NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

मेयरको लौरो दृष्टिविहीन कलाकारमाथि

काठमाडौं । ‘कस्तो रहर थियो नि यो मनमा
के सोचेको, के भयो जीवनमा
मनमा माया साँच्नै मन छैन
दुवै आँखा नदेख्ने भएर
यो संसारमा बाँच्नै मन छैन…’

कार्यालय समयजस्तै हरेक बिहान १० देखि बेलुका ५ बजेसम्म राजधानीको सुन्धारा आसपासमा सुनिने यस्ता लोकलय ठप्प भएको पाँच दिन भयो । बटुवालाई गीत सुनाएर जीविकोपार्जन गर्ने दृष्टिविहीन कलाकारको हाजिरी अचेल काठमाडौं महानगरपालिकाको गेटमा लाग्न थालेको छ । सडक सुन्दर बनाउने भन्दै महानगरले उनीहरूका वाद्यवादन सामग्रीसमेत खोसिदिएको छ । बटुवालाई सुमधुर गीत सुनाउने कलाकारहरू महानगरलाई चर्का नारा सुनाउन बाध्य भएका छन् ।

‘आर्थिक परिवेश र राज्यको उपेक्षाले समाजबाट लेखिटिएर सडकमा पुगेका दृष्टिविहीन त्यहाँबाट पनि लखेटिएपछि कहाँ जाने ?,’ दृष्टिविहीन गायक अर्जुन बोहरा सोध्छन् । श्रीमती र ६ वर्षीय छोरासहित कीर्तिपुरमा डेरा गर्दै आएका बोहराको गाउँ हुम्लामा पनि गरिखान पुग्ने जग्गा छैन, रोजगारी दिने कोही छैन, जीविकोपार्जनको जिम्मेवारी लिने राज्यको नीति छैन । ‘अरू केही नभए पनि सृष्टिले गला दिएको छ, ठूला मञ्चमा गाउन कसैले दिँदैन, सडकमा गाउँछु,’ भन्छन्, ‘तर, महानगरले तिम्रो कलाले सडक प्रदूषित भयो भनेर लखेट्यो । गाँसबास नै खोस्यो । बाध्य भएर नाराबाजीमा उत्रिएका छौं ।’

शुक्रबार मध्याह्न १२ बजे पनि चर्को घाममा भोको पेट लिएर बोहरासँगै ३२ वर्षीय दृष्टिविहीन उपेन्द्र पासवान महानगरपालिका गेटमै ह्वीलचियरमा अडेस लगाएर बसिरहेका थिए । साथ दिन २० भन्दा बढी दृष्टिविहीन र अपांगता भएका व्यक्तिहरू जम्मा भएका थिए । कलाकारलाई महानगर प्रहरीले धपाएन मात्रै, उनीहरूका सामग्री पनि खोसिदिएको छ । ‘बटुवाले दिएको दुई/चार रुपैयाँ जोडेर किनेका साउन्ड सिस्टमहरू नगर प्रहरीले खोसिदिएको छ,’ पासवान भन्छन्, ‘काठमाडौं मलअगाडि गीत गाउँदै गरेको अवस्थामा मेरो पनि एउटा स्पिकर, सेतो छडी र सहकारीमा रकम बचत गर्ने पासबुकसमेत महानगरले जफत गरिदिएको छ ।’
६ वर्षको उमेरमा दृष्टि गुमाएका रौतहटका पासवान ९ वर्षको उमेरमा काठमाडौं आएका हुन् । हाल उनी बालाजुमा मासिक ३५ सय बहाल तिरेर एक छोरी र दृष्टिविहीन श्रीमतीसँगै बस्छन् । ‘हामी विदेश जान र भारी बोकेर खान सक्दैनौं । गर्न सक्ने काम पनि सरकारले दिँदैन,’ उनले भने, ‘हाम्रा लागि दुनियाँ नै अँध्यारो छ । बरु सरकारले मारिदिए पनि मर्न तयार छौं ।’

राज्यले नै बाँच्ने आधार खोसेको भन्दै पासवानको गला अवरुद्ध भइरहँदा पोखराकी नीरमाया गुरुङको अनुहार पनि मलिन देखिन्थ्यो । भोजपुरका डम्बरबहादुर कार्की, रामेछापका मीनबहादुर तामाङ र हाल कपनमा बस्दै आएका विमल खत्रीले पनि पाँच दिनयता खानाको जोहो गर्न गाह्रो परेको सुनाए । ‘हामी त सडकको भरमा बाँचेका मान्छे हौं । तिहार आइसक्यो, गीत गाएर जुटेको रकम बाँडेर छाक टार्थ्यौं, भाडा तिर्थ्यौं, अब के गर्ने, कसो गर्ने, केही सोच्नै सकेका छैनौं,’ खत्रीले भने । कान्तिपुर दैनिकमा खबर छ ।