NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

पौने दुई अर्ब नाफामा आयल निगम, तर उपभोक्तालाई मूल्यवृद्धिको मार उस्तै

काठमाडौं । नेपाल आयल निगमले पछिल्लो डेढ महिनामा पौने दुई अर्ब नाफा कमाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य अकासिएको भन्दै उपभोक्ताको ढाड सेक्ने गरी मूल्यवृद्धि गरेको निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा भने उपभोक्तालाई राहत दिएको छैन । बरु, अझै घाटामै रहेको भन्दै पुरानै मूल्य कायम राखेको छ ।

इन्डियन आयल कर्पोरेसन (आइओसी)ले प्रत्येक १५ दिनमा निगमलाई तेल खरिदको नयाँ सूची पठाउने गरेको छ । आइओसीले १५ असोज, ३० असोज र १५ कात्तिकमा मूल्य घटाएर सूची पठाएको थियो । निगमले मूल्य नघटाई बेचेर डेढ महिनामा एक अर्ब ७५ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

निगमका अनुसार १५ असोजमा प्राप्त खरिद दरमा तेल बिक्री गर्दा निगमलाई ३० असोजसम्ममा मात्रै एक अर्ब १६ करोड ६० लाख रुपैयाँ नाफा भएको थियो । २० महिनापछि पहिलोपटक नाफामा गएकाले निगमले त्यतिवेला मूल्य घटाएको थिएन । त्यसपछि ३० असोजमा प्राप्त नयाँ दरमा पेट्रोलियम बिक्री गर्दा निगमले ३९ करोड ९३ लाख रुपैयाँ नाफा आर्जन गर्‍यो । गत मंगलबार (१५ कात्तिक) नयाँ खरिद दर प्राप्त भए पनि निगमले पुरानै बिक्री दर कायम गर्दा आउँदो १५ दिनमा थप १८ करोड ७१ लाख रुपैयाँ नाफा आर्जन गर्ने प्रक्षेपण गरेको छ ।

निगमले १५ असोजमा आइओसीबाट ८६.५८ रुपैयाँ प्रतिलिटरमा किनेको पेट्रोल १८१ रुपैयाँमा बिक्री गरेको थियो । त्यस्तै, डिजेल प्रतिलिटर ११० रुपैयाँ ९० पैसा र मट्टीतेल ११२ रुपैयाँ ३५ पैसामा किनेर समान १७८ रुपैयाँ प्रतिलिटरमा बिक्री गरेको थियो । आन्तरिक हवाई इन्धन १०४ रुपैयाँ नौ पैसामा किनेर १९० रुपैयाँ ९० पैसामा तथा बाह्य हवाई इन्धन १०३ रुपैयाँ ६६ पैसामा किनेर १.६४५ डलर प्रतिलिटरमा बिक्री गरेको थियो । खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर १४ सय ६५ रुपैयाँ ४५ पैसा खरिद गरी १८ सयमा बिक्री गरेको थियो ।

त्यस्तै, ३० असोजमा प्राप्त नयाँ दरमा पेट्रोलियम बिक्री गर्दा निगमले ३९ करोड ९३ लाख रुपैयाँ नाफा आर्जन गरेको जनाएको छ । त्यतिखेर पेट्रोल प्रतिलिटर ८८.३२ रुपैयाँ, डिजेल १२६ रुपैयाँ ४९ पैसा र मट्टीतेल ११२ रुपैयाँ ३५ पैसामा किनेको थियो । त्यस्तै, आन्तरिक हवाई इन्धन ११४ रुपैयाँ ३४ पैसा र बाह्य हवाई इन्धन ११३ रुपैयाँ ९१ पैसा प्रतिलिटरमा तथा खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर १४ सय ६५ रुपैयाँ ४५ पैसामा किनेको थियो । बिक्री भने पुरानै दरमा गरेको थियो ।

निगमले गत मंगलबार (१५ कात्तिक) आइओसीबाट पेट्रोल ८८.९२ रुपैयाँ, डिजेल १३२ रुपैयाँ २५ पैसा र मट्टीतेल ११६ रुपैयाँ ३६ पैसा प्रतिलिटरमा खरिद गरेको छ । त्यस्तै, आन्तरिक हवाई इन्धन ११९ रुपैयाँ १० पैसा र बाह्य हवाई इन्धन ११८ रुपैयाँ ६८ पैसा प्रतिलिटर तथा खाना पकाउने एलपी ग्यास १३ सय ७३ रुपैयाँ ८४ पैसामा खरिद गरेको छ । नयाँ खरिद दर प्राप्त भए पनि निगमले पुरानै बिक्री दर कायम गरेको छ । जसअनुसार आगामी १५ दिनमा थप १८ करोड ७१ लाख रुपैयाँ नाफा आर्जन गर्ने निगमले प्रक्षेपण गरेको छ । निगमले अहिले पेट्रोल १८१ रुपैयाँ, डिजेल र मट्टीतेल समान १७८ रुपैयाँ, आन्तरिक हवाई इन्धन १९० रुपैयाँ र बाह्य हवाई इन्धन १.६४५ डलर प्रतिलिटरमा बिक्री गरिरहेको छ । खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर १८ सय रुपैयाँ निर्धारण गरिएको छ ।

उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँले पेट्रोलियम आपूर्तिमा रहेको एकाधिकारको दुरुपयोग गर्दै निगमले उपभोक्ताबाट अनुचित फाइदा लिइरहेको बताए । ‘इन्धन नेपालमा उपभोक्तामाथि शोषण गरिने वस्तुको रूपमा चिनिएको छ । आयल निगमका व्यवस्थापकहरूमा निगम घाटामा हुँदा भाउ बढाइहाल्ने, तर नाफामा जाँदा भने चुप लागेर बस्ने प्रवृत्ति देखिन्छ । सरकारलाई त कर उठाउँदैमा आनन्द छ,’ उनले भने, ‘सरकारले इन्धनलाई नै राज्य सञ्चालनको आधार बनाउन खोज्दाको परिणाम अहिले उपभोक्ताले महँगोमा तेल किन्नुपरेको छ । पेट्रोल, डिजेललगायतको आधाजसो कर राज्य सञ्चालनमा गइरहेको छ । इन्धनलाई राजनीतिक वस्तु बनाएर उपभोक्तामाथि शोषण गर्ने प्रवृत्ति नहटेसम्म यो अवस्था रहिरहन्छ ।’

निगमका प्रवक्ता विनीतमणि उपाध्यायले २० महिनासम्म निरन्तर खेपेको घाटाका कारण अहिले नै प्राप्त नाफालाई हेरेर निगम मूल्य समायोजन गर्ने अवस्थामा नरहेको बताए । ‘अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य ठूलो दरले बढेर हामीले महिनामै करिब १० अर्ब रुपैयाँ नोक्सान खेप्दा पनि उपभोक्ताको मागअनुसार इन्धनको आपूर्तिमा कहिल्यै असर पर्न दिएका थिएनौँ,’ उनले भने, ‘आगामी दिनमा पनि पेट्रोलियम पदार्थको सहज कारोबार गर्न अहिले प्राप्त भइरहेको छिटफुट नाफाका वेला मूल्य घटाउन सकिने स्थिति छैन ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।