिने भएको छ ।

नेपाल एसबिआई बैंक

३ महिना वा सोभन्दा बढी अवधिको मुद्दती खातामा १३.१३ प्रतिशत ब्याज दिने भएको छ । यीबाहेक बैक अफ काठमाण्डु, माछापुछ्रे बैंक र कुमारी बैंकले १३.१३ प्रतिशत ब्याज दिने भएको छ । नेपाल बैंक लिमिटेडले भने मुद्दती निक्षेपमा १२.१३ प्रतिशत ब्याज दिने भएको छ ।