NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

संघीय कार्यालयहरूले नै मानेनन् १० प्रतिशत दरबन्दी कटौतीको घोषणा

संघीय कार्यालयहरूले नै १० प्रतिशत दरबन्दी कटौतीको प्रस्ताव अस्वीकार गरेका छन् । सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत संघमा १० प्रतिशत कर्मचारी कटौती गर्ने घोषणा गरे पनि धेरैजसो कार्यालयले अस्वीकार गरेका छन् ।

दरबन्दी कटौतीको खाका दिन समयसीमा नै तोकेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै मन्त्रालय तथा कार्यालयलाई गत २२ साउनमा पत्राचार गरेको थियो । १५ दिनभित्र यस्तो खाका पेस गर्न भनिए पनि हालसम्म जम्मा १० कार्यालयले मात्र विवरण बुझाएका छन् ।

मन्त्रालयको संगठन विकास शाखाका उपसचिव रूपनारायण खतिवडाका अनुसार १० कार्यालयले मन्त्रालयको पत्राचारबमोजिम विवरण पेस गरेका छन् । त्यसमा उपराष्ट्रपतिको कार्यालय, महालेखापरीक्षकको कार्यालय, लोकसेवा आयोग, महान्यायाधिवक्ताको कार्यालय, नेपाल कानुन आयोग, मुस्लिम आयोग, भाषा आयोग, थारू आयोग, राष्ट्रिय दलित आयोग र राष्ट्रिय समावेशी आयोग छन् ।

विवरण पेस गरेका अधिकांश कार्यालयले दरबन्दी कटौती गर्न नसकिने भनेका छन् भने केहीले उल्टो दरबन्दी थप्नुपर्ने माग गरेका छन् । मन्त्रालयहरू कुनैले पनि दरबन्दी कटौतीको खाका दिएका छैनन् । विवरण पेस गर्ने ६ वटाले दरबन्दी कटौती गर्न सक्ने अवस्था नरहेको जवाफ दिएका छन् ।

दरबन्दी कटौती गर्न नसक्ने जवाफ दिनेमा लोकसेवा आयोग, महालेखापरीक्षकको कार्यालय, नेपाल कानुन आयोग, मुस्लिम आयोग, भाषा आयोग र राष्ट्रिय दलित आयोग छन् । उपराष्ट्रपतिको कार्यालय, महान्यायाधीवक्ताको कार्यालय र थारू आयोगले त उल्टै दरबन्दी थप गर्नुपर्ने माग गरेका छन् । राष्ट्रिय समावेशी आयोगले भने गत असारमै दरबन्दी कटौती गरिसकेको जवाफ दिएको छ ।

विवरण पेस गर्ने कार्यालयहरूले दरबन्दी कटौती वा थपको तर्कसहितको खाका तथा विवरण दिएको संगठन शाखाका उपसचिव खतिवडाले बताए । ‘बजेटले घोषणा गरेबमोजिम समयसीमा तोकेर मन्त्रालयले दरबन्दी कटौतीको प्रस्ताव माग्दा अधिकांश मन्त्रालय र कार्यालयले विवरण दिएका छैनन्, विवरण प्राप्त भएका १० मध्ये ६ ले दरबन्दी कटौती गर्न नसकिने जवाफ दिए । तीनवटाले त उल्टै थप्नुपर्ने भनेका छन्,’ शाखाका उपसचिव खतिवडाले भने, ‘यसबाट संघीय कार्यालयहरूले दरबन्दी कटौती गर्न नचाहेको देखियो ।’

चालू आर्थिक वर्ष ०७९/८० को बजेटमार्फत सरकारले संघीय निजामती सेवा तथा अन्य सरकारी सेवाका कम्तीमा १० प्रतिशत दरबन्दी कटौती गर्ने घोषणा गरेको थियो । बजेटको यही घोषणाबमोजिम मन्त्रालयले दरबन्दी कटौतीको खाका मागेको थियो ।

चालू आवको बजेट वक्तव्यको ३६६ बुँदामा संघीयता कार्यान्वयनको पाँच वर्षको अभ्यासका आधारमा संघ, प्रदेश र स्थानीय तहको प्रशासनिक पुनर्संरचना गर्न एक उच्चस्तरीय आयोग गठन गर्ने उल्लेख छ । त्यस्तै, ३७९ बुँदाले सरकारी निकायका संगठन संरचना र दरबन्दीको पुनरावलोकन गर्ने घोषणा गरेको छ । संघीय निजामती सेवा तथा अन्य सरकारी सेवाका कम्तीमा १० प्रतिशत दरबन्दी कटौती गर्ने र निजामती तथा सुरक्षा निकायमा प्राविधिक र अत्यावश्यकबाहेकका नयाँ दरबन्दी थप नगरिने बजेट वक्तव्यमा छ ।

बजेटको यही घोषणाका आधारमा मन्त्रालय प्रशासनिक पुनर्संरचना उच्चस्तरीय आयोग गठन गरी कार्य प्रक्रिया अघि बढ्ने क्रममा छ । यसैअनुसार मन्त्रालय र अन्तर्गतको दरबन्दी संरचनामा कम्तीमा १० प्रतिशत कटौती गर्ने गरी आवश्यक खाका तयार गरी १५ दिनभित्र मन्त्रालयमा पेस गर्न परिपत्र गरेको थियो ।

कर्मचारी समायोजन गर्दा संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) गरेर ०७५ मा सरकारले संघमा ४८ हजार चार सय नौ दरबन्दी संघमा निर्धारण गरेको थियो । संघीय प्रणालीमा संघको दरबन्दी ठूलो भएको भन्दै आलोचना हुँदै आएको छ ।

काशीराज दाहालको संयोजकत्वमा गठित प्रशासनिक पुनर्संरचनासम्बन्धी आयोगले संघमा ३० हजारभन्दा बढी दरबन्दी आवश्यक नपर्ने भनी सिफारिस गरेको थियो । त्यसविपरीत संघमा अनावश्यक ठूलो दरबन्दी राखिएको थियो ।
समायोजन गर्दा संघमा राखिएको संख्या ठूलो भए पनि क्रमशः कम गर्दै जाने भनिएको थियो । तर, प्रदेश र स्थानीय तहबाट हुन सक्ने कामका लागि विभाग तथा कार्यालय संघमै राखेर त्यसका कर्मचारी पनि संघमै राखिएका छन् । आवश्यकताभन्दा बढी राखिएको दरबन्दी संख्या पनि पछिल्लो समय बढाएर ५२ हजारभन्दा बढी पुर्‍याइएको छ । विभिन्न आयोजना तथा कार्यक्रमका लागि भनेर सरकारले कर्मचारी दरबन्दी थपिरहेको छ ।

संघमा दरबन्दी र कार्यरत कर्मचारी ठूलो हुँदा खासगरी स्थानीय तह र प्रदेशमा अभाव छ । स्थानीय तहमा त दरबन्दीभन्दा १८ देखि २० हजार कम कर्मचारी छन् । यसले त्यहाँको सेवा प्रवाह नै प्रभावित हुँदै आएको छ । यसैलाई व्यवस्थापन गर्ने गरी सरकारले दरबन्दी कटौतीको प्रक्रिया अघि बढाएको हो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।