NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

एमालेमा पूर्वमाओवादीलाई टिकट पक्का, एकता पक्षधरको टिकट कट्टा !

काठमाडौं । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवार छनोटका लागि एमाले यतिबेला आन्तरिक छलफलमा व्यस्त छ । प्रतिनिधिसभातर्फ १६५ र प्रदेशसभातर्फ ३३० सदस्यका लागि करिब १८ सय उम्मेदवार तल्ला कमिटीबाट सिफारिस भएर आएका छन् । यी मध्येबाट भेगीय, लैंगिक, समावेशी सन्तुलन कायम राखी उम्मेदवार छनोट गर्न अध्यक्ष केपी ओलीका लागि निकै पेचिलो बन्ने देखिन्छ ।

भदौ ११ मा बसेको केन्द्रीय कमिटी बैठकले एक महिलासहित बढीमा ३ जना उम्मेदवार छनोट गरी केन्द्रमा पठाउन निर्देशन दिएको थियो । तर आकांक्षी धेरै भएपछि जिल्लाले सबै उम्मेदवारहरू केन्द्रमा सिफारिस गरेर पठाएपछि छनोट प्रक्रिया झनै जटिल बनेको छ । केन्द्रीय कमिटी बैठकले उम्मेदवार छनोटदेखि टिकट वितरणसम्मको सम्पूर्ण जिम्मा ओलीलाई दिएकाले उनको एकल तजविजी चल्नेछ । गत शनिबार र आइतबार सचिवालय बैठकमा उम्मेदवार छनोटबारे प्रारम्भिक छलफल भएपनि समानुपातिकतर्फको मात्र बन्दसूची टुंग्याएको थियो ।

अहिले टिकट हत्याउन ओली निवासमा आकांक्षीहरूको दिनहुँ भीड लाग्ने गरेको छ । अघिल्लोपटक माओवादीसँग मिलेर एमाले प्रतिनिधिसभातर्फ १२१ सिटसहित पहिलो दल भएको थियो । निर्वाचनपछि बहुमतको सरकार बनाउने दाबी गरेका ओलीका लागि अघिल्लो विरासत कायमै राख्न आन्तरिक र बाह्य चुनौती देखिन्छ । एकातिर गठबन्धनको निकै ठूलो दबाबमा रहेका ओली अर्कोतिर पार्टीको आन्तरिक शक्ति सन्तुलन कायम राख्नुपर्ने बाध्यतामा छन् ।

स्रोतका अनुसार ओलीले आकांक्षीहरूसँग एकल संयुक्त रूपमा भेटघाटलाई तीव्रता दिएका छन् । सचिवालय सदस्यहरूसँग पनि एकल र सामूहिक भेटघाट गर्दै आएका छन् । प्रतिनिधिसभामा १६५ निर्वाचन क्षेत्रमध्ये ५६ वटा क्षेत्रबाट मात्र एकल उम्मेदवार सिफारिस भएका छन् । यीमध्ये ओलीसँग सहानुभूति राख्ने र उनी पक्षीय नेतामात्र सिफारिस भएका छन् । एमाले एकता पक्षधर भनेर चिनिएका १० जना नेताहरूमा अछामबाट भीम रावलमात्र सर्वसम्मत सिफारिस भएका छन् ।

स्थानीय तहमा जस्तै ओलीले आगामी निर्वाचनमा बाह्य शक्तिभन्दा घरभित्रकै शक्ति बढी चुनौती देखेका छन् । स्थानीय तह निर्वाचनमा पहिलोपटक देखिएको अन्तर्घातले ६ महानगरपालिकासहित आफ्नै गढ मानिएका पालिकासमेत जोगाउन एमाले असफल भयो । सोही नियति संघ र प्रदेशमा पनि दोहोरिन सक्नेतर्फ ओली निकै गम्भीर देखिएका छन् । माधव समूह अलग भएपछि उनले पार्टीभित्र कुनै गुट–उपगुट नरहेको दाबी गरेपनि तीनवटा विचार समूह अझै जीवितै रहेको देखिन्छ ।

