NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

बागलुङ : पूर्वराजनीतिक सहयोद्धा नै मुख्य प्रतिस्पर्धी

बागलुङ । विद्यार्थी राजनीतिबाट एकाएक उदाएका डिल्लीराम सुवेदी बागलुङ–१ (२) बाट प्रदेशसभा सदस्य उम्मेदवार छन् । ससंदीय राजनीतिमा ‘डेब्यु’ मार्ने दाउसहित ३९ वर्षीय सुवेदी चुनावी मैदानमा उत्रिएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार सुवेदी यसअघि नेपाल विद्यार्थी सङ्घमा सक्रिय थिए ।

नेविसङ्घको केन्द्रीय उपाध्यक्ष हुँदै सिधै मूलधारको राजनीतिमा आएका उनी नेपाली कांग्रेसका कान्छा उम्मेदवारमध्येमा पर्छन् ।

काठमाडौँस्थित शिक्षा क्याम्पसको स्ववियु सभापति भइसकेका सुवेदी कांग्रेसका महाधिवेशन प्रतिनिधि हुन् । शिक्षाका लागि राष्ट्रिय अभियानका केन्द्रीय अध्यक्ष सुवेदीले सार्वजनिक शिक्षाको सुधारका पक्षमा वकालत गर्दै आएका छन् ।

बागलुङ नगरपालिका–१४ मा जन्मिएका उनलाई सो निर्वाचन क्षेत्रका ४६ हजार ८६ मतदातामध्ये कतिले पत्याउने हुन् त्यसका लागि त मंसिर ४ नै कुनुपर्छ । बरु, रोचक पक्ष त के छ भने हिजोका राजनीतिक सहयोद्धा नै यो चुनावमा सुवेदीका मुख्य प्रतिस्पर्धी छन् ।

कांग्रेस त्यागेर नेकपा (एमाले) बाट उम्मेदवार बनेका नवराज पौडेलले सुवेदीलाई चुनौती दिएका छन् । सुवेदी र पौडेल सँगसँगै गत वर्ष कांग्रेसको महाधिवेशन प्रतिनिधिमा विजयी बनेका थिए । पौडेल कांग्रेसका निवर्तमान जिल्ला सचिवसमेत हुन् ।

दुवै पहिलोपटक प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनेका हुन् ।

सो क्षेत्रबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका गोविन्द सापकोटा र मङ्गोल नेशनल अर्गनाइजेशनका सहवीर थापा पनि उम्मेदवार हुन् । बागलुङ–१ (२) ले जैमिनी नगरपालिका, बरेङ गाउँपालिका र बागलुङ नगरपालिकाका वडा नं १२, १३ र १४ लाई समेट्छ ।

पचास हजार पाँच सय ८० मतदाता रहेको बागलुङ–१ ९१० मा भने मुख्य प्रतिस्पर्धीका रूपमा पुरानै अनुहार देखिएका छन् । विसं २०७४ को प्रदेशसभा सदस्य चुनावमा पराजित दीपेन्द्रबहादुर थापा यसपालि पनि उम्मेदवारमा दोहोरिएका छन् । । उनका विरुद्ध एमालेले युवा नेता हीराबहादुर खत्रीलाई उतारेको छ ।

थापाले अघिल्लो चुनावमा एमालेका इन्द्रलाल सापकोटासँग हार व्यहोर्नुपरेको थियो । वाम गठबन्धनबाट साझा उम्मेदवार रहेका सापकोटाले १७ हजार नौ सय १५ र थापाले ११ हजार नौ सय ८९ मत ल्याएका थिए । अहिलेको चुनावमा भने थापालाई पाँच दलीय गठबन्धनको साथ छ भने एमाले एक्लै चुनावी मैदानमा छ ।

कांग्रेसका पूर्वजिल्ला सभापति थापाले यसपालिको चुनावलाई हारको बदला लिने अवसरका रुपमा लिएका छन् । थापालाई एमालेका जिल्ला अध्यक्ष खत्रीको चुनाती छ । विसं २०७० को दोस्रो संविधानसभा चुनावमा पराजित खत्रीलाई एमालेले प्रदेशसभा उम्मेदवार बनाएको छ । यी दुवै यसअघिका चुनावमा परीक्षण भइसकेका पात्र हुन् ।

थापा र खत्रीबीचको प्रतिस्पर्धा रोचक हुने ठानिएको छ । यो अन्यत्रको तुलनामा एमालेको जनमत बढी भएको क्षेत्र पनि हो । गत स्थानीय चुनावमा भने यहाँका दुईवटै स्थानीय तहमा कांग्रेस उम्मेदवारले जितेका थिए । बागलुङ–१ (१) मा काठेखोला गाउँपालिका र बागलुङ नगरपालिकाका १ देखि ११ सम्मका वडा पर्छन् ।

यो क्षेत्रमा राप्रपाका डिल्लीप्रसाद आचार्य, सामाजिक एकता पार्टीका भक्तबहादुर विक र स्वतन्त्र उम्मेदवार दीपेन्द्र हमाल पनि उम्मेदवार छन् । यी पनि प्रदेशसभा सदस्य उम्मेदवारमा नयाँ अनुहार हुन् ।

