NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

कहिले खस्छ काठमाडौंका धारामा मेलम्चीको पानी ?

०७८ असारको बाढीले क्षति गरेको मुहान मर्मत गरेपछि यसपालि वर्षामा बाँध बन्द गरेर रोकिएको मेलम्चीको खानेपानी आगामी पुसमा मात्रै काठमाडौं पठाइने भएको छ । यसअघि दसैँलगत्तै पानी पठाउने योजना बनाए पनि स्थानीयका माग सम्बोधन गर्नेदेखि सडक मर्मतको कामसमेत बाँकी रहेकाले धकेलिएको हो ।

वर्षामा बाढीले पुर्‍याउन सक्ने क्षतिलाई मध्यनजर गर्दै मेलम्ची खानेपानी विकास समितिले मेलम्चीको बाँधबाटै पानी रोकेको थियो । मेलम्ची खानेपानीका सबै ढोका बन्द छन् । ‘काठमाडौंमा पानी ल्याउन मेलम्चीको पाइपलाइन र बाँधमा समस्या होइन, स्थानीयको माग सम्बोधन र त्यस क्षेत्रमा पुग्ने सडक मर्मतको काम बाँकी भएकाले योजना धकेलिएको हो,’ समितिका प्रमुख कमलराज श्रेष्ठले भने, ‘मेलम्ची नदी र आयोजनाबाट पीडित भएकालाई राहत तथा क्षतिपूर्ति दिने र कतिपयलाई स्थानान्तरण गर्नेजस्ता काम बाँकी नै छन् । स्थानीयका माग सम्बोधन गर्न सके पुससम्म पानी उपत्यकामा पठाउन सकिन्छ ।’ उनका अनुसार स्थानीयका माग पूरा नगरी पानी पठाउन सुरु गरिए उनीहरूले अवरोध गर्न सक्ने बताए । त्यसैले समितिले खानेपानी मन्त्रालय र सडक विभागसँग यी दुईवटा समाधान खोजेको छ । यदि अन्य निकायले सहयोग गरे भने मेलम्चीको पानी काठमाडौं ल्याउन झमेला नहुने श्रेष्ठले बताए ।

मेलम्चीको बाँधतर्फ जाने १३ किमि सडक गत वर्षदेखि नै बिग्रिएको थियो । मेलम्ची पुल बजारदेखि अम्बाथानसम्म भत्किएको सडकको केही भाग स्थानीय तहले मर्मत गरे पनि हेलम्बुदेखि झन्डै चार किमि सडक अझै मर्मत हुन सकेको छैन । यो सडक बाढीले बगाएको छ । कहाँनेर सडक थियो भन्नेसम्म निसाना छैन । आयोजनाका गाडी र कामदार ओहोरदोहोर गर्ने सडक बिग्रिएकाले मेलम्चीको पानी पठाउन कठिन भइरहेको छ ।

त्यस्तै, यो सडकमा झन्डै पाँचवटा पुल बनाउनुपर्छ । तर, सडक नै बिग्रिएपछि समितिले इन्जिनियरको टोली पठाउनसमेत कठिन भइरहेको जनाएको छ । समितिका अनुसार हाल अम्बाथानमा क्याम्प बनाएर इन्जिनियरको टोली बसेको छ । उनीहरूले सडक मर्मत गर्ने र मेलम्चीका पाइप तथा बाँधको समेत अध्ययन गरिरहेका छन् ।

०७८ को १ र १५ असारमा गएको बाढीले मेलम्चीको बाँधमा पुर्‍याएको क्षति झन्डै सात महिना लगाएर समाधान गरिएको थियो । यस वर्ष भने बाढीले बाँध र सुरुङमा कुनै क्षति पारेको छैन । ‘गत वर्षको तुलनामा यस वर्ष बाढीले टनेलमा कुनै असर पारेको छैन, तर आसपासका सडकचाहिँ तहसनहस छन्,’ उनले भने, ‘सबैभन्दा पहिले त्यो मर्मत गर्नुपर्छ ।’

यसअघि मेलम्ची आयोजनाको काम सम्पन्न भएपछि झन्डै दुई वर्षअघि मेलम्चीको पानी काठमाडौं पठाइएको थियो । तर, त्यसयता भने नियमित पानी आएको छैन । हाल उपत्यकाका सबैजसो क्षेत्रमा मेलम्चीको पाइप बिछ्याइसकिएको छ । ठाउँ–ठाउँमा ट्यांकी निर्माण भएका छन् ।

हाल काठमाडौंमा दैनिक सात सय ट्यांकरले खानेपानी ढुवानी गर्छन् । मेलम्चीको पानी वितरण भए यी ट्यांकरको आवश्यक नपर्ने र त्यसले पेट्रोलियम पदार्थको खपत कम हुने समितिका प्रमुख श्रेष्ठ बताउँछन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।