यसमा माओवादी पृष्ठभूमिबाट आएका समूह, एकता पक्षधर भनिएका समूह, ओलीकै विश्वासपात्र मानिएका समूहबीच शक्ति सन्तुलन मिलाउन ओलीका लागि त्यति सजिलो छैन । अघिल्लोपटक माओवादीबाट निर्वाचन जितेका सबै उम्मेदवार सर्वसम्मत सिफारिस भएका छन् । तर एमाले एकता समूहको भनिएका १० जनामा अछामबाट भीम रावलमात्र सर्वसम्मत सिफारिस भए । नेता रघुजी पन्त समानुपातिकतर्फ ओत लागेका छन् । उपाध्यक्षद्ववय अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवालीले प्रत्यक्षमा उठ्ने मनस्थिति बनाएका छैनन् । एमाले सल्लाहकार परिषद्का अध्यक्षसमेत रहेका अमृत बोहोरा चुनावी प्रतिस्पर्धाबाटै बाहिरिएका छन् ।

परिस्थितिको मूल्याङकन गरी आवश्यक स्थानमा भरपर्दो शक्तिसँग चुनावी तालमेल गर्ने नीतिलाई एमालेले त्यागिसकेको छैन । त्यसका लागि एमालेले राप्रपा, राप्रपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरूसँग छलफल जारी राखेको छ । यी शक्तिहरूसँग चुनावी तालमेल भए प्रत्यक्ष मारमा १० जना नेताहरू पर्ने देखिएका छन् । एमालेभित्र लामो समय माधव–झलनाथ निकट रहेर काम गरेका उनीहरूले कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालयमा हस्ताक्षर बुझाएका थिए । सर्वोच्च अदालतमा विष्ट र भट्टराईबाहेक अन्यले हस्ताक्षर गरेका थिए । त्यसैले आफैं टिकट पाउनेमा ढुक्क छैनन् । ओलीविरूद्ध खरो रूपमा उत्रिंदै पूर्वउपाध्यक्ष भीम रावल र पूर्वउपमहासचिव घनश्याम भुसाल टिकटकै लागि ओली निवास नधाउने उनी निकटस्थले बताएका छन् । यी दुई नेताले पार्टीको १० औं महाधिवेशनमा ओलीविरूद्ध उम्मेदवारी नै दिएका थिए ।

बाँकीको हकमा पनि ओलीको दृष्टिकोण त्यति राम्रो नदेखिएको १० भाइ निकटस्थहरूको भनाइ छ । पूर्वमाओवादीबाट अघिल्लो पटक निर्वाचित भएका टोपबहादुर, लेखराज, प्रभु र गौरीशंकर आफ्ना निर्वाचन क्षेत्रबाट सर्वसम्मत सिफारिस हुँदा पूर्वमाधव समूहका रावलबाहेक कोही पनि सर्वसम्मत उम्मेदवार सिफारिसमा परेनन् ।

श्रीमान र श्रीमती नै चुनावी प्रतिस्पर्धाबाट बाहिरिए

अष्टलक्ष्मी शाक्य/अमृत बोहोरा

एमालेका उपाध्यक्ष तथा वाग्मती प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेकी अष्टलक्ष्मी शाक्यका श्रीमान÷श्रीमती नै योपटक चुनावी प्रतिस्पर्धाबाट बाहिरिएका छन् । लामो समय माधव नेपालनिकट रहेर काम गरेका दुवै नेता मंसिर ४ मा हुने निर्वाचन प्रक्रियाबाट बाहिरिएको नेता अमृतकुमार बोहराले जानकारी दिए ।

तर आफू चुनावी प्रतिस्पर्धाबाट बाहिरिएपनि आगामी निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन चुनावी कमाण्डर बन्ने घोषणा शाक्यले गरेकी छिन् । अघिल्लोपटक वागमती प्रदेशका मुख्यमन्त्रीको बलियो दाबेदार हुँदाहुँदै अध्यक्ष ओलीले आफूपक्षीय जुनियर सदस्य डोरमणि पौडेललाई मुख्यमन्त्री बनाएपछि उनी रुष्ट भएकी थिइन् । थोरै समय शाक्य मुख्यमन्त्री भएपनि विश्वासको मत पाउन सकिनन् । अघिल्ला निर्वाचनमा काठमाडौं– ८ बाट निर्वाचन जित्दै आएका शाक्य चुनावी प्रतिस्पर्धाबाट पछि हट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

