NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

भाटभटेनी सुपरमार्केटको नामबाट प्राप्त बधाईसहितको लिंक खोले के हुन्छ ?

काठमाडाैं । अहिले भाटभटेनी सुपरमार्केटको नामबाट ५ हजारको पुरूस्कार स्क्याम सामाजिक सञ्जाल म्यासेन्जर र भाइबरमा भाइरल भइरहेको पाइएको छ ।

झट्ट हेर्दा उक्त स्क्याम भाटभटेनी सुपरमार्केटले नै खुलाएको जस्तो देखिन्छ । तर नियालेर हेर्नेले त्यो नक्कली हो भनेर छुट्याउन सकिन्छ । त्यसको वेबसाइटमा पनि भाटभटेनी सुपरमार्केटका प्रबन्ध निर्देशकसहितको तस्बिर राखिएको छ । जहाँ भाटभटेनीले नयाँ ब्रान्च खोल्न लागेको अवसरमा ५ हजारको उपहार स्किम ल्याएको र त्यसमा सहभागी हुनेले उपहार जित्न सक्ने उल्लेख गरेको छ ।

उक्त लिंक खोलेपछि केही व्यक्तिगत प्रश्नहरू जस्तै उमेर, महिला हो या पुरूषलगायका प्रश्नहरू सोधिएको छ । उक्त प्रश्नको उत्तर दिएपछि उपहारको लागि बक्स छान्न दिइन्छ । बक्समा तीनपटक सम्म छान्ने अवसर दिएको छ ।

कुनै उपहार बक्समा क्लिक गरेपछि बधाइसहितको ५ हजार उपहार प्राप्त भएको जानकारी त्यसमा देखाइन्छ । उक्त प्राप्त उपहारलाई म्यासेन्जर र भाइबरमा २० जना साथी र ५ ग्रुपमा सेयर गर्न लगाइन्छ । त्यसपछि कुन सीम प्रयोग गर्ने हो त्यसमा क्लिक गर्न लगाइन्छ र त्यसमा नम्बर दिइन्छ र उक्त नम्बरमा फोन गरी अन्तिम प्रश्नउत्तरमा सहभागी हुन भनिन्छ । उक्त स्क्याममा उपहार ५ देखि सात दिनमा डेलिभरी गरिनेसमेत भनेको पाइएको छ ।

तर उक्त लिंक र स्क्याम नक्कली हो  । भाटभटेनीले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत उक्त विज्ञापनमा कुनै पनि भूमिका, सत्यतथ्य नरहेको र कुनै पनि प्रश्नको उत्तर नदिन उपभोक्ताहरूलाई सचेतसहित आग्रह गरेको छ । साथै भाटभटेनीले अकाउन्ट ह्याक हुन सक्नेसमेत सचेत गराएको छ । उक्त स्क्याममा प्रश्नहरू सजिलो सोधिएको र सजिलै जो कोहीले जवाफ दिन सकिने भएकाले प्रश्नको जवाफ दिने क्रममा ह्याकर प्रयोगकर्ताको डिभाइसम्म पुग्न सक्ने हुँदा जोखिम अत्यान्तै छ । ह्याकरले व्यक्तिगत अकाउन्ट, बैंक अकाउन्टजस्ता ह्याक गर्न सक्ने सम्भवाना हुन्छ ।

भारतमा पनि फैलिरहेको छ फेक अफर

भारतीय सञ्चारमाध्यमका अनुसार अहिले भारतमा पनि एउटा फेक अफर भाइरल भइरहेको जनाएको छ । एक रिर्पोटका अनुसार भारतीय प्रयोगकर्तालाई लक्षित गरेर उक्त स्क्याम चलाएको पाइएको छ ।

चाडपर्वको अवसरमा छुटसहितको उपहार भनेर प्रयोगकर्ताको डाटा चोरी गरिरहेको खुलेको छ । यससम्बन्धमा भारतीय सरकारलेसमेत जनतालाइ सचेत गराएको छ ।

भारतीय कम्प्युटर इमर्जेन्सी रेस्पोन्स टोलीले जारी गरेको सल्लाहअनुसार प्रयोगकर्ताहरूलाई निःशुल्क उपहार र अफरको जालमा नफस्न सचेत गराएको छ ।

यसरी सुरक्षित हुनुहोस् :

१. त्यस्ता स्क्यामबाट सुरक्षित रहनको लागि, तपाईंले कुनै पनि अज्ञात लिंकमा क्लिक नगर्नुहोस् ।

२. कुनै पनि वेबसाइट खोल्दा, निश्चित रूपमा URL जाँच गर्नुहोस्।

३. म्यासेन्जर, भाइवर वा इमेलहरूमा प्राप्त उपहार प्रस्तावहरूको नाममा पाइने लिंहरूमा क्लिक नगर्नुहोस् ।

४. कुनै पनि अज्ञात साइटमा व्यक्तिगत वा बैंकिङ विवरणहरू नदिनुहोस् ।

५. नबुझिकन एप स्टोर वा वेबसाइटबाट कुनै पनि एप डाउनलोड नगर्नुहोस्।

ताजा अपडेट

नेपालवाच विशेष