NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

अछाममा बलिया भीम रावलले टिकट नपाउँदा कसलाई सजिलो ? कसलाई अप्ठ्यारो ?

काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा १५० सिट जित्ने दाबी गरेका एमाले अध्यक्ष केपी ओली सिट बाँडफाँटलाई लिएर नेताहरूको व्यवस्थापन गर्न चुकेका छन् ।

मंसिर ४ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ १६५ सिटमध्ये १४२ सिटमा एमालेले उम्मेदवारी दिएको छ । भदौ दोस्रो साता चुनावी कार्यक्रममा भाग लिन महेन्द्रनगर पुगेका उनले अवैध गठबन्धनले निर्वाचन जिते देशले हार्ने बताएका थिए । तर १५० सिट जित्ने दाबी गर्ने आफ्नै दलबाट भने १४२ ठाउँमा मात्रै उम्मेदवारी हाले ।

‘आगामी मंसिर ४ गते गठबन्धनलाई परास्त गर्दै एमालेले एक सय ५० सिट जित्छ’, ओलीले भनेका थिए, ‘अवैध गठबन्धनले जिते देशले हार्छ, देशले जित्न एमालेले जित्नुपर्छ ।’

तर टिकट वितरणलाई लिएर एमालेभित्र देखिएको तीव्र असन्तुष्टि सार्वजनिक रुपमा छताछुल्ल पोखिएको छ । अछाम १ बाट सर्वसम्मत सिफारिस भएका पूर्वउपाध्यक्ष भीम रावलले टिकट नै पाएनन् । उनको स्थानमा पूर्वमाओवादी पृष्ठभूमिका नेता झपटबहादुर बोहराले टिकट पाए ।

रुपन्देही ३ बाट सिफारिस भएका पूर्वउपमहासचिव घनश्याम भुसालले पनि टिकट पाएनन् । अघिल्लो निर्वाचनमा उनी सोही क्षेत्रबाट विजयी भएका थिए । उनको स्थानमा राप्रपाका नेता दीपक बोहरालाई एमालेले मैदान खाली गर्यो । टिकट नपाएपछि भुसालले पार्टी नै परित्याग गरी रुपन्देही १ मा स्वतन्त्रबाट उम्मेदवारी दिए ।

१० बुँदे पक्षधर नेतामध्ये उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले निर्वाचनमा भागै लिएनन् । पूर्वमाओवादी पृष्ठभूमिका अधिकांशले टिकट पाए । तीमध्ये प्रभु साहले एमालेको टिकट रद्द गरी रौतहट ३ बाट स्वतन्त्र उम्मेदवारी दिए । उपाध्यक्ष रामबहादुर थापा बादलले निर्वाचन उठ्नै चाहेनन् । मकवानपुर १ बाट पूर्वपञ्च नेता कमल थापाले टिकट पाए ।

एमालेमा टिकट वितरणमा देखिएको माथिको यी परिदृष्यले बहुमत ल्याउने ओलीको दाबीलाई स्थानीय तहमा जस्तै अन्तर्घातले समाप्त पार्ने रावलको चेतावनी छ । ओलीको कदम षड्यन्त्रपूर्ण र स्वेच्छाचारी भएको रावलले टिप्पणी गरेका छन् ।

‘अछाम जिल्ला कमिटीले प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि मलाई सिफारिस गर्यो । सिफारिस भएदेखि नै रावल चुनवमा उठ्दैन भनेर ममाथि कुप्रचार गरियो । ओलीसँग माफी मागेमात्र टिकट दिने अर्को सुनियोजित प्रचार गरियो’, उनले भने, ‘पार्टीमा सिफारिस नै नभएका व्यक्तिलाई षड्यन्त्रपूर्ण किसिमले अगाडि सारियो । कम्युनिष्ट आन्दोलन सिध्याउन लागेका पूर्वपञ्चहरूले टिकट र स्पेश पाउँदा एमाले निर्माणमा मुख्य भूमिका खेलेका नेताहरूको टिकट काटियो । यस्ता गतिविधिले पार्टी नै समाप्त हुने खतरा छ ।’

रावलले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी ओलीमाथि दर्जनभन्दा बढी आरोप लगाएका छन् । टिकट नपाएपनि आफू एमालेभित्र अन्र्तसंघर्ष गर्ने तर पार्टी नछाड्ने बताए । पार्टीले खडा गरेको उम्मेदवार विरुद्ध बागी वा स्वतन्त्र उम्मेदवारी नदिएका उनले आगामी निर्वाचनमा उपयुक्त उम्मेदवारलाई सघाउने बताएका छन् ।

रावलको बर्हिगमनले एमालेलाई धक्का लाग्न सक्ने

सुदूरपश्चिमबाट केन्द्रीय राजनीतिमा प्रभाव जमाएका रावल चुनावी प्रतिस्पर्धाबाट बाहिरिएपछि आगामी निर्वाचनमा एमालेलाई ठूलो धक्का लाग्न सक्ने राजनीति वृत्तमा अनुमान गरिएको छ । रावललाई टिकट नदिएकोमा नेतृत्वप्रति आक्रोसित हुँदै एमाले सुदूरपश्चिम प्रदेश सचिवालयका चार जना सदस्यसहित ४० बढीले सामूहिक राजीनामा दिएका छन् । यसको प्रत्यक्ष असर आगामी निर्वाचनमा पर्ने देखिन्छ । असन्तुष्टिको समग्र असर सुदूरपश्चिममा पर्न सक्ने र त्यसको फाइदा गठबन्धनलाई हुने विपक्षीको ठम्याई छ । तर रावलको असन्तुष्टिले सुदूरपश्चिमा खासै प्रभाव नहुने सुदूरपश्चिमका सह–इन्चार्ज कर्णबहादुर थापा बताउँछन् ।