अनुशासन आयोगका पूर्वअध्यक्ष तथा जेष्ठ नागरिकमञ्चका अध्यक्ष अमृतकुमार बोहोराले चुनाव लड्ने चाहना देखाएका छैनन् । अघिल्लोपटक समानुपातिकमा रहेका उनले समग्र परिस्थितिको मूल्यांकन गरी चुनावमा भाग नलिने निष्कर्षमा पुगेको बताए ।
‘समानुपातिकतर्फ धेरै विकृति भयो । एउटै व्यक्ति धेरै पटक दोहोरिनुभन्दा नयाँलाई अवसर दिनुपर्छ । योपटक प्रत्यक्ष र समानुपातिक दुवैतर्फ उठ्ने मेरो चाहना छैन’, उनले भने ।

सिन्धुपाल्चोकका बोहोरा एमालेका पुराना नेता हुन् । कार्यवाहक महासचिवसमेत भएका उनले बारम्बार एउटै व्यक्तिले अवसर लिनुभन्दा नयाँलाई ठाउँ छोड्दिएको प्रतिक्रिया दिएका छन् ।

त्यस्तै शाक्य काठमाडौं क्षेत्र नं. ८ र ९ बाट जित्ने सम्भावना बलियो भएपनि चुनावी प्रतिस्पर्धामा नरहेको जानकारी उनले दिए ।
‘आगामी विर्नाचनमा उहाँ समानुपातिक र प्रत्यक्ष दुवैमा बस्नु हुन्न । एउटै व्यक्तिले पटक–पटक अवसर लिनुभन्दा नयाँलाई ठाउँ छोड्दिनुपर्छ’, उनले भने ।

अन्ततः समानुपातिकमा ओत
रघुजी पन्त

स्थायी समिति सदस्य रघुजी पन्त माओवादीसँगको गठबन्धनका कारण अघिल्लो निर्वाचनमा ललितपुर– ३ बाट चुनाव लड्न बञ्चित भएका थिए । माओवादी नेता पम्फा भुसालले टिकट पाएपछि उनी पछाडि हटेका हुन् । ललितपुरबाट २ पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । लामो समय माधव नेपाल निकट रहेका उनी ओलीका कटु आलोचक थिए । योपटक उनी समानुपातिकतर्फ बसेकाले प्रत्यक्षतर्फको उम्मेदवार बन्ने च्याप्टर नै क्लोज भएको छ । यसअघि उनलाई काठमाडौं–७ बाट उम्मेदवारमा सिफारिस गरेको थियो । तर उनले प्रत्यक्षतर्फ चाहना नदेखाएकाले समानुपातिकतर्फ राखिएको हो ।

टिकट पाउनै मुस्किल, पाए जित्नै मुस्किल

पूर्वमाधव समूहका १० जना नेतामध्ये आगामी निर्वाचनमा ७ जना प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ तल्ला कमिटीबाट उम्मेदवार सिफारिस भएका छन् । तीमध्ये रावलमात्र सर्वसम्मत सूचीमा छन् । अन्य नेताहरूले ओलीलाई खुशी पारेर टिकट पाउन निकै मुस्किल रहेको बुझिएको छ । तल्ला कमिटीबाट सिफारिस भएर आएका सात जना नेतामध्ये रावल र भुसाल टिकटका लागि ओली निवास नै नजाने मनस्थितिमा रहेको उनी निकटस्थ बताउँछन् । गठबन्धनका उम्मेदवारसँग भिड्न लागेका उनीहरूले टिकट पाएपनि ओली पक्षकै असहयोगका कारण चुनाव जित्ने सम्भावना देखेका छैनन् ।

युवराज ज्ञवाली

अघिल्लो निर्वाचनमा प्रत्यक्ष निर्वाचन नउठी दाङ– ३ बाट समानुपातिक सूचीमा रहेका उपाध्यक्ष ज्ञवाली योपटक पनि सोही क्षेत्रबाट प्रत्यक्षतर्फको उम्मेदवारमा सिफारिस भएका छन् । तर उनी सर्वसम्मत हुन सकेन् । ज्ञवालीलाई घनश्याम पाण्डे र कोमल वलीले चुनौती दिएका छन् । पाण्डे तुलसीपुर उपमहानगपालिकाका निवर्तमान मेयर हुन् । वली राष्ट्रियसभाका पूर्वसदस्य हुन् । पूर्वस्थानीय विकासमन्त्रीसमेत भएका ज्ञवाली एमालेभित्र सादगी र इमान्दार नेतामा चिनिन्छन् ।

