NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

राप्रपा प्रवेश गरेका मिश्रको आरोप : कांग्रेसको ‘प्रचण्डीकरण’ भयो

काठमाडौं । विवेकशील साझा पार्टी छोड्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका रवीन्द्र मिश्रले सरकारको नेतृत्व गरिहेको दल नेपाली कांग्रेसमा गम्भीर वैचारिक विचलन आएको बताएका छन् ।

बुधबार राप्रपामा प्रवेश गरेपछि कार्यक्रमलाई सम्बोधन गर्दै उनले २०४६ सालको जनआन्दोलनपछि देखि नै कांग्रेसमा वैचारिक विचलन आएको आरोप लगाए ।

कांग्रेस आफ्नो सिद्धान्त छोडेर माओवादीको बाटोमा लागेको आरोप लगाउँदै मिश्रले भने, ‘पछिल्लो समय त झन् कांग्रेसको ‘प्रचण्डीकरण’ भइसक्यो ।’

कांग्रेसको खाली भएको नरम दक्षिणपन्थी स्थानलाई अब राप्रपाले उपयोग गर्ने उनको भनाइ थियो ।

केही समय अलमलमा रहे पनि आफू अन्ततः गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता नेपालको हितमा नरहेको निष्कर्षमा पुगेको उनले उल्लेख गरे ।

मुलुकमा राजतन्त्रको अन्त्य गरेर दलहरूले दिल्ली दरबारलाई स्थापना गरेको उनले अरोपसमेत लगाए ।

‘राजदरबार भत्काएर त्यसको ठाउँमा दिल्ली दरबार नबनाउँ भनेर मैले बारम्बार भनें । नेपालीले नेपालीलाई हानेको चड्कन सहन सकिन्छ, विदेशीले हानेको सहन सकिन्न भनेर लेखें । पिता पुर्खाले सहेनन् भने हामीले किन सहने ?’, उनले प्रश्न गरे ।

राप्रपाले मिश्रलाई अध्यक्ष राजेन्द्र लिङ्देनपछिको स्थान दिएको छ । उनी वरिष्ठ उपाध्यक्ष बनाइएका छन् ।

मिश्र अब राप्रपाको वरिष्ठ उपाध्यक्ष