NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

एमालेमा पूर्वमाओवादीका चारमध्ये तीनलाई चुनाव जित्न अत्यन्तै कठिन हुने हिसाब यस्तो छ

साह ३० हजार, चौधरी २५ हजार, भट्ट १७ हजार र टोपबहादुर ५ हजारले पछाडि

काठमाडौं । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आइतबारदेखि निर्वाचन कार्यक्रम सुरु भएको छ । निर्वाचन आयोगको कार्यतालिका अनुसार समानुपातिकतर्फ संघमा ११० र प्रदेशमा २२० गरी जम्मा ३३० सदस्यका लागि दलहरूले उम्मेदवारको बन्दसूची बुझाइसकेका छन् । यद्यपि आयोगले असोज १० देखि १६ सम्म राजनीतिक दलहरूले उम्मेदवारको बन्दसूची संशोधन गरी पेश गर्ने समय निर्धारण गरेको छ ।

समानुपातिकतर्फ संघ तथा प्रदेशका उम्मेदवारहरूको बन्दसूची बुझाएसँगै दलहरूको ध्यान प्रत्यक्ष निर्वाचनतर्फ मोडिएको छ । साझा उम्मेदवार छनोटको विषयमा सत्तापक्षमा पेचिलो बन्दै गर्दा प्रतिपक्ष एमालेले भने मातहतका कमिटीबाट सिफारिस भएर आएका उम्मेदवारको विषयमा प्रक्रिया अगाडि बढाइसकेको छ ।

शनिबार र आइतबार ओली निवास बालकोटमा बसेको सचिवालय बैठकले समानुपातिकतर्फ संघ र प्रदेशका ३३० निर्वाचन क्षेत्रको उम्मेदवार टुंगो लगाएको हो । भदौ ११ मा बसेको एमालेको केन्द्रीय कमिटी बैठकले भदौ २२ सम्म सबै निर्वाचन क्षेत्रका उम्मेदवार सिफारिस गरी केन्द्रमा पठाउन मातहतका कमिटीलाई निर्देशन दिएको थियो ।

एमालेले प्रत्यक्षतर्फ प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्र र प्रदेशका ३३० निर्वाचन क्षेत्रका उम्मेदवार छनोट गर्ने जिम्मा अध्यक्ष ओलीलाई दिएको छ । १६५ निर्वाचन क्षेत्रमध्ये झण्डै ६० जिल्लाका निर्वाचन क्षेत्रमा सर्वसम्मत उम्मेदवार सिफारिस भइसकेका छन् । भदौ २२ सम्म संघ र प्रदेश गरी करिब ३२ सय उम्मेदवार सिफारिस भएको एमालेले जनाएको छ ।

आयोगको कार्यतालिका अनुसार असोज २३ गते प्रत्यक्षतर्फका उम्मेदवारहरूको मनोनयन दर्ता कार्यक्रम रहेको छ । यसरी सर्वसम्मत सिफारिस हुनेमा अघिल्लो निर्वाचनमा पूर्वमाओवादीबाट प्रत्यक्षमा निर्वाचित चारै जना नेता सर्वसम्मत रहेका छन् । सर्वसम्मत सिफारिस हुनेमा अर्घाखाँचीबाट टोपबहादुर रायमाझी, कैलाली–३ बाट गौरीशंकर चौधरी, कैलाली–४ बाट लेखराज भट्ट र रौतहट–३ बाट प्रभु साह रहेका छन् ।

पूर्वमाओवादीका यसअघिका निर्वाचित सबै सर्वसम्मत सिफारिस हुँदा एकता पक्षधर भनेर चिनिएका एमालेका १० जना नेतामध्ये अछामबाट भीम रावलमात्र सर्वसम्मत सिफारिस भएका छन् । उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले प्रत्यक्ष र समानुपातिक कतैपनि नबस्ने घोषणा गरेकी छिन् । रघुजी पन्त समानुपातिकतर्फ उम्मेदवार बनेका छन् । समानुपातिकतर्फ उम्मेदवार बन्न नपाएका उपाध्यक्ष रामबहादुर थापाले प्रत्यक्षतर्फ उठ्ने नउठ्नेबारे अहिलेसम्म मुख खोलेका छैनन् ।

२०७४ को निर्वाचनमा माओवादीबाट थापा राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए ।
त्यस्तै सचिव रायमाझी अघिल्लो निर्वाचनमा अर्घाखाँचीबाट निर्वाचित भएका थिए । वामगठबन्धनको तर्फबाट माओवादीका उम्मेदवार रहेका उनी ५० हजार ८३७ मत ल्याइ विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका डा. रामबहादुर बिसीले ३२ हजार ५४४ मत प्राप्त गरेका थिए । उनी २०६४, २०७० को संविधानसभा र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए । रायमाझीको मतान्तर १८ हजार २९३ रहेको छ ।

आसन्न निर्वाचनमा उनी एमालेबाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् । गठबन्धनबाट माओवादी उम्मेदवार डिलाराम आचार्य सिफारिस हुने सम्भावना रहेको छ ।

गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा यो क्षेत्रमा एमालेको ४८ हजार २६० मतसंख्या रहेको छ । कांग्रेसको ३७ हजार ९२५, माओवादीको ७ हजार ७९० र राजमो ४ हजार २९४ र नेकपा एसको ३ हजार ७६३ मत रहेको छ ।