अघिल्लो निर्वाचनमा दाङ–३ बाट एमालेका हीराचन्द्र केसी निर्वाचित भएका थिए । स्वास्थ्य राज्यमन्त्रीसमेत रहेका उनी अहिले एकीकृत समाजवादीमा गएका छन् । अघिल्लो निर्वाचनमा उनी ४० हजार २८७ मत ल्याइ विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दीपक गिरीले ३३ हजार ७३० मत पाएका थिए । केसीको मतान्तर ६ हजार ५५७ रहेको छ ।

स्थानीय तह निर्वाचनमा दाङ ३ मा एमालेको ३८ हजार ६५८, कांग्रेसको ३० हजार ९८९, माओवादीको १२ हजार ८८०, नेकपा एसको १ हजार ९३८, राप्रपाको १ हजार ४४४ र जसपाको १८२ रहेको छ । गठबन्धनको जम्मा मत ४५ हजार ९८९ रहेको छ । यहाँ गठबन्धन ७ हजार ३३१ मतले अगाडि रहेको छ ।

सुरेन्द्र पाण्डे

चितवन–१ बाट तेस्रो कार्यकालका लागि चुनावी प्रतिस्पर्धा गर्न लागेका पूर्वअर्थमन्त्री तथा उपाध्यक्ष सुरेन्द्र पाण्डे सर्वसम्मत उम्मेदवार सिफारिस हुन सकेनन् । उनलाई वागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलका राजनीतिक सल्लाहकार जेएन थपलियाले चुनौती दिएका छन् । योपटक ओलीले थपलियालाई नै टिकट टिकट दिने सम्भावना बलियो रहेको स्रोतको दाबी छ ।

२०७४ मा चितवन १ बाट उनी ५१ हजार ८० मत ल्याइ विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका राजेन्द्रप्रसाद बुर्लाकोटीले ३५ हजार ३६० मत पाएका थिए । पाण्डेको मतान्तर १५ हजार ७२० रहेको छ ।

स्थानीय तह निर्वाचनमा चितवन १ बाट एमालेको ३९ हजार ६०६, कांग्रेसको ३६ हजार ७८३, माओवादीको ५ हजार ५०८, राप्रपाको ४ हजार ५९० र नेकपा एसको ४ हजार ५ मत रहेको छ । गठबन्धनको जम्मा मत ४६ हजार २९६ मत रहेको छ । एमालेसँगको मतान्तर ६ हजार ६९० रहेको छ ।

गोकर्ण विष्ट

गुल्मी क्षेत्र नम्बर–२ मा गोकर्णराज बिष्टसहित ३ जनाको नाम सिफारिस भएको छ । गुल्मी–१ मा पूर्वमन्त्री एवं उपमहासचिव प्रदीप ज्ञवाली सर्वसम्मत उम्मेदवार सिफारिस हुँदा विष्ट सर्वसम्मत हुन सकेनन् । योपटक उनीसहित राजेन्द्र अर्याल र शेषकान्त गौतम सिफारिस भएका छन् । प्रेस चौतारीका पूर्वअध्यक्षसमेत रहेका अर्याल विष्टका लागि चुनौति बनेका छन् । २०७६ मा ओलीले उनलाई न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्ष बनाएका थिए ।

अघिल्लो निर्वाचनमा विष्ट गुल्मी २ बाट निर्वाचित भएका थिए । उनले ३४ हजार ६१८ मत ल्याउँदा कांग्रेसका उम्मेदवार चन्द्रबहादुर केसीले २० हजार १५७ मत पाएका थिए । विष्टको मतान्तर १४ हजार ४६१ रहेको छ ।

गुल्मी २ मा स्थानीय तहको निर्वाचना एमालेले ३१ हजार २५३, कांग्रेसले २९ हजार ८२१, माओवादीले १ हजार ८४१, नेकपा एसले ६५८ र राप्रपाले १०१ मत पाएको छ । गठबन्धनको जम्मा मत ३२ हजार ३२० रहेको छ । एमालेसँगको मतान्तर एक हजार ६७ रहेको छ । यो क्षेत्रमा पनि एमालेले जित्ने सम्भावना बलियो देखिन्छ ।

