NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

दाङमा एमालेका हेविवेट शंकरविरुद्ध माओवादीकी रेखा भिड्दै, कसले मार्ला बाजी ?

काठमाडौं । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री भइसकेका एमाले महासचिव शंकर पोखरेल फेरि चुनावी प्रतिस्पर्धामा प्रतिनिधिसभामा होमिएका छन् ।

२०५१ मा भएको मध्यावधि निर्वाचनमा दाङ–३ बाट उनी प्रतिनिघिसभा सदस्यमा पहिलोपटक निर्वाचित भएका उनी दोस्रोपटक जितका लागि चुनावी मैदानमा उत्रिएका हुन् । त्यसयता २०७४ को प्रदेशसभा सदस्य बाहेक प्रत्यक्ष चुनाव लडेर प्रतिनिधिसभा सदस्य भएका छैनन् ।
केन्द्रीय राजनीतिमा प्रभुत्व राख्ने नेतामध्ये एक हुन् पोखरेल । उनी लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत हुन् । हेवीवेट उम्मेदवार रहेका पोखरेलसँग प्रतिस्पर्धा गर्न योपटक गठबन्धनबाट माओवादी नेता रेखा शर्मा चुनावी मैदानमा उत्रिएकी छिन् ।

माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराको क्षेत्र रहेको दाङ–२ मा यी दुइ नेताबीच रोचक प्रतिस्पर्धा हुने भएको छ । सुरुपमा पोखरेलसँग गठबन्धनबाट महरा नै भिड्ने तयारी थियो । तर उनी चुनावी मैदानबाट पछि हटेपछि पोखरेललाई केही राहत मिलेको छ । यो क्षेत्रमा २०६४ देखि माओवादीका उम्मेदवार विजयी हुँदै आएका थिए । अघिल्लो निर्वाचनमा पोखरेल सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा उठ्न चाहेका थिए । एमाले र माओवादीबीचको भागबण्डामा दाङ २ माओवादीलाई परेपछि पोखरेल क्षेत्र नं. २ क बाट प्रदेशसभा सदस्य बनेका थिए ।

शंकरको जित कति सहज ?

निर्वाचन प्रक्रियाबाट महरा पछि हटेपछि पोखरलेलाई केही सहज भएपनि गठबन्धनका कारण जित्नका लागि चुनौती कायमै देखिन्छ । २०७४ को निर्वाचनमा महरा ४० हजार ४२ मतसहित विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार राजु खनालले २५ हजार ८९७ मत पाएका थिए । महराको मतान्तर १४ हजर १४५ रहेको छ ।

वैशाखमा सकिएको स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मतपरिणाम हेर्दा दाङ २ मा एमाले ३३ हजार ५९३ मतसहित पहिलो दल रहेको छ । कांग्रेसको २३ हजार ३०१, माओवादीको १० हजार ४७८, राप्रपाको ३ हजार २६४ नेकपा एसको २ हजार ९४२ मत रहेको छ । यहाँ गठबन्धनको जम्मा भोट ३६ हजार ७२१ रहेको छ । एमालेसँग गठबन्धन ३ हजार १२८ मतले अगाडि रहेको छ । अंकगणितका आधारमा यो क्षेत्रमा राप्रपाको मत निर्णायक देखिन्छ । तर उसले आफ्नै उम्मेदवार उठाएकाले झिनोमतले गठबन्धन अगाडि छ ।

पूर्वसामान्य प्रशासनमन्त्रीसमेत रहेकी शर्मा गठबन्धनबाट उम्मेदवार बनेकी हुन् । माओवादी युद्धमा सेनाको कठोर यातनाबाट बाँचेर आएकी शर्मा २०७० र २०७४ को प्रतिनिधिसभामा समानुपातिकतर्फबाट सांसद बनेकी थिइन् । माओवादीका स्थायी समिति सदस्यसमेत रहेकी उनी आगामी निर्वाचन सहजै जित्ने दाबी गर्छिन् । माओवादीभित्र उनी अहिलेसम्म कुनै विवादमा परेकी छैनन् । शर्मा माओवादीमा प्रष्ट र इमान्दार नेताको रुपमा परिचित छिन् ।

‘म चुनावी तयारीको शिलशिलामा निर्वाचन क्षेत्र दाङमै छु । म उठेको क्षेत्र २०६४ देखि माओवादीले जित्दै आएको हो । आम मतदाताप्रति मेरो पूर्ण विश्वास छ, आगामी निर्वाचनमा पनि माओवादीलाई मैले सहज जित दिलाउने छु’, उनको दाबी छ ।

दाङ क्षेत्र नम्बर २ मा बंगलाचुली गाउँपालिका, घोराहीका अधिकांश वडा र तुलसीपुर उपमहानगरपालीकाका केही वडाहरू पर्छन् । यो क्षेत्रमा घोराही उपमहानगरपालिकाका ४, ५, ६, ७, ८, ९, १०, ११, १२, १३, १४, १५, १६, १७, १८ र १९ वडा पर्छन् । तुलसीपुर उपमहानगरपालिकाका १६, १७, १८ र १९ वडा पर्छन् ।

स्थानीय तह निर्वाचनमा बंगलाचुली गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा कांग्रेस विजयी भएको थियो । घोराही उपमहानगरपालिका र तुलसीपुर उपमहानगरपालिका प्रमुख र उपप्रमुख दुवै पदमा एमालेले जितेको छ । राष्ट्रिय राजनीतिमा प्रभाव राख्ने व्यक्ति भएकाले पोखरेलको व्यक्तिगत प्रभावले निर्वाचन जित्न सहज बनाउन सक्छ ।

स्थानीय तह निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारलाई एमाले एक्लैले दुई ठूला उपमहानगरपालिकामा सहज जित निकालेको थियो । त्यसको प्रभाव संसदीय निर्वाचनमा पनि पर्न सक्छ । यसको अतिरिक्त थपिएका नयाँ मतदाताको मनोविज्ञान र राप्रपाले खेल्न सक्ने भूमिकाले जितहारको अंकगणितलाई फरक पार्न सक्छ ।

को हुन् पोखरेल ?

विक्रम संवत २०१९ सालमा तुलसीपुर उपमहानगर–१९ हाडिमेमा जन्मिएका पोखरेल लुम्बिनी प्रदेशका संस्थापक पूर्वमुख्यमन्त्री हुन् । २०३५ सालदेखि विद्यार्थी आन्दोलनबाट राजनीतिमा संलग्न भएका हुन् । उनी २०५१ सालको संसदीय निर्वाचनमा दाङ क्षेत्र नं. ३ बाट निर्वाचित भएका थिए । उनी २०५६ मा पनि सोही क्षेत्रका उम्मेदवार थिए । उनी २०६४ को संविधानसभामा समानुपातिक सदस्य रहेका थिए । २०७० मा सोही क्षेत्रबाट उनी कांग्रेस उम्मेदवार बुद्धिराम भण्डारीसँग पराजित भएका थिए । २०७४ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा उनी लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

उनी अनेरास्ववियुका पूर्वअध्यक्ष (२०४७–५०), पार्टीको राप्ती अञ्चल इन्चार्ज र उपत्यका कमिटी सचिवको जिम्मेदारी समेत निर्वाह गरिसकेका छन् । त्रिभुवन विश्वविद्यालयको स्ववियु सभापतिको जिम्मेवारीसमेत सम्हालिसकेका छन् । त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा

स्नातकोत्तर गरेका पोखरेल गत वर्ष चितवनमा भएको १० औं महाधिवेशनबाट महासचिव चुनिएका हुन् । उनी नवौं महाधिवेशनमा सचिव थिए ।