NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

कैदीबन्दीसँग भोट माग्न कारागारमा नेता र उम्मेदवार

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभरका कारागारमा चुनावी माहोल देखिएको छ । कैदीबन्दी चुनावी मुद्दामा बहस गर्दै छन् भने उम्मेदवार नेता मत माग्दै कारागारसम्म पुगेका छन् ।

सोमबार दिउँसो २ बजे कारागार कार्यालय डिल्लीबजार पुग्दा बाहिरी घेरा सुनसान थियो । एकाध सुरक्षाकर्मी र आगन्तुकबाहेक कोही देखिँदैनथे । बाहिरी घेरा छिचोलेर कारागार भित्र प्रवेश गरेपछि भने फरक दृश्य सुरु हुन्थ्यो । स–साना चौतारामा समूह–समूह भएर कैदीबन्दी घाम ताप्दै गफिइरहेका थिए ।

कैदीबन्दी भोट कसलाई दिने वा नदिने भन्नेबारे छलफल गर्दै थिए । तर, मतदानप्रति उनीहरू त्यति उत्साही थिएनन् । आफू–आफूबीचको छलफलमा अधिकांश कैदीले मतदान नगर्ने धारणा राखिरहेका थिए । ‘यसरी कोचेका छन्, यस्तालाई किन भोट दिनु,’ एक कैदीबन्दी भन्दै थिए, ‘मतदाता नामावलीमा नाम छ, तर भोट दिन्नँ ।’

त्यही समूहका अर्का कैदीबन्दीले पनि मतदानप्रति त्यति रुचि देखाएनन् । ‘यो कारागारमा धेरै नेता बसेका छन्, तर उनीहरूले कारागारसमेत सुधारेनन्, त्यसैले हामीले कसैलाई भोट नदिऊँ,’ उनी सबैको सुझाव माग्दै थिए ।

डिल्लीबजार कारागारमै कैदीबन्दीको एउटा समूहस“ग गफिँदै थिए, टीकापुर घटनाका आरोपी रेशम चौधरी । हाल उनी नागरिक उन्मुक्ति पार्टीमा छन् । उनी भेट्न आएकासँग कारागारबाहिरको चुनावी माहोल बुझ्दै थिए । ‘भोट दिँदैनौँ’ भनिरहेका कैदीबन्दीलाई मतदान गर्नुपर्छ भनी सम्झाइरहेका थिए ।

आफू कारागारमा भए पनि आफ्नी श्रीमती रञ्जिता श्रेष्ठले कैलाली १ मा चुनाव जित्ने र त्यसको रणनीति आफूले कारागारबाटै बनाएको उनले सुनाए । ‘बाहिरी माहोल के छ थाहा छैन, तर मेरी श्रीमतीको माहोल मात्रै छ,’ उनले भने, ‘यहाँभित्र रहेका कैदीबन्दीका कुराकानी पनि मैले सुन्ने गरेको छु ।’

चौधरीलाई भेट्न आउनेको लर्को छ । अहिले काठमाडौं तथा बाहिरी जिल्लाबाट उनलाई भेट्न आउनेको संख्या बढेको कारागारका जेलर वसन्तराज पुरीले जानकारी दिए । उनका अनुसार शीर्ष नेतादेखि कार्यकर्तासम्म चौधरीलाई भेट्न कारागार आउने गरेका छन् । ‘चुनावी माहोलको प्रभाव कारागारमा पनि परेको देखिन्छ,’ उनी भन्छन्, ‘यहाँभित्र रहेका मतदाताबाट भोट तान्नका लागि नेता–कार्यकर्ता आउँछन् ।’

अन्यको तुलनामा डिल्लीबजार कारागारमा अहिले केही खुकुलो छ । ‘क’ र ‘ख’ ब्लकभित्रका कोठामा कैदीबन्दी बस्छन् । उनीहरू दिउँसो कम्पाउन्डमा निस्किछन् र सामूहिक रूपमा चुनावी बहस गर्छन् । कोही नेताजस्तै छन्, कुरा भन्छन्, केही दर्शकजस्ता छन् सुन्छन् मात्रै । ‘कैदीबन्दीलाई चुनावले छोएको त देखिन्छ, तर उनीहरूमध्ये अधिकांश मतदान नगर्ने पक्षमा देखिन्छन्,’ जेलर पुरीले भने ।

डिल्लीबजार कारागार शीर्ष नेता तथा उम्मेदवार बढी धाउनेमध्ये पर्छ । यो कारागारमा भिआइपी कैदीबन्दीलाई पनि राख्ने गरिन्छ । चुनाव नजिकिँदै गर्दा डिल्लीबजार कारागारमा आफ्ना मतदाता र शुभेच्छुकलाई भेट्न आउने नेता–कार्यकर्ताको भिडभाड बढेको कारागार प्रशासनले जनाएको छ । कैदीबन्दीले समानुपातिकतर्फ मात्रै मतदान गर्न पाउँछन् ।