योगेश भट्टराई

सचिव योगेश भट्टराईले ताप्लेजुङबाट सिफारिस त भएका छन् । तर उनलाई पासाङ शेर्पा, टंक आङ्बुहाङ र रामप्रसाद सुवेदीले चुनौति दिने भएका छन् । अघिल्लोपटक जितेर जिल्लामा केही नगरको तीलकुमार मेयाङबोले आरोप लगाएका छन् । ओलीले यसअघि भट्टराईलाई टिकट दिएका थिए । उनलाई जिताएमा मन्त्री बनाएर पठाउने आश्वासन दिएका थिए ।

अघिल्लोपटक आकांक्षी देखिएका तीलकुमारले योपटक भट्टराईले टिकट पाएपनि हराउने चेतावनी दिएका छन् । ७० प्रतिशत जनजाति बाहुल्यता रहेको ताप्लेजुङबाट भट्टराईले टिकट पाउन निकै कठिन भएको तिलकुमारले बताएका छन् । अघिल्ला वर्ष काठमाडौं ६ बाट दुईपटक चुनाव हारेका उनलाई झापा–१ बाट उम्मदवार बनाउने चर्चा चलेको थियो । तर त्यहाँ रविन कोइराला सर्वसम्मत सिफारिस भएकाले त्यो सम्भावना टरेको छ । भट्टराई निकट नेताका अनुसार उनी ताप्लेजुङबाटै उठ्ने तयारीमा छन् ।

भट्टराई अघिल्लो निर्वाचनमा ताप्लेजुङ १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । भट्टराई २९ हजार ४७९ मत ल्याइ विजयी हुँदा कांग्रेसका केशवप्रसाद दाहालले १६ हजार ८८८ मत पाएका थिए । उनको मतान्तर १२ हजार ५९१ रहेको छ ।

वैशाखमा भएको स्थानीय तह निर्वाचनमा ताप्लेजुङमा एमालेको २४ हजार २९५, कांग्रेसको १८ हजार २८४, माओवादीको ४ हाजर ४९७, नेकपा एसको १ हजार ३०८ र जसपाको ९२३ मत रहेको छ । गठबन्धनको जम्मा मत २५ हजार १२ मत रहेको छ । यहाँ गठबन्धन ७१७ मतले अगाडि रहेको छ । आगामी निर्वाचनमा एमालेले नै निर्वाचन जित्न सक्ने बलियो सम्भावना देखिन्छ ।

डा. भीम रावल

१० औं महाधिवेशनमा ओलीविरुद्ध उम्मेदवारी दिएका पूर्वउपाध्यक्ष रावल अछाम–१ बाट सर्वसम्मत उम्मेदवार चयन भएपनि टिकट पाउनेमा रावल नै ढुक्क छैनन् । यो क्षेत्रमा गठबन्धनबाट एकीकृत समाजवादीलेसमेत दाबी गरेकाले रावलले टिकट पाएपनि जित सुनिश्चित छैन । नेकपा एसले श्रम मन्त्रीसमेत रहेका शेरबहादुर कुँवरलाई उठाउन चाहेका छन् । रावल सर्वसम्मत सिफारिस भएपनि टिकटका लागि भित्रभित्रै झपट बोहोराले ओली निवासमा लविङ गरिरहेको स्रोतको दाबी छ । पार्टीको निर्णय नमानेको, महाधिवेशन सर्वसम्मत हुन नदिएको, पार्टी नीति विपरीत अभिव्यक्ति दिएकोमा रावलप्रति ओली रुष्ट रहेका छन् ।

२०७४ को निर्वाचनमा रावल २४ हजार ८९३ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार भरतकुमार स्वाँरले १७ हजार ६८९ मत पाएका थिए । रावलको मतान्तर ७ हजार २०४ रहेको छ ।

स्थानीय तह निर्वाचनमा अछाम १ मा कांग्रेसको १६ हजार ७२८, एमालेको १६ हजार ५६७, माओवादीको ६ हजार ७९० र एकीकृत समाजवादीको २ हजार ७५२ मत रहेको छ । गठबन्धनको जम्मा मत २६ हजार २७० मत रहेको छ । एमालेसँगको मतान्तर ९ हजार ७०३ रहेको छ ।