‘रावलजीले पार्टीको नीति, सिद्धान्त केही मान्नुभएन । पार्टी हितविपरित उहाँले वक्तव्यबाजी गर्ने, नेतृत्वको बदनाम गर्ने र गराउने काममा लाग्नुभयो’, उनले भने, ‘उहाँले टिकट नपाउँदैमा एमाले सुदूरपश्चिममा खासै असर पर्दैन । उहाँ अछामका नेता भएका हुनाले त्यहाँ असर पर्न सक्छ । त्यो स्वभाविक हो ।’

२०७५ जेठ ३ मा नेकपा गठन अघि सुदूरपश्चिमा रावलको प्रभाव एकलौटी जस्तै थियो । उनलाई विस्थापन गर्न सक्ने नेता एमालेभित्र थिएनन् । एमाले र माओवादी एकतापछि रावलको जिम्मेवारी खोसेर माओवादीका नेता लेखराज भट्टलाई सुदूरपश्चिमको इन्चार्ज बनाइयो । पार्टीभित्र भट्टलाई च्यापेर आफूलाई कर्नरमा पार्न खोजेको महशुस गर्दै उनले भित्रभित्रै असन्तुष्टि जनाउँदै आएका थिए । २०७७ फागुन २३ मा सर्वोच्च अदालतले नेकपा खारेज गरी एमाले र माओवादी छुट्टइएपछि ब्यूँतेको एमालेको सुदूरपश्चिमको नेता स्वतः आफू भएको दाबी गर्दै आएका थिए । तर ओलीले माओवादीबाट एमालेमा बसेका भट्टलाई नै पुनः जिम्मेवारी दिएपछि ओली विरुद्ध खरोरुपमा उत्रिएका थिए ।

पार्टी विभाजनपछि एमालेमै फर्किएका रावलको टिकट खोसेर अपमान गरेको भन्दै यस्तो व्यवहारबाट अन्ततः एमालेलाई घाटा लाग्ने स्थानीय नेता तथा कार्यकर्ताहरूले बताएका छन् । ओलीको कार्यशैलीप्रति कडा आलोचना गर्दै आएका रावलले गत मंसिरमा चितवनमा भएको १० औं महाधिवेशनमा ओलीलाई सर्वसम्मत अध्यक्ष बन्नबाट रोकेका थिए । महाधिवेशनपछि पनि पार्टीहित विपरीत अभिव्यक्ति दिएको भन्दै ओली रावलमाथि निकै आक्रोसित भएका थिए ।

यस्तो छ अछामको चुनावी अंकगणित

दुई निर्वाचन क्षेत्र रहेको अछाममा २०७४ को निर्वाचन निर्वाचन क्षेत्र १ बाट रावल विजयी भएका थिए । निर्वाचन क्षेत्र २ बाट यज्ञबहादुर बोगटी विजयी भएका थिए । योपटक ओलीले रावललाई टिकट नदिइ पूर्वमाओवादी नेता बोहरालाई टिकट दिएपछि नेता तथा कार्यकर्तामा असन्तुष्टि चुलिएको छ ।

अघिल्लो निर्वाचनमा रावल २४ हजार ८८३ मत ल्याइ विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका भरतकुमार स्वाँरले १७ हजार ७१९ मत पाएका थिए ।

२०३२ सालदेखि कम्युनिष्ट राजनीतिमा लागेका रावल एमालेका प्रभावशाली नेता हुन् । २०४८ सालको प्रतिनिधिसभा निर्वाचनमा सोही क्षेत्रबाट उनी पराजित भएका थिए । ०५१ को मध्यावधि निर्वाचनमा विजयी भएका थिए । २०५६ को निर्वाचनमा रावल पराजित भएका थिए । २०६४ को संविधानसभा निर्वाचनमा उनी समानुपातिकतर्फबाट एमालेका सभासद भएका थिए ।

यस्तो छ स्थानीय तहको मतपरिणाम

योपटक रावलको क्षेत्रबाट गठबन्धनले साझा उम्मेदवारमा श्रममन्त्रीसमेत रहेका नेकपा एसका नेता शेरबहादुर कुँवरलाई अघि सारेका छन् । चुनावी मैदानबाट रावल आउट भएपछि त्यसको सोझो फाइदा गठबन्धनलाई पुग्ने अनुमान छ । गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मतपरिणाम हेर्दा अछाम १ बाट कांग्रेसले १६ हजार ७२८ मत पाएको छ । एमालेको १६ हजार ५६७, माओवादीको ६ हजार ७९० र नेकपा एसको २ हजार ७५२ मत रहेको छ । यहाँ गठबन्धनको जम्मा मत २६ हजार २१० रहेको छ । एमालेसँगको मतान्तर ९ हजार ७०३ रहेको छ ।

यो क्षेत्रमा रामारोशन गाउँपालिका, बन्नीगढी जयगढ गाउँपालिका, चौरपाटी गाउँपालिका, मल्लेख गाउँपालिका र साँफेबगर नगरपालिका पर्छन् । स्थानीय तह निर्वाचनमा साँफेबगर नगरपालिकामा प्रमुख कांग्रेस र उप्रमुख एकीकृत समाजवादीले जितेको थियो । बन्नीगढी जयगढ गाउँपालिकाको अध्यक्ष कांग्रेस र उपाध्यक्ष एमालेले विजयी भएको थियो ।

रामारोशन गाउँपालिकाको अध्यक्ष कांग्रेस र उपाध्यक्ष नेकपा एसले जितेको थियो । मल्लेख गाउँपालिका अध्यक्ष माओवादी र उपाध्यक्ष कांग्रेसले जितेको थियो । चौरपाटी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा कांग्रेस विजयी भएको थियो ।