NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

नरदेवी अस्पतालमा अकुपञ्चर सेवा लिने बिरामीको संख्या बढ्दो

काठमाडौं । नरदेवी आयुर्वेदिक चिकित्सालयमा अकुपञ्चर सेवा लिने बिरामीको संख्या बढ्दो रहेको अस्पतालका निर्देशक प्रदिप केसीले बताएका छन् । शुक्रबार अस्पतालले धनवन्तरी जयन्तीको अवसरमा आयोजना गरेको कार्यक्रमा उनले सो कुरा बताएका हुन् ।

कार्यक्रममा उनले आयुर्वेदिक उपचारका लागि सबैभन्दा बढी अकुपञ्चर सेवा लिने बिरामी रहेको जनाए । त्यस्तै थेरापी तथा क्षारसुत्रका बिरामी पनि बढ्दो रहेको उनको भनाइ थियो । उनका अनुसार अकुपञ्चर उपचारको लागि दैनिक ३० जनासम्म बिरामीहरु अस्पतालको सेवा लिनका लागि आउने गरेका छन् ।

निर्देशक केशीले चिकित्सालयका बेचिने औषधि बाहिरको भन्दा सस्तो र सुलभ भएको दाबी गरे । उनले भने, ‘यहाँ पाइने औषधि बाहिरको तुलनामा २० देखि ३० प्रतिशत सस्तो छ, बाहिर ११ देखि १२ सय पर्ने औषधी हामीले ७ देखि ८ सय मा उपलब्ध गराएका छौं।’

आयुर्वेद चिकित्सामा जनचेतना कमी भएको चिकित्सालयकी वरिष्ट कल्सलटेन्स जया सत्यालले बताइन् । उनले आयुर्वेद चिकित्सा पद्धतिमा आमजनमासमा अझै जनचेतना नजागेको औंल्याइन् ।

१९७४ सालमा स्थापना भएको नरदेवी आयुर्वेदिक चिकित्सालय सरकारी तहबाट स्वास्थ्य सेवा प्रदान गर्न खुलेको दोस्रो संस्था हो ।  केही वर्ष अगाडिसम्म चिकित्सालयमा दैनिक २०/२५ जना बिरामी उपचारको लागि  आउने गर्थे तर हाल दैनिक १५० देखि २०० जनासम्म बिरामीहरु आयुर्वेदिक उपचारको लागि आउने गरेको अस्पतालले जनाएको छ ।

चिकित्सालयले विगत १०५ वर्षदेखि नि:शुल्क बिरामी परीक्षण र औषधि वितरण सेवा दिँदै आइरहेको छ । हाल चिकित्सालयले १८ वटा क्याबिन र एक सय सामान्य शैयामार्फत सेवा प्रदान गदै आएको छ ।

अस्पतालमा क्षारसूत्र चिकित्सा सेवाको विस्तार गरिएको छ । यस्तै, पञ्चकर्म चिकित्सा सेवाको स्तरोन्नति, अकुपञ्चर चिकित्सा सेवा विस्तार, स्त्रीरोग तथा प्रसुति सेवा विस्तार आदि चिकित्सालयल गरेको छ ।

चिकित्सालयले आगामी दिनमा जीर्ण अवस्थामा रहेको प्रशासनिक र आवासगृह भत्काएर चिकित्सालयको गुरुयोजना मुताविक नयाँ भवन निर्माण गर्ने, जेष्ठ नागरिकलाई लक्षित गर्दै जेरियाटिक केयर अन्तर्गतका अल्जाइमर, पार्किन्सन, पक्षाघात, स्पाइनल कर्ड इन्जुरी लगायत रोगहरुमा पञ्चकर्म, शिरोधारा, अकुपञ्चर, मनोसामाजिक परामर्श सहित गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।

यस्तै, स्वास्थ्य बिमा कार्यक्रममा आयुर्वेद चिकित्सा सेवा सुचारु गर्ने, संगठन र व्यवस्थापन सर्वेक्षण , औषधि निर्माणशालालाई अत्याधुनिक मेशिन जडान सहित थप व्यवस्थित र आधुनिकिकरण गर्ने लगायतका भावी योजना रहेको चिकित्सालयले जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष