NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रले उम्मेदवारी घोषणा गर्दै के भने ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नं १ बाट उम्मेदवारी घोषणा गरेका छन् ।

काठमाडौंको थापागाउँमा आयोजित कार्यक्रममा उनले उम्मेदवारी घोषणा गरेका हुन् ।

हालै राप्रपामा प्रवेश गरेका मिश्रले उम्मेदवारी घोषणा गर्दा अध्यक्ष राजेन्द्र लिङ्देन भने अनुपस्थित थिए ।

यद्यपि, राप्रपाका पूर्वअध्यक्ष प्रकाशचन्द्र लोहनी, महामन्त्री भुवन पाठकलगायत नेताहरू भने मिश्रले उम्मेदवारी घोषणा गर्दा उपस्थित थिए ।

सो अवसरमा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आफू संवैधानिक राजसंस्थाको एजेण्डा लिएरै मतदातासँग भोट माग्ने बताए । उनले नेपालमा कुनै न कुनै रुपको राजसंस्था पुनःस्थापना गर्नैपर्ने आवश्यकता औंल्याए ।

‘२०७४ सालको चुनाव लड्ने बेलामा यही व्यवस्था बोकेर हिँडेकै हो । तर, थोरै समयमा मैले के महसुस गरेँ भने यो देश भड्खालोतिर जाँदैछ । नेपालका संस्थाहरू क्षयीकृत हुँदैछन्,’ उनले भने, ‘यदि राजसंस्थाजस्तो लामो ऐतिहासिक विरासत भएको संस्थालाई खोपामा भए पनि राख्नुभएन भने संकट पर्दा ऐया भन्ने समय पनि पाउनुहुन्न ।’

राजासँग नजिककाे सम्बन्ध भएर वा उनको माया लागेर आफूले राजसंस्थाको मुद्दा नउठाएको मिश्रले स्पष्ट पारे ।

‘के मलाई राजाको माया लागेर राजसंस्थाको कुरा गरेको हुँ ? केही पाउँछु भनेर हो ? होइन । म नेपालको हितका लागि राजसंस्था चाहिन्छ भनिरहेको छु,’ उनले थपे, ‘यो देशमा कुनै न कुनै रूपमा संविधानले बाँधेर राजसंस्था पुनःस्थापित गर्नुपर्छ । यही कुरा लिएर लिएर मतदाताकहाँ जान्छु । भोट पाए पाउँछु, नत्र खुसीसाथ धन्यवाद व्यक्त गर्छु । यसमा म प्रष्ट छु ।’

गत बुधबारमात्र विवेकशील साझा पार्टीका पूर्वअध्यक्षसमेत रहेका मिश्र आफ्नो समूहको राप्रपासँग एकता गरी वरिष्ठ उपाध्यक्षमा नियुक्त भएका थिए । दुई दिन नबित्दै नेता उनले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

यसअघिको प्रतिनिधिसभा निर्वाचनमा पनि मिश्र सोही निर्वाचन क्षेत्रबाट उम्मेदवार थिए । तर, उनी नेपाली कांग्रेसका प्रकाशमान सिंहसँग ८१८ मतान्तरले पराजित भएका थिए ।

राप्रपा प्रवेश गरेको केही दिनअघि मात्र मिश्रले विवेकशील साझाको साधारण सदस्यबाट समेत राजीनामा दिएका थिए । गत स्थानीय निर्वाचनमा पार्टीले सोचेजस्तो नतिजा नल्याएका कारण उनले लगत्तै अध्यक्ष पद छाेडेका थिए ।

राप्रपा प्रवेश गरेका मिश्रको आरोप : कांग्रेसको ‘प्रचण्डीकरण’ भयो