घनश्याम भुसाल

स्थायी कमिटी सदस्यसमेत रहेका भुसालसहित रुपन्देही–३ बाट लुम्बिनी प्रदेश कमिटी सदस्य बासुदेव घिमिरे, लुम्बिनी प्रदेश कमिटी सदस्य यज्ञजित शाह र दुर्गा भुसाल सिफारिस भएका छन् । रुपन्देही–१ बाट चुनावी प्रतिस्पर्धा गर्न चाहेका भुसाल पार्टीभित्रै असहयोगका कारण साविक ३ नम्बर क्षेत्रमै बस्न बाध्य भएको उनी निकटले बताएका छन् । उनी निकट नेता भुसाललाई एक नम्बर क्षेत्र दिए एमालेले २ वटा क्षेत्र पक्का जित्ने दाबी गर्छन् । साविक ३ नम्बर क्षेत्र राप्रपका नेता दीपक बोहोराकोसमेत क्षेत्र भएकाले भुसालले टिकट पाउने सम्भावना न्यून रहेको उनी निकटस्थको भनाइ छ ।

भुसालले स्थानीय तह निर्वाचनमा पार्टी दोस्रो स्थानमा खुम्चिएपछि नैतिकताको आधारमा ओलीले राजीनामा दिनुपर्ने आशय व्यक्त गरेका थिए । उनको अभिव्यक्तिबाट आक्रोसित भएका ओलीले भुसाललाई कारबाही गर्ने चेतावनी दिएका थिए ।

अघिल्लो निर्वाचनमा भुसाल ३२ हजार ८६६ मत ल्याइ विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका उम्मेदवार दीपक बोहराले २७ हजार ४२२ मत पाएका थिए । भुसालको मतान्तर ५ हजार ४४४ रहेको छ ।

स्थानीय तह निर्वाचनमा रूपन्देही ३ मा कांग्रेसले ३४ हजार १५३, एमालेले २९ हजार ४८, राप्रपाले १३ हजार ३९७ मत पाएका छन् । त्यस्तै जसपाको ६ हजार १८३, माओवादीको २ हजार ८८१, लोसपाको २ हजार १७४ र नेकपा एस ९७७ मत रहेको छ । यो क्षेत्रमा राप्रपा निर्णायक देखिएको छ । यहाँ गठबन्धनको ४४ हजार १९४ रहेको छ । एमालेभन्दा गठबन्धन १५ हजार १४६ ले अगाडि रहेको छ ।

भीमप्रसाद आचार्य

प्रदेश १ का पूर्वमुख्यमन्त्री तथा नेकपा एमाले स्थायी कमिटी सदस्य भीम आचार्यसहित जिल्ला अध्यक्ष रेवतीरमण भण्डारी, पूर्व जिल्ला अध्यक्ष खेमराज पोखरेल, रामप्रसाद चौलागाईं र डम्बर सुवेदी सुनसरी–२ बाट प्रतिनिधिसभा सदस्यतर्फ सिफारिस सूचीमा छन् । सुनसरी–१ बाट चुनाव लड्ने उनले इच्छा देखाएका थिए । तर एमाले क्षेत्रीय कमिटीले उनको नाम हटाएर जयकुमार राईको नाम सिफारिस गरेको हो । छोटो समय मुख्यमन्त्री भएका आचार्यले मन्त्रालयमा जनतालाई सहुलियत र सुविधा हुने धेरै नीतिगत निर्णयहरू गरेका थिए ।

अघिल्लो निर्वाचनमा आचार्य सुनसरी–१ ख बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । उनी २० हजार २११ मत ल्याइ विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका बुद्धि कटुवालले १२ हजार ९४६ मत पाएका थिए । यी दुई उम्मेदवारबीच ६ हजार २६४ मतको अन्तर रहेको छ ।

यसैगरी स्थानीय तह निर्वाचनमा सुनसरी २ मा कांग्रेसले ३७ हजार ७३७ मत पाएर पहिलो दल भएको छ । एमालेको ३६ हजार ४७२, जसपाको ७ हजार ८५५, माओवादीको ३ हजार २५० मत रहेको छ । त्यस्तै राप्रपाको ३ हजार ११० र नेकपा एसको २ हजार ११९ मत रहेको छ । यहाँ गठबन्धनको ५० हजार ९६१ मत रहेको छ । गठबन्धन १४ हजार ४८९ मतले अगाडि छ ।