कैदीबन्दी मतदाता भेट्न नेता तथा उम्मेदवार धाउन थालेपछि कारागारमा चुनावी रौनक बढेको छ । डिल्लीबजार कारागारमा कैद भुक्तानी गरिरहेका एक सय ६१ जना छन् । यसमध्ये एक सय २३ जनाको मतदाता नामावलीमा नाम समावेश छ । अन्य समयमा डेढ सय आगन्तुक आउनेमा अहिले दैनिक दुई सय ५० जनाभन्दा बढी आउने गरेको कारागार प्रशासनले जनाएको छ ।

सुन्धारामा रहेको केन्द्रीय कारागार र ललितपुरको नख्खु कारागारमा पनि चुनावी माहोल बढेको छ । कारागारमा रहेका कैदीबन्दीलाई भेट्न र भोट माग्न नेता–कार्यकर्ता धाउन थालेका छन् । सुन्धारा कारागारमा हिजोआज चार सयसम्म आगन्तुक आउने गरेका छन् । कारागारमा भिड हुन थालेपछि कतिपयलाई गेटबाटै फर्काउने गरिएको छ । ‘चुनाव नजिकिएर होला राजनीतिक व्यक्तिहरू कैदीबन्दीलाई भेट्न आउने क्रम बढेको छ,’ सुन्धारा कारागार प्रशासनका एक कर्मचारीले भने, ‘अरू वेलाभन्दा अहिले भिजिटर संख्या दोब्बर छ ।’

केन्द्रीय कारागार सुन्धारामा कैदी संख्या तीन हजार तीन सय ८५ छ । तर, जम्मा २० जना मात्रै कैदीको मतदाता नामावलीमा नाम छ । अधिकांश कैदीबन्दीको मतदाता नामावलीमा नाम नहुँदा मत प्रयोग गर्नबाट धेरै वञ्चित हुने कारागारका जेलर ईश्वरी पाण्डेले जानकारी दिए । ‘यहाँभित्र रहेकामध्ये अधिकांशको मतदाता नामावलीमा नाम छैन, थोरैले मात्रै नाम दर्ता गराएका रहेछन्,’ उनले भने, ‘यसबारे निर्वाचन आयोगले यसअघि ध्यान दिनुपर्थ्यो ।’

ललितपुरको नख्खु कारागारलाई पनि चुनावले छोएको छ । कारागारमा जिल्लाका धेरै कैदीबन्दी भएकाले पनि यहाँका नेता तथा उम्मेदवार कारागार पुग्ने गरेका छन् । एमाले, कांग्रेस, माओवादीलगायत पार्टीका नेता तथा उम्मेदवार कारागार पुग्ने गरेका छन् ।

हाल नख्खु कारागारमा तीन सय ५० जना आगन्तुक कैदीबन्दीलाई भेट्न आउँछन् । अन्य समयमा डेढ सयजनासम्म आउँथे । कारागार प्रशासनका अनुसार चुनाव लागेकाले भेटघाट गर्न आउनेलाई कडाइ गरिएको छ । ‘जिल्लाकै कति नेता र उम्मेदवार कारागार आउनुभएको छ,’ कारागार प्रशासनका एक कर्मचारीले भने, महत्वका आधारमा उहाँहरूलाई भेटघाट गर्न दिएका छौँ ।’

कैदी संख्या एक हजार चार सय १५ जना रहेको नख्खु कारागारमा ५० जनाको मतदाता नामावलीमा नाम समावेश छ । नख्खु कारागारका जेलर बन्द्रीनाथ गैरेले कारागारमा चुनावी माहोल र चहलपहल नबढेको बताए । ‘कारागार परिसरमा हामीले पहिलेकै जसरी कडाइ गरेका छौँ,’ उनले भने, ‘कुनै उम्मेदवार सीधै मतदाता भेट्न आउँदैनन्, जिल्ला प्रशासन र जिल्ला निर्वाचन कार्यालयको अनुमति लिएर आउनुपर्छ ।’

कारागार सुरक्षा जिम्मा नेपाली सेनालाई दिइएको छ । चुनावको वेला सशस्त्र र नेपाल प्रहरी चुनावी सुरक्षामा खटिने भएकाले उक्त जिम्मा सेनालाई दिइएको हो । कारागारको घेरामा यसअघि सशस्त्र र नेपाल प्रहरीले सुरक्षा दिँदै आइरहेका थिए । चुनाव अवधिसम्मका लागि सेनाले कारागारको सुरक्षा गर्ने कारागार व्यवस्थापन विभागले जनाएको छ । सुन्धारा, नख्खु र डिल्लीबजार कारागारको सुरक्षा जिम्मा सेनालाई दिइसकिएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।