बागलुङ–२ (१) मा दुई जना मात्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । सत्ता गठबन्धनबाट कांग्रेसका जीत शेरचन र एमालेको समर्थनमा स्वतन्त्र उम्मेदवार प्रकाश घर्ती चुनावमा होमिएका छन् । घर्ती पहिलोपटक ससंदीय चुनावमा उम्मेदवार बनेका हुन् भने शेरचन तेस्रोपटक ।

कांग्रेसका जिल्ला सभापति शेरचन विसं २०७४ र विसं २०७६ को उपचुनावमा बागलुङ–२ (२) बाट चुनाव लडेका थिए । तेस्रो पटकमा जित निकाल्ने दाउसहित उनी चुनावी मैदानमा छन् । दुई–दुई पटकसम्म जसले हराए उनै दलको साथ लिएर शेरचन स्वतन्त्र उम्मेदवार घर्तीसँग प्रतिस्पर्धा गर्दै छन् ।

अघिल्लो चुनावमा वाम गठबन्धनको एक्लै सामना गर्नुपर्दा उनी पराजित हुनुपरेको थियो । यसपालि शेरचनले चुनाव क्षेत्र पनि बदलेका छन् । बागलुङ–२ (२) का शेरचन (१) बाट चुनाव लड्दै छन् । एमालेले आफ्नै उम्मेदवार उठाउन नसकेपछि शेरचनका विरुद्ध स्वतन्त्र उम्मेदवार घर्तीलाई समर्थन गरेको छ । लालटिन चिह्न लिएर उम्मेदवार बनेका घर्ती गत स्थानीय चुनावमा ताराखोला गाउँपालिकाको अध्यक्ष पदमा स्वतन्त्रबाट पराजित भएका थिए ।

विसं २०७४ को स्थानीय तह चुनावमा नेकपा (माओवादी केन्द्र) बाट ताराखोला गाउँपालिकाको अध्यक्ष बनेका घर्ती गत चुनावमा पार्टीले उम्मेदवार नबनाएपछि असन्तुष्ट थिए । प्रदेशसभा चुनावमा एमालेको साथ पाएपछि उनी फेरि स्वतन्त्र उम्मेदवारी दिएर प्रतिस्पर्धामा उत्रिएका हुन् ।

२०६२ मा काठमाडौँको ताहचल क्याम्पसको स्ववियु सभापति हुँदै विद्यार्थी राजनीतिबाट जिल्ला पार्टीको नेतृत्वसम्म आइपुगेका शेरचन र स्वतन्त्र उम्मेदवार घर्ती एकार्काका लागि कति चुनौती बन्ने हुन् त्यो त हेर्न बाँकी छ ।

दुई जना मात्र उम्मेदवार रहेकाले सो क्षेत्रको चुनावलाई चासोपूर्वक हेरिएको छ । गलकोट नगरपालिका, ताराखोला र बडिगाड गाउँपालिका सो क्षेत्रमा पर्छन् । त्यहाँ ५४ हजार तीन सय ३४ मतदाता छन् ।

बागलुङ–२ (२) मा भने मुख्य प्रतिस्पर्धी उम्मेदवार नयाँ छन् । युवा पुस्ताको प्रतिनिधित्व गर्ने कांग्रेसका द्रोर्ण कुँवर र एमालेका लक्ष्मण पुन चुनावी मैदानमा हुनुहुन्छ । कांग्रेस महाधिवेशन प्रतिनिधि कुँवर र एमालेका जिल्ला उपाध्यक्ष पुन दुवै पहिलोपटक ससंदीय चुनावमा उम्मेदवार बनेका हुन् ।

कुँवरलाई पाँच दलीय गठबन्धनको साथ छ भने पुन एमालेको आफ्नै शक्तिका आडमा जित्ने रणनीतिमा छन् । सो क्षेत्रमा विसं २०७४ को चुनाव र त्यसपछिको उपचुनावमा राष्ट्रिय जनमोर्चाका उम्मेदवारले जितेका थिए । वाम गठबन्धनसामु त्यतिबेला काँग्रेस कमजोर देखिएको थियो ।

अहिले जिल्लाका निर्णायक दुई वाम शक्ति माओवादी केन्द्र र जनमोर्चालगायतसँग मिलेर कांग्रेस चुनाव लड्दैछ । एकचालीस हजार दुई सय २७ मतदाता रहेको सो क्षेत्रमा ढोरपाटन नगरपालिका, निसीखोला र तमानखोला गाउँपालिका पर्छ ।

जनता समाजवादी पार्टीका गङ्गाबहादुर घर्ती, नेशनल अर्गनाइजेशन पार्टीका ताराबहादुर घर्ती, सामाजिक एकता पार्टीका टेकप्रसाद कामी, स्वतन्त्रबाट नरबहादुर गुरुङ र दुर्गादेवी घर्ती पनि सोही क्षेत्रबाट प्रदेशसभा सदस्यका लागि प्रतिस्पर्धा गर्दै छन् ।

मुख्य प्रतिस्पर्धा भने गठबन्धन र एमालेका उम्मेदवारबीच हुनेछ ।