एक्लाएक्लै चुनावमा भिड्दा रायमाझीका लागि सहज भएपनि गठबन्धनका कारण रायमाझीलाई निर्वाचन जित्न निकै कठिन देखिन्छ । यो क्षेत्रमा गठबन्धनको जम्मा मत ५३ हजार ७७२ रहेको छ । गठबन्धन ५ हजार ५१२ मतले अगाडि रहेको छ ।

अघिल्लोपटक गठबन्धनतर्फ माओवादीका उम्मेदवार रहेका अर्का सचिव भट्ट योपटक एमालेबाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् । नेकपा विघटनसँगै एमालेमा बसेका भट्टलाई निर्वाचन जित्न भने त्यति सहज देखिंदैन । २०७४ को निर्वाचनमा भट्ट कैलाली–४ बाट ३१ हजार ३५९ मत ल्याइ विजयी भएका थिए ।

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सुनिलकुमार भण्डारीले २० हजार ९६० मत पाएका थिए । उनको मतान्तर १० हजार ३९९ रहेको छ । आसन्न निर्वाचनमा भट्को विपक्षमा गठबन्धनबाट कसलाई उम्मेदवार बनाउने भन्नेमा निकै चासो रहेको छ । २०६४, २०७० र २०७४ मा लगातार निर्वाचन जितेका भट्ट उम्मेदवार हुन् । यो क्षेत्रमा कांग्रेस र एकीकृत समाजवादीलेसमेत दाबी गरेका छन् । माओवादीले कृष्णकुमार चौधरी, लक्ष्मीराम आचार्य र पुष्पराज भुसालको नाम सिफारिस गरेको छ । यद्यपि सिट बाँडफाँटबारे गठबन्धनले निर्णय नगरिसकेकाले कसलाई उम्मेदवार बनाउँछ भन्नेमा सुनिश्चितता भइसकेको छैन ।

स्थानीय तह निर्वाचनमा कैलाली–४ मा कांग्रेसको जनमत राम्रो देखिएको छ । कांग्रेसले २२ हजार ९९७ मत पाएको छ । एमालेले २० हजार ८१ मत पाएको छ । माओवादीले १० हजार १२३, नेकपा एसले ४ हजार २९, राप्रपाले ३ हजार २३४ र अन्यले १२८ मत पाएको छ । यो क्षेत्रमा पनि गठबन्धन बलियो देखिएको छ । गठबन्धनको जम्मा मत ३७ हजार १४९ रहेको छ । यहाँ १७ हजार ६८ ले एमाले पछि परेको छ ।
यसैगरी अघिल्लो निर्वाचनमा कैलाली–३ बाट माओवादीका उम्मेदवार चौधरी निर्वाचित भएका थिए । उनी २४ हजार ८७९ मत ल्याइ निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस रामजनम चौधरीले २० हजार ४९४ मत पाएका थिए । उनको मतान्तर ४ हजार ३८५ रहेको छ । नेकपा विघटनसँगै एमालेमा लागेका उनी योपटक एमालेबाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् । उनको क्षेत्रमा पनि गठबन्धन बलियो रहेकाले चुनाव जित्न मुस्किल देखिन्छ ।

स्थानीय तह निर्वाचनमा कैलाली–३ मा कांग्रेसले १९ हजार ९९२ मत पाएको थियो । माओवादीले ११ हजार ७१६ मत पाएको छ । तेस्रो स्थानमा रहेको एमाले ११ हजार २५७ मत छ । राप्रपाको ६ हजार ६९९, नागरिक उन्मुक्ति पार्टीको ५ हजार २४७, जसपाको २ हजार ८५९ र नेकपा एसको १ हजार ९७८ मत रहेको छ । यहाँ गठबन्धनको जम्मा मत ३६ हजार २४५ रहेको छ । २४ हजार ९८८ मतले गठबन्धन अगाडि देखिन्छ ।

त्यस्तै पूर्वमाओवादीका प्रभावशाली नेता साह योपटक एमालेबाट साविक रौतहट–३ मा चुनावी प्रतिस्पर्धा गर्ने तयारीमा छन् । नेकपा विघटनसँगै एमालेमा रहेका साह अघिल्लो निर्वाचनमा २७ हजार ७९९ मत ल्याइ विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सुनिलकुमार यादवले १८ हजार २० मत पाएका थिए । साहको मतान्तर ९ हजार ७७९ रहेको छ । योपटक एमालेले उनलाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ । यहाँ पनि गठबन्धन नै बलियो देखिएकाले निर्वाचन जित्न उनले निकै पापड बेल्नुपर्ने देखिन्छ ।

स्थानीय तह निर्वाचनमा रौतहट–३ मा एमालेले २१ हजार ७२९ मत पाएको थियो । कांग्रेसले १९ हजार २४१ मत पाएको थियो । त्यस्तै नेकपा एसले ११ हजार ७३६ मत पाएको छ । त्यसैगरी माओवादीले ११ हजार २७९, जसपाले ९ हजार ४८३, जनमत पार्टीले १ हजार २९० र लोसपाले १ हजार ९७ मत पाएको थियो । यहाँ गठबन्धनको जम्मा मत ५१ हजार ७३९ मत रहेको छ । गठबन्धन एमालेभन्दा ३० हजार १० मतले अगाडि रहेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष